एमाले ओलीको अद्यावधिक कमिटीलाई निर्वाचन आयोगले तत्काल मान्यता नदिने।

काठमाडौं:= नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केन्द्रीय सदस्यको विवरण अद्यावधिक गरेर निर्वाचन आयोगलाई पठाएको २६० सदस्य संख्यालाई आयोगले तत्काल मान्यता नदिने भएको छ ।

निर्वाचन आयोगका अनुसार कानुनअनुसार दल दर्ता गर्दाको पार्टीको विधान र त्यसबखत आयोगमा रेकर्ड भएका केन्द्रीय सदस्यको आधारमा अघि बढ्ने तयारी गरिएको छ । नेता माधवकुमार नेपालले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको अवस्थामा आयोगले एमालेको २०३ सदस्यीय साबिककै केन्द्रीय कमिटीलाई मान्यता दिने भएको हो।

निर्वाचन आयोगले माधव नेपाल पक्षलाई फरक पार्टी ‘नेकपा एकीकृत समाजवादी’ दर्ताका लागि सनाखत गर्न आगामी भदौ ९ गते बोलाएको छ । सनाखतका क्रममा नेपाल पक्षले अब २६० को २० प्रतिशत नभई २०३ बाटै २० प्रतिशत पु¥याउँदा हुने भएको छ । एमाले अध्यक्ष ओलीले अद्यावधिक गरेको २६० सदस्यीय केन्द्रीय कमिटीलाई आयोगले आधार नमान्ने भएको छ।

गत मंगलबार भदौ १ गते एमाले पार्टीको निर्णयको आधिकारिक माइन्युटसहित एमालेले केन्द्रीय सदस्यहरूको नाम थपेर २०३ को ठाउँमा २६० पारेर आयोगलाई विवरण दिएको थियो।

संसद् सचिवालयलाई प्रश्नः नेपाल पक्षका सांसद् कति छन्?

नेकपा एमाले विभाजन गरेर नयाँ दल दर्ताका लागि निवेदन दिएका माधवकुमार नेपालसँग कति सांसद छन् भन्ने प्रश्न गरेर निर्वाचन आयोगले संघीय संसद् सचिवालयलाई पत्र पठाएको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भन्नुभयोे, ‘शुक्रबार नै पत्र पठाइएको हो । केन्द्रीय समितिको नाम आयोगले नै रुजु गर्छ । सांसदको नाम तथा विवरणहरू संसद् सचिवालयमा अपडेट रहने र व्यवस्थामा पनि संसद् सचिवालयसँग विवरण लिनू भनेको भएर हामीले पत्र पठाएका हौँ।’

नयाँ दल दर्ताका लागि आएका सांसदहरूको विवरण संसद् सचिवालयमा पठाएको थपलियाको भनाइ छ । ‘अब संसद् सचिवालयबाट जति छिटो जानकारी आउँछ हामी त्यति छिटो यो विषय टुंग्याउँछौँ’ उहाँले भन्नुभयो । आयोगले भदौ ९ गते माधवकुमार नेपाल समूहलाई सनाखतको लागि आयोगमा बोलाएको छ।

उता, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहले भने माधवकुमार नेपालसहितका १४ सांसदलाई कारबाही गर्नका लागि संसद् सचिवालयमा पत्र पाठएको छ । उसले सभामुख अग्निप्रसाद सापकोटालाई पटक–पटक ध्यानाकर्षणसमेत गराइसकेको छ।

भ्रममा नपरौं, म एमालेमै छु : वामदेव गौतम

नेता वामदेव गौतम एमालेमै रहेको उहाँको सचिवालयले प्रष्ट्याएको छ । एमाले उपाध्यक्ष गौतम नेकपा एकीकृत समाजवादीमा गइसकेको प्रचार गरेर चरित्र हत्या गर्न खोजिएको भन्दै सचिवालयले आइतबार बिहान सामाजिक सञ्जालमार्फत आपत्ति जनाएको छ ।

‘पत्रपत्रिका तथा सामाजिक सञ्जालमा क. वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गइसकेको भन्दै फोटोसहितको ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नुबाहेक केही होइन,’ स्वकीय सचिव दीपक टमाटाले लेख्नुभएको छ, ‘क. वामदेव गौतम अहिलेसम्म एमालेमै रहेको र नेकपा एमाले नेतृत्वको कार्यशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वाभाविक हो।’

बजारमा भइरहेको प्रचारप्रसारमा कुनै सत्यता नरहेको पनि उहाँले प्रष्ट्याउनुभएको छ । गत साता मात्रै गौतमले पूर्व–प्रधानमन्त्री माधवकुमार नेपालले गठन गर्न लागेको नेकपा एकीकृत समाजवादीलाई आफ्नो समर्थन रहने जनाउनुभएको थियो । यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग विवाद भएपछि गौतमले स्थायी कमिटी बैठक बहिष्कार गर्नुभएको थियो ।