काठमाडौं:= नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा ढोका बन्द भएपछि नयाँ पार्टी खोल्नुपरेको बताउनुभएको छ । एमाले विभाजन गरी निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी) नामको पार्टी दर्ताको प्रक्रियामा रहेको सन्दर्भमा नेपालले यस्तो बताउनुभएको हो । पार्टीको बैठकपछि चन्द्रागिरिमा नेता नेपालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रूपमा नेकपा एमाले कब्जा गरेको र आफूहरूलाई पार्टीबाट निष्कासन गरेका कारण बाध्य भएर नयाँ पार्टी खोल्नुपरेको बताउनुभएको हो ।
आफूलगायत १४ सांसदलाई पार्टीबाट निष्कासन गरेपछि आफूहरूसँग नयाँ पार्टी दर्ता गर्नुको विकल्प नरहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘अब केपी ओलीले एकलौटी पार्टी कब्जा गर्ने स्थिति बनिसकेपछि, त्यहाँ जाने ढोका बन्द भइसकेपछि, त्यसमा पनि १४ जना सांसदलाई पूरै पार्टीबाट निष्कासन गरिसकेपछि, हामीलाई पनि पार्टीबाट पूरै निष्कासन गरिसकेपछि हाम्रासामु अरू कुनै विकल्प बाँकी रहेन ।’
पार्टीबाट निष्कासन गरेपछि चुप लागेर सडकमा बस्नुपर्ने र नयाँ पार्टी निर्माण गर्नुपर्ने विकल्प मात्रै बाँकी रहेकोमा आफूहरूले विद्रोहको विकल्प नै रोजेको नेपालले बताउनुभयो । विद्रोहीहरूले विगतमा सफलता हाँसिल गरेका इतिहास रहेको स्मरण गराउनु हुँदै उहाँले दक्षीणपन्थीहरू सधैँ पराजित भएको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘निष्कासित भइसकेपछि हामीले कि त घुँडा टेक्नुपथ्र्यो, चुप लागेर सडकमा बस्नुपथ्र्यो, कि त हामीले अर्को क्रान्तिकारी पार्टी निर्माण गरेर हाम्रो नेपाली राजनीतिको, कम्युनिष्ट आन्दोलनको इतिहासमा विद्रोहीहरूले नै सफलता हासिल गरेको विगतको इतिहास, दक्षिणपन्थी अवसरवाद पराजित गरिएको त्यो इतिहासलाई हामीले साक्षि राखेर नयाँ कदम चाल्ने काम गरेका छौँ । र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) नामको पार्टी दर्ता गरेका छौँ ।’
‘२० प्रतिशत बढी संख्या छ’
नेता नेपालले आफूहरूसँग पार्टी विभाजनका लागि आवश्यकभन्दा बढी संख्या रहेको पनि दाबी गर्नुभएको छ । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि दल विभाजनका लागि २० प्रतिशत संख्या हुनुपर्ने व्यवस्था गरेको छ । नेपालले केन्द्रीय कमिटी र संसद दुवैतिर आफूहरूसँग २० प्रतिशतभन्दा पनि बढी संख्या रहेको बताउनुभयो । उहाँले एमाले एकीकृत बनाउन भन्दै वार्तामा जुटेका र वार्तामा नजुटी भूमिका खेलेका नेताहरूसँग पनि एकताबद्ध भएर जाने प्रयास भइरहेको पनि बताउनुभयो । केपी ओली र आफूहरूको कित्ता छुट्टिएको उल्लेख गर्दै उहाँले आगामी दिनमा अन्य वामपन्थी पार्टीहरूसँग चुनावी तालमेल गर्न तयार रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो-‘चाहे वार्तामा जुट्नुभएका कमरेडहरू हुनुहोस् । चाहे वार्तामा नजुटेर पनि भूमिका खेल्नुभएका कमरेडहरू हुनुहोस् । सबै मिलेर हामी एकताबद्ध भएर जाने कोसिसमा छौँ । अब केपीको कित्ता एकातिर भएको छ र अर्को क्रान्तिकारी कित्ता अर्कोतिर भएको छ । कम्युनिष्ट पार्टीको पुनर्गठनको नयाँ अभियान सुरु भएको छ । यो पुनर्गठित कम्युनिष्ट पार्टीले अब अरू वामपन्थी पार्टीहरूसँग भोलि चुनावी तालमेल पनि गर्नेछ र अरू लोकतन्त्रको रक्षाको लागि, संविधान, राष्ट्रियता, संघीयताको रक्षाका लागि, समाजवादको दिशामा अघि बढ्नका लागि सोच र मान्यताका साथ हामी अगाडि बढेका छौँ ।’
अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीको विचार र धारणामा परिवर्तन आएमा पार्टी गठन गर्नेबित्तिकै ओलीसँग पनि एकताको निम्ति तयार रहेको बताउनुभयो । उहाँले आफूहरूलाई पार्टी गठन गर्न नदिएर घर न घाटको बनाउने षडयन्त्र भएको भन्दै षड्यन्त्रलाई चिरेर पार्टी निर्माण गर्ने पनि बताउनुभयो ।
उहाँले पार्टी गठनको प्रक्रिया सकिनेबित्तिकै आफूहरू एकताका लागि पनि तयार हुने बताउनुभयो । ओलीले पार्टी गठनको प्रक्रिया असफल बनाउन विभिन्न षड्यन्त्र गरिरहेको उल्लेख गर्नुहुँदै भन्नुभयो, ‘हामीले पार्टी गठन गर्नेबित्तिकै पनि एकताको निम्ति हामी तयार हुन्छौँ । तर, यो गठन गर्नै नदिईकन हामीलाई अलपत्र पार्ने षड्यन्त्र भइरहेको छ । हामीलाई घर न घाटको बनाउने षड्यन्त्र भइराछ । न यता जान दिने न उता जान दिने । न केपी ओलीको गतिविधिलाई अन्त्य गर्ने, रोक्ने, केही पनि नगर्ने अनि त्यसपछि यो मौका समाप्त गर्दिने । अनि हामीलाई सबै किसिमको आन्दोलनबाट वञ्चित पार्ने खालको षड्यन्त्रलाई हामी चिर्छौं । र चिरेर एकताको अभियानलाई निरन्तरता दिँदै जानेछौँ । कम्युनिष्ट आन्दोलनलाई पुनर्गठित गर्ने, एकताबद्ध बनाउने यो अभियान जारी रहनेछ ।’
‘अष्टलक्ष्मी सहमतिमै मुख्यमन्त्री’
नेता नेपालले बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने निर्णय आफूले नै गरेको दाबी पनि गर्नुभएको छ । उहाँले शाक्यले आफूसँग सल्लाह गरेर नै मुख्यमन्त्री बनेको बताउनुभएको हो । आफ्नो सल्लाहमा मुख्यमन्त्री बनेको भए पनि नयाँ पार्टी गठन पछाडि प्रदेश र स्थानीय तहको जनप्रतिनिधिले २१ दिनभित्र राजनीतिक पार्टी रोज्न पाउने कुरा उल्लेख गर्नुहुँदै उहाँले शाक्यले कुन पार्टी रोज्नुहुन्छ सोही आधारमा बागमती प्रदेश सरकारलाई आफूहरूले कसरी हेर्ने भन्ने तय हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अष्टलक्ष्मी कमरेडको बारेमा मेरो सल्लाहले नै उहाँ हुनुभएको हो । मेरो सहमति लिनुभएकै हो । तर, उहाँ पनि अप्ठ्यारोमा हुनुहुन्छ । अहिले त हुनुभयो, जब पार्टी अलग बनिसकेपछि एउटा पार्टी रोज्नुपर्ने अवस्था बन्छ । अब उहाँमाथि भरपर्ने कुरा हो । म धेरै अहिले भन्न चाहन्नँ । अब त्यो नयाँ पार्टी बनिसकेपछि २१ दिनभित्रमा कुन पार्टी रोज्ने भन्ने हुन्छ । त्यो समयभित्र उहाँ कता रोज्नुहुन्छ त्यसको आधारमा अनि त्यो सरकारलाई हामीले कसरी हेर्ने भन्ने तय हुनेछ ।’
दिल्लीबाट खनालको आक्रोश ‘मध्यपन्थ अवसरवादी हुन आयु लामो हुँदैन’
नेकपा एमालेले आफ्नो समूहबाट अलग भएका नेताहरूलाई अवसरवादी भएको आरोप लगाउनुभएको छ । प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता खनालले आफ्नो समूह छाडेका नेताहरूलाई मध्यपन्थको उपनाम दिँदै उनीहरू अवसरवादी भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मध्यपन्थ पनि अवसरवादकै एउटा रूप हो । त्यसले अन्तिममा दक्षिणपन्थलाई सघाउँछ ।
उहाँले भीम रावललगायत एमालेमै फर्किएका नेताहरूतर्फ लक्षित गर्दै मध्यपन्थको आयु लामो नहुने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘मध्यपन्थको आयु कहिल्यै लामो हुँदैन । चाँडै नै त्यसले आफ्नो परिणाम देखाउँछ । हाम्रो केन्द्रमा जन्मिएको मध्यपन्थ अब अन्त्य भएको छ ।’
उहाँले आफ्नो पार्टीले दक्षिणपन्थी र अवसरवादमाथि बलियो हमला गर्ने चेतावनी पनि दिनुभएको छ । राजनीतिक पार्टीहरूको एकतामा वैचारिक र सैद्धान्तिक दृटिकोण नमिले एकताको सार्थकता नहुने पनि बताउनुभयो ।
नयाँ क्रान्तिका लागि पार्टी दर्ता गरिहाल्न आग्रह गर्नुहुँदै उहाँले भन्नुभयो, ‘सबैभन्दा पहिले हामी पार्टी दर्ता गरौँ । पार्टी दर्ता गरेपछि नीति सिद्धान्त अपडेट हुनुपर्छ । अब हाम्रोमा जनवादी क्रान्ति सकियो । जनताको बहुदलीय जनवाद पनि सिद्धियो । अब हामी समाजवादको यात्रामा अघि बढ्नुपर्छ ।’
नेता खनालले अब नयाँ पार्टीलाई सामूहिक रूपमा चलाउनुपर्नेमा जोड दिनुभयो । दिल्लीस्थित एपोलो अस्पतालको बेडबाटै भर्चुअल बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले अब क्रान्तिकारी शैलीमा अघि बढ्नुपर्नेमा पनि जोड दिनुभयो । एमाले अध्यक्ष ओलीको अवसरवादी नेतृत्वका कारण दुई दल मिलेर बनाइएको नेकपाको एकता पनि भताभुंग भएको पनि उहाँको भनाइ थियो । मिर्गौला प्रत्यारोपणका लागि दिल्ली जानुभएका खनालले आफू आगामी सोमबार काठमाडौं आइपुग्ने जानकारी पनि सम्बोधनका क्रममा दिनुभएको थियो ।
यी हुन् विभाजित भएर गएका नेताहरू
नेकपा एमाले विभाजनका लागि निर्वाचन आयोगमा ५८ जनाको नाम पेश भएको छ । माधवकुमार नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि एमालेको आयोगमा कायम रहेको २०३ सदस्यीय केन्द्रीय कमिटीका ५८ जनाको पेश भएको हो ।
आयोगमा नाम पेश भएका नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने, प्रदीप नेपाल, बेदुराम भुसाल, प्रमेशकुमार हमाल, राजेन्द्रप्रसाद पाण्डेय, डा. विजयकुमार पौडेल, गंगालाल तुलाधर, प्रकाश ज्वाला, नागेन्द्र प्रसाद चौधरी, जयन्ती राई, तुलबहादुर गुरुङ, जगन्नाथ खतिवडा, प्रतापमान श्रेष्ठ र जीवनराम श्रेष्ठ हुनुहुन्छ ।
यस्तै, धर्मनाथ प्रसाद शाह, रामप्रित पासवान, रामचन्द्र यादव, यदुवंश झा, रत्नेश्वर गोइत यादव, श्रीप्रसाद साह, रविन्द्र बैठा धोबी, लक्ष्मण पौडेल, मदन कुमारी शाह, देवशंकर पौडेल, विरोध खतिवडा, मेटमणि चौधरी, विश्वनाथ प्याकुरेल, प्रेमकुमार खनाल, विजय गुरुङ, सावित्रा भुसाल, रामकुमारी झाँक्री, गौरा प्रसाईं कोइराला, रामकुमार ज्ञवाली, खगेन्द्र चुडाल, सरलाकुमारी यादव, सुधीरप्रसाद साह, कल्याणी कुमारी खड्का, शत्रुधन महतो, रामचन्द्र साह, दिनेशकुमार राई र हंशबहादुर शाहीको नाम पनि आयोगमा पेश भएको छ ।
यसैगरी, शेरबहादुर केसी, निरादेवी जैरु, प्रेमबहादुर आले, भागवत नेपाली, चुडामणि विक जंगली, घनेन्द्र बस्नेत, राजेन्द्र कुमार राई, बलदेव चौधरी, डा. देउमान तुम्बाहाम्फे, भास्कर काफ्ले, कृष्णप्रसाद खनाल, रविन कोइराला, मोहम्मद महफुज अन्सारी, हरिप्रसाद पराजुली र केदार न्यौपानेको नाम पनि पेश भएको छ । पेश भएको नामावलीमा झलनाथ खनाल, प्रदीप नेपाल, खगेन्द्र चुँडाल, रवीन कोइराला, धर्मनाथप्रसाद साह, रत्नेश्वर गोइत र रवीन्द्र बैठाको निवेदनमा हस्ताक्षर छैन । हरि पराजुली र केदार न्यौपानेको नाम अन्तिममा हातले थपिएको छ । उहाँहरू विभाजनको पक्षमा भए पनि हस्ताक्षर नभएका कारण सनाखत भने नहुने भएको हो ।
अब आयोगले ५१ जनाको मात्र सनाखत गर्नेछ । दल विभाजनका लागि ४१ जना सदस्य भए माधव नेपाललाई पुग्छ । यसैगरी, अन्तिम समयमा प्रतिनिधिसभा सदस्यद्वय सोमप्रसाद पाण्डे र माया ज्ञवाली, राष्ट्रियसभा सांसद शारदादेवी भट्ट र राजन राईले आयोगमा आफूहरू नेपालसँग रहेको भन्दै निवेदन दिनुभएको छ । पाण्डे र राई एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ ।
एकीकृत समाजवादीले पनि जबजलाई अगाडि बढाउने
प्रस्तावित नेकपा (एकीकृत समाजवादी)ले जनताको बहुदलीय जनवाद (जबज) का मूल्य, मान्यताको रक्षा गर्दै समाजवादको दिशामा अगाडि बढ्ने लक्ष्य निर्धारण गरेको छ ।
नेकपा (एमाले)बाट अलग भएको सो पार्टीका प्रस्तावित केन्द्रीय सदस्य र सांसदको चन्द्रागिरिमा भएको दुई दिने बैठकले पार्टीको विधान पारित गरेको हो । एमालेले जबजलाई मार्गदर्शक सिद्धान्त मान्दै आएको छ ।
सो पार्टीको विधानमा पार्टीको राणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद भएको उल्लेख गर्दै शोषण, उत्पीडन र विभेदको अन्त्य गर्दै समानतासहितको स्वतन्त्रतामा पुग्न सकिने विश्वास गरिएको छ । विधानमा शान्तिपूर्ण संघर्ष र लोकतान्त्रिक विधिबाट मुलुकको आर्थिक सामाजिक रूपान्तरणसहित राष्ट्रिय पुँजीको विकास गरेर सामाजिक न्याय र लोकतान्त्रिक मूल्य मान्यतासहितको समाजवादका आधार निर्माण गर्नु पार्टीको तात्कालीन लक्ष्य रहेको जनाइएको छ । सो पार्टीको केन्द्रीय कमिटीमा अध्यक्ष एक, वरिष्ठ नेता एक, उपाध्यक्ष सात, महासचिव एक, सचिव सात गरी १७ पदाधिकारीसहित ११५ पूर्ण र ३६ वैकल्पिक सदस्य गरी १५१ रहनेछन् ।
पार्टी सनाखतका लागि आज निर्वाचन आयोग जाने
नेकपा एमाले विभाजन गरी निर्वाचन आयोगमा दर्ता भएको नेकपा एकीकृत समाजवादी पार्टी (आज) बुधबार सनाखतका लागि निर्वाचन आयोग जाने भएको छ । लामो समयदेखिको आन्तरिक विवाद कारण पार्टी विभाजन भएपछि विभाजित नेताहरू नयाँ पार्टी दर्ताको प्रक्रियामा सहभागी हुन निर्वाचन आयोग जाने भएका हुन् । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि २० प्रतिशत संख्या पु¥याएर वरिष्ठ नेता माधवकुमार नेपाल नयाँ पार्टीको नेतृत्वको गर्ने प्रयासमा हुनुहन्छ । सोहीअनुसार एकीकृत समाजवादी पार्टी दर्ताका लागि निवेदन आयोगमा पुगेको छ । आयोगले बुधबार प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीमा रहेका नेताहरूलाई सनाखतका लागि बोलाएको हो । आयोगले बुधबार बिहान साढे ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्वाचन आयोगमा पुगेर सनाखत गर्न सक्ने समय तोकेको छ । आयोगले तोकेको निर्धारित समयभित्र सनाखत गर्नुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
आयोगका प्रवक्ता श्रेष्ठले सनाखत गर्दा केन्द्रीय समितिका सदस्यहरूले नागरिकताको प्रमाणपत्र, मतदाता परिचयपत्र ल्याउनुपर्ने बताउनुभयो । उहाँले संघीय संसद्का सदस्यहरूको हकमा भने संघीय संसद्बाट जारी गरिएको परिचयपत्र लिएर उपस्थित हुनुपर्ने प्रावधान रहेको बताउनुभयो । प्रवक्ता श्रेष्ठले निवेदनमा दर्ता भएका नामका व्यक्तिहरूलाई स्वयं उपस्थित भएर सनाखत गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘केन्द्रीय समितिका सदस्यहरूले नागरिकताको प्रमाणपत्र वा मतदाता परिचय पत्र लिएर स्वयं नै उपस्थित हुनुपर्नेछ, त्यस्तै संघीय संसदका सदस्यहरूले संघीय संसद्बाट जारी गरिएको परिचयपत्र लिएर आउनुपर्नेछ, यो नै हामीले चिन्ने आधिकारिक कागजात हो, सनाखत गर्नका लागि आयोगबाट तोकिएको कर्मचारीको उपस्थितिमा सनाखत हुने विगतमा पनि अभ्यास छ र अहिले पनि त्यही नै हुन्छ ।’
यस्तै, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि सनाखतका लागि आयोगले बोलाएको छ ।
माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिनुभएको थियो । सरकारले दल विभाजनका लागि सहज हुने गरी अध्यादेश ल्याएपछि दुवै दललाई नयाँ पार्टी गठनका लागि बाटो खुलेको हो ।
नेपाललाई रोक्ने ओलीको प्रयास अझै जारी
अन्तिम समयसम्म पनि माधवकुमार नेपाललाई पार्टी विभाजन गर्न नदिने रणनीतिमा एमाले अध्यक्ष ओली हुनुहुन्छ । केही दिनअघि निर्वाचन आयोगमा अध्यावधिक केन्द्रीय कमिटीको विवरण पठाउनुभएका ओलीको उक्त प्रयास असफल भएपछि अहिले कारबाहीमा परेका १४ जना सांसदहरूको सन्दर्भमा पार्टीले आयोगको ध्यानाकर्षण गराएको छ ।
नेकपा एमालेले पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै नेपालसहितका १४ जना सांसदको नाम समावेश गरेर ल्याइएको सनाखत नबुझ्न निर्वाचन आयोगलाई दबाब दिएको हो । अग्नि खरेलसहितका एमाले नेताहरूले मंगलबार निर्वाचनमा आयोगमा पुगेर पार्टीले कारबाही गरेका सांसदको नाम समावेश गरेर ल्याइएको सनाखतले लोकतन्त्रलाई कमजोर बनाउने भन्दै ह्वीप उल्लंघन गरेका सांसदको नाम समावेश गरेर ल्याइएको सनाखत नबुझ्न आयोगलाई दबाब दिएका हुन् ।
एमालेका निर्वाचन विभाग प्रमुख खरेलले सनाखतको प्रक्रियामा नेकपा एमालेलाई समावेश गर्न जरुरी रहेको बताउनुभयो । नेकपा एमाले दल फुटाउनको निम्ति अध्यादेश ल्याएको भन्दै विभाग प्रमुख खरेलले मूल दल (एमाले)लाई रहोबरमा राखेर काम गर्न सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले निर्वाचन आयोगलाई भनेका छौँ, १४ जना ह्वीप उल्लंघन गर्ने व्यक्तिहरू र पार्टीको निर्देशन लागू गरेर ह्वीप उल्लंघन गरेका छन्, तिनीहरूलाई कारबाही गरिएको छ । तिनीहरूलाई कारबाही गरिनुपर्छ भनेका छौँ । तिनीहरूको नामलाई पनि समावेश नगरियोस्, तिनीहरूलाई नाम समावेश गरेर उनीहरूलाई सनाखत गराउने प्रक्रियामा समावेश नगराइयोस्, यो कुराले मुलुकको लोकतन्त्रलाई बलियो बनाउँछ, लोकतन्त्र बलियो बनाउने काममा नै निर्वाचन आयोग लाग्छ भन्ने हामीलाई विश्वास छ ।’




















