झापा:= कोरोना भाइरस महामारीका कारण झापाको भद्रपुरस्थित मेची पुलबाट आवतजावत गर्ने सीमा नाका ठप्प छ। विगत १७ महिनादेखि सीमा नाका बन्द भएकाले यस वर्ष भद्रपुरवासीले नेपाल-भारतको सीमा क्षेत्रमै पुगेर रक्षाबन्धन पर्व मनाएका छन् । यो घटना भद्रपुरवासीका लागि अहिलेसम्मकै नौलोसँगै अनौठो पनि हो ।
नाका बन्द भएका कारण अघिल्लो वर्ष दिदीबहिनीले दाजुभाइलाई राखी लगाउन पाएका थिएनन् । जसकारण उनीहरू निराश बनेका थिए । तर, यस वर्ष दुवै देशको सुरक्षाकर्मीको समन्वय सीमा नाकामै दिदीबहिनीले दाजुभाइलाई हर्षोल्लासका साथ राखी लगाएका छन् । राखी बाँध्दा दिदीबहिनी र दाजुभाइबीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।
मेची पुलपारि प्रहरी बिटनजिकै घाँसमै त्रिपाल ओछ्याएर परिवारका सदस्यहरूले सामूहिक रूपमा खुसी साटासाट गर्दै रक्षाबन्धन पर्व मनाएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक दलकुमार राईले बताउनुभयो । भारतबाट आउने दिदीबहिनी, दाजुभाइ र नेपालबाट जाने दिदीबहिनी, दाजुभाइलाई भिडभाड नहुने नगरी सुरक्षाकर्मीले आलोपालो समय मिलाएर रक्षाबन्धन मनाउन दिएको उहाँले बताउनुभयो । करिब २५० बढी नेपाली नागरिकले सीमा नाकामै पुगेर रक्षाबन्धन मनाएका छन् ।
कोरोना महामारीले दुई वर्षपछि दिदीबहिनीको हातबाट राखी लगाउने पाएको भद्रपुरका युवा मेघु रायाले बताउनुभयो । ‘पहिला घरमै आएर दिदीबहिनीले राखी लगाउथे,’ उहाँले भन्नुभयो, ‘अघिल्लो वर्ष बोर्डर बन्दले कोही आउन पाएनन्, यस वर्ष पनि बोर्डर बन्द छ, तर नेपाल-भारत दुवै देशका सुरक्षाकर्मीले सहजीकरण गरिदिँदा राखी लगाउन पायौं ।’
रक्षाबन्धन मनाउन सीमा पुगेका अधिकांश परिवारका सदस्यहरूको अनुहार हँसिलो देखिएको बताउँदै उहाँले भन्नुभयो, ‘रक्षाबन्धन मनाउन मेरा परिवारका सदस्यहरू सिलगुढी, ठाकुरगञ्ज र गलगलियाबाट आएको थियो, हामीले खुसी साटासाट गर्दै रक्षाबन्धन मनायौँ ।’
भद्रपुर, हल्दिबारी, चन्द्रगढी लगायतका स्थानीयले सीमा आएर दिदीबहिनीको हातबाट राखी लगाएको स्थानीय विक्रम सहनीले बताउनुभयो । सीमा नाकामा अहिलेसम्म यस्तो दृश्य आफ्नो जीवनकालमा कहिल्यै नदेखिएको बताउँदै उहाँले भन्नुभयो, ‘मेरो बहिनी पनि आएको थियो, नाकामै बसेर राखी लगायौं ।’ कोरोना महामारीबीच भारतबाट ठूलो संख्यामा त्यहाँका नागरिक रक्षाबन्धन मनाउन नेपाल प्रवेश गर्न लागेपछि हामीले सीमा नाकामै रक्षाबन्धन मनाउने व्यवस्था मिलाइदिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भद्रपुरका सशस्त्र प्रहरी निरीक्षक विभुराज दाहालले बताउनुभयो ।
भारतबाट आउने नागरिकलाई भारतीय एसएसबीले सीमा नाकामा रोकेर आलोपालो पठाएको थियो । रक्षाबन्धन मनाइसकेका नागरिक भारत फर्किएपछि मात्र एसएसबीले अन्य नागरिकलाई नेपाली भूमिसम्म जान अनुमति दिएको थियो ।




















