विभाजित एमालेबाट तेस्रो दलको जन्म!

काठमाडौं:= आठ महिनाभन्दा बढी समयदेखि जारी आन्तरिक विवादको रापमा फसेको नेकपा एमालेको शक्ति क्षय हुँदै गएको छ । तत्कालीन समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदै एकता भंग भएपछि एमालेका रूपमा पुनर्जीवन पाएको पार्टी विभाजित भएको छ । नेकपा एमालेमा वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी दर्ताको प्रक्रिया आरम्भ गर्नुभएको छ । निर्वाचन आयोगले ९ गते सनाखतका लागि बोलाएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य वा सांसदमध्ये २० प्रतिशत संख्या आफ्नो पक्षमा पार्न सके उहाँले नेकपा एकीकृत समाजवादी पार्टीको नेतृत्व गर्नुहुनेछ ।

यता, नेपालले पार्टी विभाजन गर्ने भएपछि साथ छाडेका नेताहरू अहिले पनि एकताका लागि भन्दै निरन्तर छलफलमा रहेका छन् । तर, संस्थापन पक्षले उहाँहरूको कुरा सुन्ने सम्भावना न्यून हुँदै गएको छ । माउ पार्टीका अध्यक्षले आफ्ना कुरा नसुन्ने र वरिष्ठ नेता नेपालले दल विभाजन गरी नयाँ दर्ता गर्न लागेको पार्टीमा भविष्य नदेखेपछि नेताहरू विकल्पको खोजीमा जुटेका छन् । एमालेको स्थायी कमिटीका बहुमत र युवा नेताहरूको बहुल्यता भएको तेस्रो धार एमालेबाट विद्रोह गर्ने मुडमा देखिएको छ । स्रोतका अनुसार ओलीले आफ्नो कुरा नहुने नेपालसँग पनि नजाने तर विद्रोह गर्ने तयारी नेताहरूले गरिरहेका छन् ।

एमालेको तेस्रो धारमा अहिले तीन उपाध्यक्ष, एक उपमहासचिव र तीनजना सचिवसहित स्थायी कमिटीका नौ सदस्य सहभागी छन् । उहाँहरूको समूहमा सहभागी रहेका केन्द्रीय सदस्य र सांसदहरूको संख्या यकिन छैन । तर, यसअघि माधव नेपाल समूहमा रहेका तर, अहिले पार्टी विभाजनमा सहभागी नभएका नेताहरूको सूची हेर्दा ४० जनाको हाराहारी देखिन्छ । यो संख्या भनेको कुल २०३ सदस्य संख्याको लगभग २० प्रतिशत हो । दल विभाजनका लागि यो संख्या पर्याप्त हो । स्रोत भन्छ, ‘हामी पार्टी विभाजनको पक्षमा छैनौं । त्यसैले पनि नेपाललाई साथ नदिएका हौँ । तर, अन्तिम समयमा ओलीले पनि आफ्नो कुरा सुन्ने अवस्था रहेन भने विद्रोहको विकल्प हुन्न ।’

तेस्रो धारका नेताहरूले विकल्प खोज्ने बताए पनि केही नेताहरू भने नेपाल समूहसँग फर्किने र अवसर पाएको अवस्थामा ओलीलाई नै समर्थन गर्ने सम्भावना पनि देखिन्छ ।

चिन्तामा भीम रावल !

साबिकको एकता कार्यदलले गरेको १० बुँदे सहमति कार्यान्वयनका लागि मंगलबारसम्मको समयसीमा दिए पनि ओली पक्षबाट सकारात्मक रेस्पोन्स आउन सकेको छैन । समय घर्किन लाग्दा अहिले भीम रावल समूहका नेताहरू चिन्तामा देखिएका छन् । एमाले उपाध्यक्षसमेत रहनुभएका रावलले विगतमा नेपाललाई दरिलो साथ दिए पनि अन्तिममा साथ छाड्नुभएको थियो । अहिले तेस्रो धारका प्रमुख नेताका रूपमा रहनुभएका रावलले आफ्नो पक्षका नेताहरूसँग निरन्तर संवाद गरिरहनुभएको छ । रावलले नेपाल पक्ष छाडेका सांसदहरूसँग नियमित फोन संवाद गरिरहनुभएको बुझिएको छ । उहाँले ओली पक्षका नेताहरूसँग पनि सहमति कार्यान्वयनका लागि निरन्तर छलफल गरिरहनुभएको छ । तर, ओली पक्षका नेताहरू भने सकारात्मक दखिएका छैनन् ।

सूर्य थापा भन्नुहुन्छ, ‘कार्यदलको सहमति कार्यान्वयनमा गइसकेको छ’

एमालेका केन्द्रीय सदस्य सूर्य थापाले कार्यदलले तयार पारेको सहमति कार्यान्वयनमा गइसकेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले आयोजना गरेको भेलालाई सम्बोधन गर्नु हुँदै थापाले कार्यदलले गरेको १० बुँदे सहमति कार्यान्वयनमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कार्यदलको सहमतिलाई हामीले स्थायी कमिटी, केन्द्रीय कमिटीको बैठकबाट अनुमोदन गरिसकेका छौं । सहमति कार्यान्वयनमा गइसकेको छ । कार्यदलमा रहेका केही सदस्यहरूले अहिले पनि १० बुँदे कार्यान्वयन गर्न अल्टिमेटम दिनु बेकारको कुरा हो ।’ नेताहरूको पद यथावत रहेकाले अब बस्ने स्थायी कमिटी बैठकमा सहभागी हुन उहाँले आग्रह गर्नुभएको छ ।

एमाले वरिष्ठ नेता माधव नेपाल पक्षमा रहेका तर अहिले उहाँको नयाँ दलमा नगएका युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायत स्थायी कमिटी सदस्यले बिहीबार र शुक्रबार भेला बस्दै अध्यक्ष ओलीलाई १० बुँदे कार्यान्वयनका लागि अल्टिमेटमा दिनुभएको थियो ।