काठमाडौं:= राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजनको बाटो खुल्ला गर्नुभएका शेरबहादुर देउवाले अझै मन्त्रिमण्डललाई पूर्णता दिन सक्नुभएको छैन । सरकार गठन भएको महिना दिनभन्दा बढी समय बित्दा पनि सरकारले पूर्णता पाउन नसक्दा प्रधानमन्त्री देउवाले आलोचना खेप्नुपरेको छ ।
गठबन्धनको तर्फबाट प्रधानमन्त्री बन्नुभएका देउवालाई मन्त्रिमण्डल विस्तार गर्न गठबन्धनमा सहभागी दलहरू नै तगारो बनिरहेका छन् । सरकारमा सहभागी हुने दलहरूको टुंगो लाग्न समय लाग्नु, नेकपा माओवादी र जनता समाजवादी पार्टीले आफ्नो भागमा आउने मन्त्रालयका लागि मन्त्रीको नाम छान्न ढिलाइ गर्नुजस्ता कारणले मन्त्रिमण्डलाई पूर्णता दिन नसकिएको नेताहरू बताउँछन् ।
कोरोना महामारीको तेस्रो लहर आउने खतरा बढिरहे पनि स्वास्थ्य मन्त्रालयमा समेतका महत्वपूर्ण मन्त्रालयमा मन्त्री नियुक्ति हुन नसक्नु दुःखद भएको भन्दै विपक्षी दलहरूले सरकारको आलोचना गरिरहेका छन् । गठबन्धन भने नेपाल पक्षलाई सरकारमा सहभागी गराउनका लागि कुर्नुपरेको बताउँदै आएको छ ।
गठबन्धनमा सहभागी दल नेकपा माओवादी केन्द्रका नेता गणेश शाह माधव नेपाल पक्षले दल दर्ता गरेपछि सरकारले पूर्णता पाउने बताउनुहुन्छ । नेकपा एमालेबाट विभाजित भएर नेपालले नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि निवेदन दिनुभएको छ ।
आयोगले नेपाल नेतृत्वको दललाई मान्यता दिएपछि सरकारलाई पूर्णता दिने विषयमा गठबन्धनमा छलफल हुने उहाँको भनाइ छ । नेता शाहले भन्नुभयो, ‘संसद् पुनःस्थापनामा नेपाल कमरेडहरूको महत्वपूर्ण भूमिका छ । तीन महिनाको अवधिमा २-२ पटक विघटन भएको संसद्लाई नयाँ जीवन दिएर नयाँ सरकार गठन भए पनि अहिले केही आन्तरिक कारणले पूर्णता पाउन सकेको छैन । छिट्टै सरकारले पूर्णता पाउँछ ।’
माओवादी केन्द्रबाट पनि मन्त्रीहरूको नाम टुंगो लगाउन सक्नुभएको छैन नि ? भन्ने प्रश्नमा उहाँले माओवादीमा मन्त्री छान्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएकाले कुनै समस्या नभएको बताउनुभयो । नेपाल समूहलाई पर्खिनुपरेका कारण नै अहिलेसम्म सरकारले पूर्णता पाउन नसकेको उहाँको भनाइ छ ।
यता, कांग्रेसका एक नेता भने गठबन्धनमा सहभागी दलहरूको अलमलका कारण नै सरकारले पूर्णता पाउन नसकेको बताउँछन् । नेपाल पक्षले सरकारमा सहभागिता जनाउने निश्चित नभए पनि उहाँलाई पर्खिनु एउटा कारण भएपनि अन्य दलहरूले समेत मन्त्रीको नाम टुंगो नलगाउँदा ढिलाइ भएको ती नेताको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘सरकार अहिले गठबन्धनलाई मिलाउनमा व्यस्त छ । हाम्रो पार्टीमा केही समस्या होलान् तर गठबन्धनमा रहेका दलहरूको अलमलका कारण सरकारले पूर्णता पाउन नसकेको हो । नेपाल समूहलाई पर्खिनुपर्ने अवस्था पनि छ । तर, माओवादी र समाजवादी पार्टीले पनि दलबाट सरकारमा पठाउनेहरूको नाममा निर्णय गर्न नसक्दा नसक्दा समस्या भएको छ ।’
नेपाल समूह भने दल दर्ताको प्रमाणपत्र पाएपछि सरकारमा सहभागी हुने बताउँछ । एमालेबाट विभाजित भएर नयाँ दल दर्ताको प्रयासमा रहेको नेपाल समूहले आयोगमा निवेदन दिएको छ । आयोगले सनाखतका लागि भदौ ९ गते बोलाएको छ । सनाखतपछि दल दर्ताको प्रमाणपत्र प्राप्त हुने र त्यसपछि सरकारमा जाने विषयमा छलफल हुने नेपाल समूहका नेता बताउँछन् ।
प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौंधरीले निर्वाचन आयोगमा दल दर्ता हुनेबित्तिकै आफ्नो पार्टी सरकारमा सहभागी हुने बताउनुभएको छ । नेता चौंधरीले पाँच दिनभित्र माधव नेपाललाई साथ छाडेका भनिएका नेताहरू पनि आफूहरूकै पार्टीमा आउने दाबीसमेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगले ९ गते सनाखतका लागि बोलाएको छ । त्यसपछि दल दर्ताको प्रमाणपत्र प्राप्त हुन्छ । हामी सरकारमा जाने ढोका खुल्छ ।’
उहाँले नेकपा एमालेले मुलुकको कुनै पनि समस्या समाधान गर्न नसक्ने निष्कर्षमा पुगेपछि आफूहरूले नयाँ पार्टी स्थापना गर्नुपरेको पनि बताउनुभएको छ । दल दर्ताको प्रक्रियामा अन्तिम चरणमा पुग्दासम्म सबै नेताहरू फर्किने विश्वास व्यक्त गर्नुहुँदै उहाँले भन्नुभयो, ‘म भन्न चाहन्छु-पाँच दिनभित्र सबै जना उहाँहरू नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा फर्कनुहुन्छ ।’
सर्वोच्च अदालतले विघटित संसद्लाई पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सर्वोच्चको परामादेशपछि प्रधानमन्त्री नियुक्त हुनुभएका देउवाले कांग्रेसबाट दुई र माओवादी केन्द्रबाट पनि दुई जना गरी चार जनामन्त्री नियुक्त गर्नुभएको थियो । त्यसपछि उहाँले कांग्रेसबाट स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गर्नुभयो । त्यसपछि दलहरूबीच सरकारलाई पूर्णता दिने विषयमा पटक–पटक छलफल भए पनि नेपाल समूहलाई केही समय पर्खिनुपर्ने सहमति जुटेको थियो ।
नेपाल समूहलाई एमालेबाट अलग गर्न सरकारले केन्द्रीय समिति वा संसदीय समितिमा २० प्रतिशत सदस्य पुर्याउन सके दल विभाजन गर्न सकिने गरी अध्यादेश ल्याएको थियो । अध्यादेशको साहारामा अहिले नेपाल समूह दल दर्ताका लागि निर्वाचन आयोग पुगेको छ । यस्तै, महन्थ ठाकुरलगायतका नेताहरूले पनि सरकारमा सहभागी हुने आकांक्षा देखाएको बताइन्छ । ठाकुर पनि लोकतान्त्रिक समाजवादी पार्टी नामको दल दर्ताका लागि आयोगमा पुग्नुभएको छ ।




















