काठमाडौं:= पौडेलनिकट नेपाली कांग्रेसको संस्थापनइतर जिल्ला सभापतिहरूले क्रियाशील सदस्यता सूचीका त्रुटि यही भदौ ७ गतेभित्र सच्याउन पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । विधिसम्मत ढंगले त्रुटि सच्याएर सार्वजनिक नगरे भदौ आठ गतेदेखि केन्द्रीय कार्यालय सानेपामा अनशन बस्ने चेतावनी उनीहरूले दिएका छन् । शनिबार पार्टी सभापति शेरबहादुर देउवालाई इमेलमार्फत जिल्ला सभापतिहरूले तीन बुँदे माग पठाएका हुन् ।
‘क्रियाशील सदस्यता सूचीका त्रुटि सच्याउनुपर्ने लगायतका माग ७ गतेभित्र पूरा नभए धर्ना अनशन लगायतका आन्दोलन गर्ने जानकारी सभापतिलाई गराएका छौं,’ नेपाली कांग्रेस काभ्रेका सभापति मधु आचार्यले भन्नुभयो । अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्नुपर्ने, विधि विधान र मापदण्डअनुसार छानविन गरी सदस्यता सूचीलाई अन्तिम रूप दिनुपर्ने र सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिका संशोधन गर्नुपर्ने माग उनीहरूले राखेका छन् । ‘हाम्रो उपरोक्त मागहरूलाई सम्बोधन गर्ने गरी यही भाद्र ७ गतेभित्र आवश्यक कदम नचालिएमा भोलिपल्टदेखि (भाद्र ८ गते) बाट केन्द्रीय कार्यालयमा धर्ना, अनशनलगायत शान्तिपूर्ण आन्दोलनमा उत्रन हामी बाध्य हुने व्यहोरा जानकारी गराउँछौं,’ सभापति देउवालाई इमेलमार्फत पठाइएको मागपत्रमा लेखिएको छ ।
नेपाली कांग्रेसमा क्रियाशील सदस्यतासम्बन्धी विवाद पेचिलो बन्दा आसन्न १४औं महाधिवेशनको कार्यतालिका पटक–पटक संशोधन गरिएको छ । पछिल्लोपटक कांग्रेसले मंसिर ९–१३ सम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सदस्यता विवाद सुल्झाउन पूर्व–महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल र रमेश लेखक रहेको तीन सदस्यीय कार्यदललाई जिम्मा दिएको छ ।
सभापतिको उम्मेदवारीबाट पछि हट्दिन : सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापतिको उम्मेदवारीबाट पछि नहट्ने बताउनुभएको छ । शनिबार काठमाडौंको चन्द्रागिरि नगर समितिले आयोजना गरेको कार्यक्रममा नेता सिंहले आफू सम्पूर्ण रूपले पार्टीको सभापति बन्न सक्षम रहेको भन्दै पछि नहट्ने बताउनुभएको हो । आमजनताको दुःखमा मलमपट्टी लगाउन भए पनि आफू कांग्रेस सभापति बन्नुपर्ने उहाँले बताउनुभयो । ‘आम जनताको दुःखमा मलमपट्टी लगाउन भए पनि म कांग्रेस सभापति बन्नुपर्छ,’ नेता सिंहले भन्नुभयो, ‘सबैलाई मिलाउन सक्ने क्षमता छ । पार्टी सञ्चालन गर्न सक्ने क्षमता छ । म किन पार्टी सभापति नबन्ने ? त्यसैले सभापतिको उम्मेदवारीबाट पछि हट्दैन ।’
नेता सिंहले १३ औं महाधिवेशनपछि अहिले नेपाली कांग्रेस इतिहासकै कमजोर अवस्थामा पुगेको बताउनुभयो । नेतृत्व गलत भएपछि इतिहास बोकेको पार्टी पनि कमजोर हुने बताउँदै उहाँले क्षमता नभएका र काम गर्न नसक्नेलाई फेरि पनि मौका दिए आफ्नो खुट्टामा आफँै बञ्चरो प्रहार गरेसरह हुने टिप्पणी गर्नुभयो । कम्युनिष्टहरूले कांग्रेसलाई सहयोगी पार्टीको रूपमा प्रयोग गर्न खोजेको बताउनुभयो । नेता सिंहले जनता र देशलाई संकट पर्दा कांग्रेसले नै साथ दिने भन्दै कांग्रेस जनताको पार्टी भएको दाबी गर्नुभयो । केही व्यक्तिहरूले आफ्नो स्वार्थका लागि क्रियाशील सदस्यता वितरणमा अनियमितता गर्दा वर्षदेखि पार्टीमा संघर्ष गरेका नेता कार्यकर्ता निराश भएको सिंहले बताउनुभयो ।




















