ओली र एमाले सांसदले सभामुखविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिनु आपत्तिजनक:सत्ता गठबन्धन।

काठमाडौं:= सत्तारूढ गठबन्धनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट सभामुखलाई धम्क्याउने काम भएको भन्दै आपत्ति जनाएको छ । माओवादी संसदीय दलको कार्यालयमा सत्तारूढ पाँच दलका प्रतिनिधि जम्मा भएर विज्ञप्ति जारी गर्दै आपत्ति व्यक्त गरेका हुन् ।

कांग्रेसकी सचेतक पुष्पा भुसाल, माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङ, जसपाका सांसद प्रदीप यादव, जनमोर्चाकी संसदीय दलकी नेता दुर्गा पौडेल र प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का सांसद जीवनराम श्रेष्ठले विज्ञप्ति जारी गर्दै प्रमुख प्रतिपक्षी एमालेका सांसदले सभामुखलाई धम्की दिएको भन्दै आपत्ति जनाउनुभएको हो ।

सत्तारूढ गठबन्धनले भने त्यसरी दबाब दिनु संसदीय मर्यादाविपरीत रहेको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । ‘सभामुखको कार्यकक्षमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले सभामुखलाई लक्षित गरी दिनुभएको संसदीय मर्यादाविपरीत बल प्रयोग जस्ता धम्कीपूर्ण अभिव्यक्ति र सोही दिन प्रमुख विपक्षी दलका नेताले सार्वजनिक मिडियाहरूमा सभामुखविरुद्ध दिनुभएको धम्कीमूलक अभिव्यक्तिको सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ सत्तारूढ गठबन्धनको विज्ञप्तिमा भनिएको छ ।

सभामुखप्रति प्रमुख विपक्षी दलका सांसदहरूले देखाएको व्यवहारविरुद्ध सत्तारूढ दलहरू अगाडि आउनुपरेको माओवादी प्रमुख सचेतक देव गुरुङले बताउनुभयो । गुरुङले प्रमुख प्रतिपक्ष दलका नेता र सांसदहरूले सभामुखविरुद्ध दिएको धम्कीपूर्ण अभिव्यक्ति संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणालीविरुद्ध भएकाले त्यसप्रति आपत्ति जनाउँदै संवैधानिक मर्यादाको ख्याल गर्न आग्रह गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सम्माननीय सभामुखको कार्यकक्षमा प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का माननीय सदस्यहरूले सम्मानीय सभामुखज्यूलाई लक्षित गरी दिनुभएको संसदीय मर्यादाविपरीत बल प्रयोगजस्ता धम्कीपूर्ण अभिव्यक्ति र सोही दिन प्रमुख प्रतिपक्ष दलका नेताले सार्वजनिक मिडियामा सम्माननीय सभामुखविरुद्ध दिनुभएको धम्कीमूलक अभिव्यक्तिको सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

उहाँले नेपालको संवैधानिक व्यवस्थाअनुसार सभामुख पद व्यवस्थापिकाको प्रमुख हुनुका साथै संघीय संसद्को संरक्षक रहेको स्मरण गराउनुभयो । सभामुखविरुद्धका धम्कीपूर्ण अभिव्यक्तिहरू वर्तमान संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणालीविरुद्ध रहेको उहाँको भनाइ छ ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरीको नेतृत्वमा भदौ ३ र ४ गते एमालेका सांसद सभामुखको कार्यकक्षमा जानुभएको थियो । माधवकुमार नेपालसहित १४ जनालाई सांसद पदबाट मुक्त गरेको सूचना जारी गर्नका लागि सभामुखलाई दबाब दिन उहाँहरू त्यहाँ जानुभएको थियो । सभामुखले प्रक्रिया पूरा गरेर कानुनअनुसार गर्न अध्ययन गरिरहेको बताउनुभएको थियो ।

छिटो सूचना जारी नगरे सभामुखविरुद्ध बल प्रयोग गर्ने चेतावनी महेश बस्नेतले दिनुभएको थियो भने सचेतक शान्ता चौधरीले छिटो माधव नेपालहरूलाई पदमुक्तको सूचना जारी नगरे अनशन बस्ने चेतावनी दिनुभएको थियो । त्यस्तै, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले १४ जनालाई पदमुक्त नगरै संसद् चल्न नदिने चेतावनी दिनुभएको थियो ।