एमालेको महाधिवेशन मंसिरमा, विधान महाधिवेशन असोजमा गर्ने निर्णय।

सबै संगठनलाई ०७५ जेठ २ अघिकै अवस्थामा फर्किन निर्देशन

काठमाडौं:= नेकपा एमालेको महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म काठमाडौंमा हुने भएको छ । माधवकुमार नेपाल समूहमा रहेका, तर नयाँ पार्टीमा नगएका १० जना स्थायी कमिटी सदस्यहरू समेत सहभागी भएको स्थायी कमिटी बैठकले १० बुँदे सहमति अनुमोदन गर्दै कार्यान्वयनका लागि कार्यदल बनाएको हो  ।

मंसिर १०, ११ र १२ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । त्यसअघि विधान अधिवेशन असोज ४, ५ र ६ गते हुनेछ । बैठकले २०७५ जेठ २ अघिकै संरचनाबाट पदाधिकारी, सबै प्रदेश समन्वय कमिटी र जिल्ला कमिटीहरूलाई क्रियाशील हुन निर्देशन दिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

‘सबै तहका पार्टी कमिटी र जनसंगठनलाई २०७५ जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिँदै १० बुँदे प्रस्तावलाई सन्दर्भ सामग्रीका रूपमा मातहत कमिटीमा प्रेषित गर्ने निर्णय भएको छ’, प्रवक्ता ज्ञवालीले भन्नुभयो ।

पार्टीको विवाद मिलाउन गठन भएको कार्यदलले गरेको सहमतिअनुसार नै मंगलबारको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति पालना गर्दै एमालेका संगठन र नेताको जिम्मेवारी २०७५ सालको जेठ २ गते अघिकै अवस्थामा फर्काउने वाचा गरेपछि माधव नेपाल पक्षमा गएका स्थायी कमिटी सदस्यहरू पनि एमालेमै फर्किएका हुन् ।

मंगलबारको बैठकमा माधव नेपालको साथ छाड्नुभएका युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल, योगेश भट्टराई लगायतका नेताहरू पनि सहभागी हुनुभएको थियो । यस्तै, माओवादी छाडेर एमाले प्रवेश गर्नुभएका रामबहादुर थापा, लेखराज भट्ट, मणि थापा र टोपबहादुर रायमाझी पनि बैठकमा जानुभएको थियो । बैठकले सबैलाई मूल पार्टीमै फर्कन आग्रह गरेको र पार्टीमा फर्कनेहरूलाई कुनै कारबाही नहुने निर्णय गरेको पनि प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

१० बुँदे सहमति कार्यान्वयन गर्न ६ सदस्यीय कार्यदल गठन

नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयन क्रममा उत्पन्न हुने समस्या समाधान गर्न कार्यदल गठन गरेको छ । स्थायी कमिटीको मंगलबार बसेको बैठकले १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन सिफारिससमेत गर्न सो कार्यदल बनाएको हो ।

कार्यदलमा महासचिव ईश्वर पोखरेलसहित उपाध्यक्ष भीम रावल, उपमहासचिवद्वय विष्णु पौडेल, घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे तथा लेखराज भट्ट रहेको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकले केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्लालगायत सबै तहका कमिटी र जनसंगठनहरूलाई २०७५ जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिएको ज्ञवालीले बताउनुभयो । माधव नेपालको पार्टीमा गएकाहरूको हकमा कार्यदलले टुंगो लगाउने भएको छ । त्यस्तै, केन्द्रीय निकाय र विभागहरूलाई पूर्णता दिने पनि यही कार्यदललाई जिम्मा छ ।

सदस्यता नवीकरणलाई पनि २०७५ जेठ २ गतेको सदस्यतालाई आधार बनाउने र एकीकरणमा आबद्ध भएका र २०७५ जेठ ३ पछि सदस्यता प्रदान गरिएका पार्टी सदस्यहरूको सदस्यतासमेत सम्बन्धित जिल्ला कमिटीले नवीकरण गर्ने बैठकले निर्णय गरेको छ । बैठकले भदौ १६ देखि २० गतेसम्म जिल्ला र जनसंगठनहरूको भेला गर्ने पनि एमालेले निर्णय गरेको छ । त्यसअघि १० भदौमा केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।

बाटो बिराएकालाई मूलघरमा फर्किन आह्वान

नेकपा एमालेले हालै विभाजित भएर गएको समूहलाई मूलधारमा फर्किन आह्वान गरेको छ । मंगलबार सम्पन्न भएको स्थायी समिति बैठकले पारित गरेको प्रस्तावमा यसअघिका कुनै पनि क्रियाकलापलाई लिएर पूर्वाग्रह नराखिने भन्दै एकता आह्वान गरिएको हो । प्रस्तावमा भनिएको छ, ‘एमालेबाट विभाजित भएर अलग्गै पार्टी दर्ता गर्ने प्रयास गरिरहेका कमरेडहरूलाई हामी आग्रह गर्छौं ।

मुलुकका सामु उपस्थित असाधारण सम्भावना र अकल्पनीय चुनौतीप्रति संवेदनशील हुँदै पार्टीको काँधमा उपस्थित ऐतिहासिक अभिभाराप्रति सचेत रहँदै त्यस्तो गलत र हानिकारक बाटो छाडेर पार्टी एकतामा आबद्ध हुनुहोस्, आफ्नो मूलघरमा फर्किनुहोस् ।’ विभाजनकारी गतिविधि र छुट्टै दल दर्ताको प्रक्रियाबाट अलग भएर पार्टी एकतामा योगदान गर्नेहरूलाई हार्दिक स्वागत गरिने एमालेले जनाएको छ ।

प्रस्तावमा थप भनिएको छ, ‘जीवन्त र लोकतान्त्रिक पार्टीमा समस्याहरू उत्पन्न हुनु, समस्यालाई हेर्ने दृष्टिकोणमा भिन्नता हुनु र कतिपय प्रश्नमा असहमति पैदा हुनु स्वाभाविकै हो । तर, समस्याका विकल्प विग्रह होइन । त्यसरी नै भिन्नताको समाधान अन्तरद्वन्द्व होइन । असहमतिको निष्कर्ष त विभाजन झन् हुँदै होइन । नेकपा एमालेको एकता यस पार्टीका लाखौं सदस्य र समर्थक–शुभचिन्तकहरूको मात्र होइन, आम जनता र देशकै चाहना हो ।’