बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य।

हेटौंडा:= एमाले केन्द्रमा विभाजन भइरहेका बेला बामगती प्रदेशमा भने मिलाप देखिएको छ । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै एमाले आधिकारिक रूपमा फुटेर बुधबार दुईवटा दल बन्न पुग्दा यता बागमतीमा भने लामो समयदेखिको एमाले विवाद टुंगो लागेको हो । केन्द्रमा फुट भएकै दिन प्रदेशमा एकता भएको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलले पार्टी एकतालाई जोगाउने भन्दै संसदीय दलको नेताबाट राजीनामा दिएर माधव नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यलाई दलको नेता बन्नुभएको छ । पौडेलले प्रदेश प्रमुख विष्णु प्रसाईंसमक्ष राजीनामा बुझाएर शाक्यलाई प्रदेशको नयाँ मुख्यमन्त्री बनाउनुभएको हो । योसँगै बागमती प्रदेशमा अब मुख्यमन्त्रीसहितको नयाँ मन्त्रिमण्डल गठन हुने भएको छ । पौडेलले बुधबार संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिनुभएको थियो । मुख्यमन्त्री पौडेलले मन्त्रिपरिषद्को बैठक राखेर मन्त्रीहरूलाई लामो समयदेखि गरेको सहयोगबापत धन्यवाद दिँदै पदबाटसमेत राजीनामा घोषणा गर्नुभएको थियो ।

हाल बागमती प्रदेशमा १०९ सांसदमध्ये एमालेका ५६ जना छन् । त्यसमध्ये ओलीका पक्षमा ३४ र नेपाल पक्षमा २२ सांसद छन् । नेकपा माओवादी केन्द्रसँग २३, नेपाली कांग्रेसको २२, विवेकशील साझाका तीन, नेपाल मजदुर किसान पार्टी र राप्रपाका दुई/दुई तथा एक जना स्वतन्त्र सांसद छन् ।

बागमती प्रदेशको पछिल्लो घटनाक्रमसँगै अब नेपालको पहिलो मुख्यमन्त्रीका रूपमा ६७ वर्षीया अष्टलक्ष्मी शाक्यले पाएकी छन् । सात प्रदेशमा हाल कुनै पनि प्रदेशमा महिला मुख्यमन्त्री रहनुभएको छैन । बागमतीले अष्टलक्ष्मीको अनुभवले खारिनुभएकी नेतृलाई मुख्यमन्त्री पाएको हो । यद्यपि, उहाँको कार्यकाल भने धेरै लामो छैन । वर्तमान प्रदेशसभाको बाँकी करिब डेढ वर्षे कार्यकाल उहाँले मुख्यमन्त्रीका रूपमा चलाउनुहुने छ । उहाँ देशकै अग्रणी महिला नेतृको सूचीमा आउनुहुन्छ ।

शाक्यले आफू कहिल्यै पनि फुट र विभाजनको पक्षमा नलागेको बताउनुभएको छ । ‘म कहिल्यै फुटमा लागिनँ । पार्टीको सामूहिक नेतृत्वमा विश्वास गरें । त्यसले मात्र पार्टी बलियो बन्छ भन्ने मेरो विश्वास हो । यत्रो राजनीतिक परिवर्तन भएको छ, यो उपलब्धिलाई हामीले जोगाउन सकौं ।’

यसैबीच नवनियुक्त मुख्यमन्त्री शाक्यले मन्त्रीमण्डल विस्तार गर्नुभएको छ । विस्तारित मन्त्रीमण्डलमा कृष्ण खनाल सामाजिक विकास मन्त्रालयको जिम्मेवारी र केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भौतिक मन्त्रालयको जिम्मेवारी दिइएको छ ।