बाढीले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक बगाउँदा यात्रुलाई समस्या।

बागलुङ:= निरन्तरको वर्षाले राष्ट्रिय गौरवको आयोजना सालझण्डी-ढोरपाटन सडकखण्ड अवरुद्ध भएको छ । सडकखण्डअन्तर्गत बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ८ र ९ का विभिन्न स्थानमा बाढीले सडक बगाउँदा अवरुद्ध भएको हो ।

भुजीखोलामा आएको बाढीले सालझण्डी ढोरपाटन सडकखण्डअन्तर्गतको बुर्तिबाङ-ढोरपाटन सडक अवरुद्ध भएको स्थानीय गगन पुनले बताउनुभयो । बाढीले सडक बगाएपछि ढोरपाटन-बोबाङ आवतजावत गर्ने स्थानीय र जनैपूर्णिमामा ढोरबराह मन्दिरमा जाने दर्शनार्थी समस्यामा परेका छन् ।

सडक अवरुद्ध भएपछि दैनिक ढोरपाटन-बोबाङ गर्ने सयौं नागरिकलाई समस्या भएको पुनको भनाइ छ । उहाँले भुजीखोला उर्लेर सडकमै आएको बताउनुभयो । ‘निरन्तररूपमा परेको वर्षाले खोलामा पानीको बहाव निकै बढेको छ, यसले गर्दा खोला माथि सडकमै आएको छ,’ पुनले भन्नुभयो, ‘सडकमा खोला बग्न थालेपछि ढोरपाटन आउनजान निकै कठिन भएको छ, सडक खुलाउन सम्बन्धित निकायले तदारूकता देखाएर तत्काल खुलाउनुपर्छ ।

अर्का स्थानीय गौमती पुनले स्थानीयहरू दैनिक यस सडक भएर ढोरपाटन जानेआउने गर्ने भन्दै भारी तथा पशुचौपायासँग आवतजावतमा निकै समस्या थपिएको बताउनुभयो । उहाँले गत वर्ष बाढीले सडकलाई क्षतविक्षत बनाएको र यस वर्ष पनि भुजीखोलाले सडक बगाएको बताउनुभयो ।

‘हामी दैनिक यही बाटो भएर भारी र पशुसँग हिँड्नुपर्छ, खोलाले बाटो सबै बगायो, अब कहिले खुल्ला ? निकै समस्या भयो त भुजीखोलेवासीलाई,’ उहाँले भन्नुभयो, ‘पोहोर साल पनि बाढीले घरहरूसँगै यो बाटो पनि बगाएको थियो, अहिले पनि फेरि बगाउन थाल्यो, यो खोलाले पनि हामीलाई निकै दुःख दियो ।’

बाढीले ढोरपाटन नगरपालिका वडा नम्बर ८ र ९ अन्तर्गत पर्ने दुवाल, भुसण्डे, सुप्राङ, दोहाललगायत क्षेत्रको सडकमा निकै ठूलो क्षति पु¥याएको उहाँको भनाइ छ । सडक बगाएपछि भुजीखोला सालझण्डी–ढोरपाटन सडकको रुटबाट बगिरहेको छ ।

बाढीका कारण भुजीखोला पाचौं लघु जलविद्युत् आयोजनाको मुहान समेत बगाएको छ । मुहान बगाएपछि यहाँका सयौं घरधुरीका स्थानीयहरू अन्धकारमा बस्न बाध्य भएको उहाँ बताउनुहुन्छ । ‘खोलाले बाटोमात्रै होइन, बिजुलीको मुहान पनि बगाइदिएको छ, मुहान बगाएपछि अहिले हामी त अँध्यारोमा बस्न बाध्य भएका छौं, मुहान क्षेत्रमा ठूलो पहिरो गएको छ,’ पुनले भन्नुभयो, ‘खोला घटेपछि पर्खाल उठाएर बल्ल बत्ती बल्छ भन्छन्, खोला तत्कालै घट्ने अवस्था छैन, अझै कति दिन अँध्यारोमा बस्नुपर्ने हो ?’

बाढीले क्षति पुर्‍याएको सडकलाई तत्काल मर्मत गर्नका लागि स्थानीयले सालझण्डी-ढोरपाटन सडक आयोजनालाई आग्रह गरेका छन् । सडकलाई तत्काल सुचारु गर्नका लागि मेसिनहरूको व्यवस्थापन गरी केही दिनमै सडक सञ्चालन गर्ने आयोजनाका इन्जिनियर सुरज चौधरीले बताउनुभयो ।

सडक अवरुद्ध हुँदा जनैपूर्णिमा पर्वमा ढोरबराह मन्दिरमा पूजाआजा गर्न आउने श्रद्धालु भक्तजनहरूलाई समस्या पर्ने देखिएको छ । खोलाले धार परिवर्तन गर्दा उक्त सडक खण्डका अन्य स्थानमा पनि पहिरो जाने र सडक अवरुद्ध हुने अवस्थामा रहेको स्थानीयको भनाइ छ ।