पक्षमा ४२, तटस्थमा एक, विपक्षमा शून्य
लुम्बिनी := लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाउनुभएको छ । लामो समयको जोडबल र रस्साकस्सीपछि मुख्यमन्त्री केसीले सोमबार विश्वासको मत पाउनुभएको हो । लुम्बिनी प्रदेशसभाको नवाँै अधिवेशनको पहिलो बैठकमै विश्वासको मत लिने प्रयास गरे पनि प्रतिपक्षी दल नेकपा एमालेको संसद् अवरोधका कारण तेस्रो बैठकबाट उहाँले विश्वासको मत पाउनुभएको हो ।
सोमबार पनि प्रतिपक्षी एमालेको अवरोधका कारण दिउँसो आधा घण्टा बसेर बैठक स्थगित भएको थियो । दिउँसो साढे दुई बजेका लागि बोलाइएको बैठकको कार्यसूचीमै मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची थियो । तर, प्रतिपक्षीले विरोध गरेपछि आधा घण्टामै बैठक स्थगित भएको थियो । त्यसपछि चार बजेका लागि बैठक आह्वान गरिएको थियो । चार बजेका लागि बोलाइएको बैठक साढे चार बजे सुरु भएको थियो ।
८० सदस्यीय प्रदेशसभामा ४३ प्रदेशसभा सदस्य मतदानमा सहभागी भएका थिए । ४३ जनामध्ये मुख्यमन्त्रीका पक्षमा ४२ मत प्राप्त भएको प्रदेशसभा सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिनुभयो । एकजना तटस्थ बस्नुभएको थियो भने विपक्षमा एक मत पनि नपरेको प्रदेशसभा सचिवालयले जनाएको छ । उपसभामुख कृष्णा थारू तटस्थ बस्नुभएको थियो । जनमोर्चा सांसद विपक्षमा बसे पनि पक्षमा मतदान गर्नुभएको थियो ।
प्रमुख प्रतिपक्षी दलले मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा बहिष्कार गरेको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बहिष्कारकै बाबजुत पनि जनमोर्चा प्रतिपक्षमा बसेकाले बैठक चलेको हो । ८० सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका ३८, माओवादी (सभामुख सहित) र नेपाली कांग्रेस १९/१९ जना, जसपाका तीन र जनमोर्चाका एकजना सांसद छन् । केसी जेठ २८ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
जनमोर्चा सांसदकै कारणले चल्यो लुम्बिनी प्रदेशसभा
राष्ट्रिय जनमोर्चाकी एक सांसद तारा जिसीको कारणले लुम्बिनी प्रदेशसभा चल्यो । जनमोर्चा सांसद जिसीका कारण मुख्यमन्त्री केसीले विश्वासको मत पनि लिन पाउनुभयो । एमालेको निरन्तरको संसद् अवरोधबीच पनि सांसद जिसी बैठकको प्रतिपक्षीको टेबलमा बसेका कारण बैठक चलेको हो ।
प्रदेशसभाको नवाँै अधिवेशनको तेस्रो बैठक विपक्षीको नाराबाजीबीच केहीबेरमै स्थगित भएको थियो । पुनः साढे दुई बजे सुरु भएको बैठकलाई सभामुखले तेस्रो बैठककै निरन्तरता दिनुभएको थियो । नौ मिनेट मात्र चलेको बैठकमा चार वटा विधेयक पेश भएलगत्तै बैठक साढे तीन बजेसम्मका लागि स्थगित भएको थियो ।
चार बजेपछि सुरु भएको चौथो बैठकमा सभामुख पूर्णबहादुर घर्तीले संविधानको धारा १८८ को उपधारा १ र प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम केसीले मुख्यमन्त्रीमा विश्वासको मत लिने प्रक्रिया अघि बढाउनुभएको थियो । प्रमुख प्रतिपक्ष दलले तेस्रो र चौथो दुवै बैठक पनि बहिष्कार गरेका थिए । जनमोर्चा भने सरकारमा सहभागी नहुने तर समर्थन गर्ने बताउँदै आएको छ । जनमोर्चा अहिले पनि प्रतिपक्षमै बसेको छ ।
आवेगमा नआउनुहोस्, हामीले प्रतिपक्षमा हुँदा सहयोग गरेका थियौँ : मुख्यमन्त्री केसी
मुख्यमन्त्री केसीले विश्वासको मत पाएसँगै एमालेलाई संयमता अपनाउन आग्रह गर्नुभएको छ । एमालेको निरन्तर विरोधबीच पनि विश्वासको मत पाएपछि मुख्यमन्त्री केसीले एमालेलाई संयमित हुन आग्रह गर्नुभएको थियो । उहाँले गठबन्धनका दलहरू प्रतिपक्षमा बसे पनि निरन्तर सहयोग गरेको कुरा नबिर्सन आग्रह गर्नुभयो । उहाँले संविधान एवं संसदीय प्रणालीअनुसार चल्न सुझाव दिँदै आवेगात्मक नहुन सुझाव दिनुभएको थियो । ‘गठबन्धन विपक्षमा रहँदा सरकारलाई समर्थन गरेका थियौँ, त्यो कुरा नबिर्सनुहोस, बढी आवेगात्मक हुनुभएको छ त्यसलाई छाड्नुहोस्’, उहाँले भन्नुभएको थियो ।
मुख्यमन्त्री केसीले आगामी कार्यक्रमको बारेमा बताउँदै गठबन्धन सरकार तीन वर्षको अनुभवकै आधारमा सरकार सञ्चालन गर्ने प्रतिक्रिया दिनुभयो । उहाँले आत्मनिर्भर लुम्बिनीवासी बनाउने कार्यमा आफूहरू तल्लीन भएर लागेको पनि बताउनुभयो । उहाँले गठबन्धनले दुःख कष्टकका साथमा केन्द्रदेखि प्रदेशसम्म राजनीतिको नेतृत्व गरेको उल्लेख गर्दै संविधान र संघीयता कार्यान्यवनको, लोकतन्त्र रक्षा, जनजीविका र स्वास्थ्य क्षेत्रको सुधारको लागि कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।



















