काठमाडौं:= नेकपा एमालेको विवाद समाधान गर्न अध्यक्ष केपी शर्मा ओलीमाथि दबाब दिइरहेका तेस्रो धारका नेताहरूको नियत सही नभएको संस्थापन पक्षले प्रतिक्रिया दिएको छ । विगतमा अध्यक्ष ओलीविरुद्ध निरन्तर संघर्ष गरेका तर नेपालको नयाँ पार्टीमा पनि नलागेका स्थायी कमिटी र केन्द्रीय सदस्यसहितका ५७ जनाको बैठकले एकता नभए आफूहरूले पनि विद्रोह गर्ने जनाएका थिए । शुक्रबार उनीहरूले माधव नेपालसहित १४ सांसदमाथि गरिएको कारबाही फिर्ता लिनुपर्ने र कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई अक्षरशः कार्यान्वयन गर्न ओलीलाई अल्टिमेटम दिएका थिए । यसैगरी, उनीहरूले माधव नेपाललाई नयाँ पार्टी दर्ताको कामबाट पछि फर्किन पनि आग्रह गरेका थिए । तर, संस्थापन पक्षले भने मध्यममार्गी भनिएका नेताहरूको यस्तो व्यवहार शंकास्पद भएको जनाएको छ ।
कार्यदलका नेताहरूले चेतावनीयुक्त भाषा बोल्नु अनुचित भएको ओलीपक्षीय एक नेताले हिमालय टाइम्सलाई बताउनुभयो । उहाँले भन्नुभयो, ‘साथीहरूले एकता पनि भनिरहनुभएको छ । अर्कोतर्फ अध्यक्षमाथि नै दोष थुपार्नुभएको छ । उहाँहरूले सही नियतका साथ काम गर्नुपर्छ । दोहोरो चरित्र देखाउन हुन्न । अध्यक्षले १० बुँदे सहमति कार्यान्वयन गर्छु त भन्नुभएकै छ । मलाई लाग्छ उहाँहरूले बार्गेनिङका लागि यो सब गरिरहनुभएको छ । अन्त्यमा माधव नेपालसँगै मिल्नुछ भने एकताको मादल मात्र बजाएको अर्थ छैन । मूलपार्टीमा फर्केर काम गर्ने हो भने सबैलाई सम्मानजनक व्यवहार हुन्छ ।’ ती नेताले भन्नुभयो ।
तटस्थ बसेका नेताहरूले २०७५ जेठ २ को अवस्थामा एमालेको मात्रै बैठक बस्नुपर्ने र त्यही बैठकले माओवादीबाट आएका नेताहरूको बारेमा निर्णय गर्नुपर्ने माग गर्दै आएका छन् । २०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । उक्त एकीकरणलाई सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलाले पूर्वावस्थामा फर्काइदिएको थियो । एमालेका अर्का नेता एवं केन्द्रीय सदस्य शेरबहादुर तामाङले फर्केर आउनेलाई उचित जिम्मेबारी दिइने तर एकताका नाममा अल्टिमेटम र बार्गेनिङ गर्दै बस्नेका कुरा नसुन्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘पार्टीमा यस्ता बार्गेनिङ र अल्टिमेटम धेरै चले । अब यसरी पार्टी चल्दैन । पार्टीले आफ्ना काम गर्दै जानुपर्छ । फर्केर आउनेलाई स्वागत छ । उहाँहरूलाई एमालेकै नेता बन्न आग्रह गर्छौं । तर, बार्गेनिङका लागि कसैलाई अनन्तसम्म पर्खिरहने भन्ने चाहिँ हुँदैन’, उहाँले भन्नुभयो । कार्यदलले गरेको १० बुँदे सहमति कार्यान्वयन गर्न अध्यक्ष तयार रहेको तर बैठकमै उपस्थित नभईकन बाहिर बसेर नानाथरि कुरा गर्नु ठिक नहुने उहाँको भनाइ छ । एमालेको आन्तरिक विवाद मिल्न नसक्दा वरिष्ठ नेता माधव नेपालले नेकपा (एकीकृत समाजवादी ) पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनुभएको छ । एमालेमा माधव नेपालनिकट भनेर चिनिएका ५७ जना नेताहरू भने तटस्थ बसेका छन् ।
ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्नेबित्तिकै एमाले मिल्छ : शाक्य
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपालको साथ पाएर मात्र आफू मुख्यमन्त्री भएको दाबी गर्नुभएको छ । नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उहाँले आफूले कुनै समूह फेरबदल नगरेको पनि स्पष्ट पार्नुभयो । ‘म अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवैको साथ पाएर मुख्यमन्त्री भएकी हुँु, उहाँले भन्नुभयो, ‘मैले नेता नेपाललाई धोका दिएको भन्ने गलत सन्देश दिएर पार्टी एकतालाई कमजोर बनाउने काम भइरहेको छ । कसैले त्यसो नगर्नुहोला ।’
नेकपा एमालेकी उपाध्यक्षसमेत रहनुभएकी मुख्यमन्त्री शाक्यले आफू अहिले पनि एमाले एकताकै पक्षमा रहेको बताउनुभयो । उहाँले पार्टी एकताका लागि जेठ २ मा गठित कार्यदलले असार २७ गते जुटाएको १० बुँदे सहमति कार्यान्वयनमा लैजानेबित्तिकै सबै कुरा मिल्ने पनि उल्लेख गर्नुभयो । ‘पार्टी एकता कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयनमा लाने प्रतिबद्धता अध्यक्ष केपी शर्मा ओलीले गर्नेबित्तिकै एमाले एकजुट हुन्छ’, उहाँले भन्नुभयो । शाक्यले अहिले पनि आफू पार्टी एकताकै पक्षमा रहेको उल्लेख गर्नुभएको छ । सम्बोधनका क्रममा मुख्यमन्त्री शाक्यले निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलको सल्लाहमा प्रदेश सरकारको काम अघि बढाउने प्रतिबद्धता पनि जनाउनुभयो ।




















