काठमाडौं:= नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद सहमतिमै टुंगिएको छ । कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान समितिले प्रतिवेदन सभापति शेरबहादुर देउवालाई बुझाएको छ । सोमबार साँझ समितिका सदस्यहरूबीचको बैठकपछि प्रधानमन्त्रीसमेत रहनु भएका सभापति देउवालाई उहाँकै निवास बूढानीलकण्ठमा समितिले प्रतिवेदन बुझाएको हो । गत साउन ३० गते पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा केन्द्रीय सदस्यद्धय डा. मीनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको समिति गठन गरिएको थियो । समितिलाई भदौ ३ गतेनै प्रतिवेदन बmुभाउन समय दिइए पनि चार दिन ढिलोगरी सहमति गरेको हो । प्रतिवेदन बुझ्दै सभापति देउवाले अब सहमतिमा तलमाथि नगरी महाधिवेशन प्रक्रियाअगाडि बढाउने बताउनुभयो । उहाँले महाधिवेशन सम्पन्न गर्न सबैको सहयोग अपेक्षा गरेको बताउनुभयो ।
साझा उम्मेदवार बनाउने कसरतमा कांग्रेस संस्थापनइतर समूह
१४औँ महाधिवेशनको मिति नजिकिएसँगै नेपाली कांग्रेसको संस्थापनइतर समूह सभापतिको साझा उम्मेदवारको खोजीमा जुटेको छ । सभापति देउवाको विकल्पमा इतर समूहबाट एक मात्रै उम्मेदवार बनाउनेबारे सोमबार छलफल भएको हो । संस्थापनविरुद्धको रणनीति बनाउँदै साझा उम्मेदवार छान्न नेताहरू बैठक बसेका हुन् । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको बैठकमा नेताहरूबीच साझा उम्मेदवार तय गर्ने विषयमा छलफल भएको नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार छलफलमा साझा उम्मेदवार उठाउने सहमति भएको छ । तर, उम्मेदवार टुंग्याउन भने बाँकी छ । ‘साझा उम्मेदवार छान्ने विषयमा आजको बैठकमा छलफल भयो,’ उहाँले भन्नुभयो, ‘यस विषयमा सबैको सहमति नै रहृयो । चुनाव जित्ने साझा उम्मेदवार छान्नुपर्छ भन्नेमा कसैको विमति छैन । हामी निरन्तर छलफल गरेर यो विषय टुंग्याउँछौँ ।’ उहाँले सभापतिको उम्मेदवार टुंग्याउन छिट्टै छलफल गर्ने गरी आजको छलफल टुंगिएको बताउनुभयो ।
सदस्यहरूले सकेसम्म वडा अधिवेशनअघि नै उम्मेदवार टुंग्याउने तयारी गरेका छन् । बैठकमा क्रियाशील सदस्यता विवादबारे पनि छलफल भएको थियो । कांग्रेसमा लामो समयदेखि जारी क्रियाशील सदस्यता विवाद सोमबार साँझ मिलेको छ । यसअघि विवादका कारण महाधिवेशन प्रभावित हुँदै आएको थियो । क्रियाशील सदस्यताकै कारण फेरि पनि महाधिवेशनको कार्यतालिका प्रभावित पार्न नहुनेमा जोड सदस्यहरूको छ ।
संस्थापनले मनपरी ढंगले सदस्यता वितरण गरेको इतर समूहको आरोप छ । नेताहरूले सरकार सञ्चालन र मन्त्रिपरिषद् विस्तारका विषयमा पनि छलफल गरेका थिए । शक्ति सन्तुलन मिलाएर मन्त्रालय बाँडफाँड गर्नका लागि छलफल गर्ने जिम्मा रामचन्द्र पौडेललाई दिइएको छ । कांग्रेस नेतृत्वको गठबन्धन सरकार बनेको ६ साता हुन लाग्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । नेपाल ट्रेड युनियन कांग्रेसका पूर्व–अध्यक्ष लक्ष्मणबहादुर बस्नेतले बैठकको संयोजन गर्नुभएको छलफलमा सभापतिका आकांक्षीहरू नै सहभागी हुनुहुन्थ्यो । छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, शेखर कोइरालालगायत सहभागी हुनुहुन्थ्यो । संस्थापनइतरमा वरिष्ठ नेता पौडेलसहित, प्रकाशमान सिंह, डा. शेखर र शशांक कोइराला सभापतिका आकांक्षी हुनुहुन्छ ।
निर्वाचन समिति सक्रिय
कांग्रेसको निर्वाचन समिति महाधिवेशनलक्षित कार्यक्रमको तयारीमा जुटेको छ । क्रियाशील सदस्यता विवाद समाधान भएसँगै निर्वाचन समिति महाधिवेशनलक्षित कार्यक्रमको तयारीमा जुटेको हो ।
निर्वाचन समितिले निर्वाचन निर्देशिका, नियमावली, विधान र प्रमाणपत्र प्रकाशित गर्न सुरु गरिसकेको छ । करिब आठ हजारप्रति निर्देशिका, नियमावली र विधान प्रकाशित भएको छ भने तल्लो तहका निर्वाचित पदाधिकारी र सदस्यका लागि तीन लाख बढी प्रमाणपत्र प्रकाशनको काम जारी रहेको समितिले जनाएको छ ।
१ भदौसम्म निर्वाचन निर्देशिकामा आवश्यक परिमार्जन गर्ने, १० भदौसम्म ७७ वटै जिल्लामा निर्वाचन अधिकृतसहित आवश्यक कागजात पठाइसक्ने सहमति गरेको कांग्रेसले क्रियाशील सदस्यता र निर्वाचन निर्देशिकामा सहमति जुटाउन ढिलाइ गरेको हो । क्रियाशील सदस्यतासम्बन्धी विवाद पेचिलो बन्दा आसन्न १४औं महाधिवेशनको कार्यतालिका पटक–पटक संशोधन गरिएको छ । यसपटक पनि भदौ ३ गते नै समस्या समाधान गरेर प्रतिवेदन बुझाउने म्यान्डेट पाएको उच्चस्तरीय समितिले सोमबारमात्रै प्रतिवेदन बmुभाएको छ ।
अब वडा तहको अधिवेशन गर्ने दिन आउन १० दिन मात्रै बाँकी छ । ९-१३ मंसिरसम्म १४ औं महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको कांग्रेसले भदौ १८ गतेदेखि वडा अधिवेशन गर्ने कार्यतालिका छ ।
केही दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : महत
सत्तारूढ दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले केही दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महतले अबको केही दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको छ । सबै पार्टीहरूलाई मिलाएर सरकार बनाउनुपर्ने भएकाले मन्त्रिपरिषद्ले पूर्णता पाउन ढिलाइ हुन गएको उहाँको स्पष्टीकरण थियो ।
सहमहामन्त्री महतले कांग्रेस नेतृत्वको सरकारले नेपाली जनतालाई कोरोना भाइरसबाट सुरक्षित गर्ने र कम्युनिष्ट शासनमा भएका संस्थागत भ्रष्टाचारबाट मुलुकलाई मुक्त गराउने लक्ष्य लिएको पनि बताउनुभयो । उहाँले सरकारले जनताको आर्थिक र सामाजिक जीवनमा भएका अस्तव्यस्तलाई ध्यानमा राखेर काम गर्ने योजना पनि सुनाउनुभयो ।
सहमहामन्त्री महतले भन्नुभयो, ‘सरकार नेपाली कांग्रेसको नेतृत्वमा, शेरबहादुर देउवाजीको नेतृत्वमा बनेको छ, चुनौतीहरू धेरै छन्, अवसर पनि छ, यो चुनौतीलाई पार गर्न सक्यौँ भने धेरै ठूलो अवसर नेपाली कांग्रेसको अगाडि छ, नेपाली कांग्रेसलाई अवसर भनेको जनताका लागि पनि एउटा अवसर हो, ट्र्याकभन्दा बाहिर गएको यो देशलाई ट्र््याकमा ल्याउने अवसर हो भन्ने मलाई लाग्छ, नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारले आकाश पाताल जोडेर हुने, नहुने कुरा गर्दैन, जनताप्रति केन्द्रित भएर, जनताका प्राथमिक आवश्यक्ताहरू के छन् ? त्यसमा केन्द्रित हुने प्रण प्रधानमन्त्रीजीले पनि गर्नुभएको छ, अहिले सम्पूर्ण नेपाली जनतालाई सुरक्षित गर्ने पहिलो प्राथमिकता हो, यद्यपि समयमा मन्त्रिपरिषद् पाउन सकेन । घटकलाई जोडेर सरकार बनाउनुपर्ने बाध्यता छ, तर अब मलाई लाग्छ केही दिनमै मन्त्रिमण्डल पूरा हुन्छ भनेर प्रधानमन्त्रीजीले विश्वास दिलाउनुभएको छ, अनि रफ्तारमा काम हुन्छ ।’
सहमहामन्त्री महतले नेपाली कांग्रेसले निर्वाचनबाट एकल पूर्ण बहुमतका साथ सरकार बनाउन सक्ने हैसियत राखेपछि मात्रै पूर्ण रूपमा नेपाली जनताको पक्षमा काम गर्न सक्ने बताउनुभयो । साथै उहाँले पार्टी महाधिवेशन नै अन्तिम लडाइँ भएको जसरी लड्न नहुने बताउनुभयो । सहमहामन्त्री महतले आउँदो आम निर्वाचन महŒवपूर्ण भएकाले पार्टीको महाधिवेशनमा नलडी अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । सहमहामन्त्री महतले सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई सुधार गरेर अघि बढ्ने पनि बताउनुभयो ।


















