आज नेपालमा रक्षाबन्धन तथा जनै पूर्णिमा पर्व।

काठमाडौं:= आज जनै पूर्णिमा अर्थात् रक्षाबन्धन मुलुकभरि मनाइँदैछ । हिन्दू धर्मावलम्बीहरूले आत्माको शुद्धीकरण र शरीरको रक्षार्थ ब्राहृमण पुरोहितद्वारा आफ्नो नाडीमा रक्षाबन्धनको धागो बाँधी जनै पूर्णिमा अर्थात् रक्षाबन्धन पर्व मनाउँदै छन् । तागाधारी जनै लाउन पर्नेहरू आफ्ना गुरुद्वारा मन्त्र साधना गरिएको जनै फेर्ने परम्परा रही आएको छ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने यो पर्व आज विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधी मनाइँदैछ । कोरोना संक्रमणका कारण भिडभाड नगरीकन यो पर्व मनाउन आग्रह गरिएको छ ।

यस्तै, सोमबार क्वाँटी खाने पर्व पनि रहेको छ । ११ थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारी क्वाँटी बनाएर खाइन्छ । क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रैदेखि तापको सञ्चार गर्छ भन्ने मान्यता छ ।

यसैगरी, आजकै दिन नेपालको तराई मधेस क्षेत्रमा दिदीबहिनीले दाजुभाइलाई राखी बाँध्ने प्रचलन रहिआएको छ । यसबाट दिदीबहिनी र दाजुभाइबीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । जनै पूर्णिमाको अवसरमा संघीय सरकारले यो वर्ष भने सार्वजनिक बिदा दिएको छ । गत साल संघले बिदा नदिए पनि प्रदेश र केही स्थानीय तहले भने बिदा दिएका थिए ।