काठमाडौं:= एएफसी महिला एसियन कप-२०२२ छनोटको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार नेपालले पहिलो खेल फिलिपिन्ससँग खेल्ने जनाएको छ । छनोटको समूह एफमा रहेको नेपाल र फिलिपिन्सबीचको खेल सेप्टेम्बर १८ मा हुनेछ ।
यस्तै नेपालले दोस्रो खेलमा हङकङको सामना गर्नेछ । उक्त खेल सेप्टेम्बर २१ मा हुनेछ । यस समूहको फिलिपिन्स र हङकङबीचको खेल सेप्टेम्बर २४ मा हुनेछ । छनोटका सबै खेल उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछ ।
समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ । छनोटका लागि नेपालले तयारी गरिरहेको छ । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बन्द प्रशिक्षणमा २८ खेलाडीलाई प्रशिक्षण दिइरहनुभएको छ । यसै हप्ता नियमित राष्ट्रिय टोलीबाट खेल्दै आउनुभएकी रेखा पौडेलसहित एएफसी १७ खेलाडीलाई बन्द प्रशिक्षणबाट बाहिरिएका थिए ।
पछिल्लो पटक राष्ट्रिय टोलीमा रहँदै आएकी रेखालाई पनि कोरोना संक्रमण भएको थियो । प्रशिक्षणमा जोडिएको केही दिनमा नै उहाँलाई संक्रमण भएको थियो । यस्तै राष्ट्रिय टोलीकै डिफेन्डर कविता धिमाल पनि आर्मीबाट शान्ति सेना मिसनमा रहेकाले प्रशिक्षणमा उपस्थित रहनुभएन ।
त्यसबाहेक सावित्री किसान, सपना राई, सिर्जना चेम्जोङ, रविना गोले, सुष्मा तामाङ, सुनिता चौधरी, सपना लामा, घिमकुमारी गुरुङ, सिर्जना खड्का, निर्मला विक, निर्मला उपाध्याय, दीपा न्यौपाने, शिवानी कुसुवार, सरस्वती हमाल, कुसुम खतिवडा, सलोनी राना मगर र चुमालुङ्मा राई टोलीबाट बाहिरिनुभएको छ ।
अब बन्द प्रशिक्षणमा अञ्जना राना मगर, एन्जिला सुब्बा, उषा नाथ, अमिशा कार्की, अमृता जैसी, अनिता बस्नेत, अनिता केसी, अञ्जली वाइबा, विमला विक, विमला चौधरी, दिपा राई, गीता राना, हिमा चौधरी, हिरा भुजेल, इन्द्र राई, मनिषा राउत, मञ्जली थोकर, निशा थोकर, प्रीति राई, पूजा राना, पुनम जर्गा मगर, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटी, सविता राना, सरु लिम्बू, शर्मिला थापा र सिर्जना सिंह रहनुभएको छ ।




















