दोस्रो चरणमा २८ खेलाडी छनोट।

काठमाडौं:= नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणका लागि दोस्रो चरणमा २८ खेलाडीलाई छनोट गरिएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले १० खेलाडीलाई बन्द प्रशिक्षणबाट बाहिर राख्नुभएको हो । दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) च्याम्पियनसिपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली हाल कास्कीको पोखरामा रहेको छ ।

बन्द प्रशिक्षणबाट बाहिरिने खेलाडीहरूमा भरत खवास, जर्ज प्रिन्स कार्की, रजिन धिमाल, विशाल सुनार, रन्दीप पौडेल, राजीव लोप्चन, सञ्जोग राई, त्रिदेव गुरुङ, सेसेहाङ आङदम्बे र विक्रम लामा रहनुभएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

बन्द प्रशिक्षणका लागि छनोट भएका खेलाडीहरूमा किरण लिम्बू, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, अर्पण कार्की, सुमन अर्याल, दिनेश राजंवशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरजज्यू ठकुरी, सुमन लामा, कमल थापामगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, मनिष डाँगी, अञ्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ, आशिष लामा, अभिषेक रिजाल र शिशिर लेखी रहनुभएको छ ।

फुटबल टोलीले हाल पोखरा रंगशालामा अभ्यास गरिरहेको छ । उक्त टोलीले साफ च्याम्पियनअघि भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ । नेपालले दशरथ रंगशालामा भारतसित आगामी भदौ १७ र २० गते मैत्रीपूर्ण खेल खेल्नेछ । तेह्रौं संस्करणको दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) आगामी असोज १५ देखि २७ गतेसम्म माल्दिभ्समा हुने तय भएको छ । प्रतियोगिता आयोजना गर्नका लागि नेपाल र माल्दिभ्सले दक्षिण एसियाली फुटबल महासंघसमक्ष प्रस्ताव राखेकामा माल्दिभ्सले अनुमति पाएको हो ।

यसअघि १३औं संस्करणको साफ च्याम्पियनसिप बंगलादेशमा गर्ने तय भएको थियो । बंगलादेशले कोरोनाका कारण साफ च्याम्पियनसिप आयोजना गर्न नसक्ने जनाएको थियो । नेपालले सन् १९९७ र सन् २०१३ मा साफ च्याम्पियनसिप आयोजना गरेको थियो । माल्दिभ्सले भने सन् २००८ मा उक्त प्रतियोगिता आयोजना गरेको थियो । त्यतिबेला माल्दिभ्सले श्रीलंकासित मिलेर संयुक्तरूपमा उक्त प्रतियोगिता आयोजना गरेको थियो ।

काठमाडौंमा एक महिनाको प्रशिक्षणपछि गत साउन २७ साउनदेखि नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षण पोखरामा सुरु भएको थियो । पोखरामा दुई साताका लागि पोखराको अन्तर्राष्ट्रिय फुटबल रंगशालामा बन्द प्रशिक्षण जारी रहेको छ ।

राजधानीबाहिर पर्यटकीय सहर पोखरामा सञ्चालन हुने प्रशिक्षणले खेलाडीलाई शारीरिक र मानसिकरूपमा तयार बन्न र उच्चस्तरको खेल प्रतिभा देखाउन सक्षम बनाउने विश्वास लिइएको छ । टोलीले पोखरामा अन्तर्राष्ट्रिय फुटबल रंगशालासहित नेपाली सेनाको विजयपुर ब्यारेक, सशस्त्र प्रहरीको खेलमैदान र सहारा एकेडेमीको मैदानमा अभ्यास गर्नेछ ।

साफअघि नेपाली टोलीले भारतसँग दुई मैत्रीपूर्ण खेलसमेत खेल्नेछ । नेपालले भारतसित त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आगामी भदौ १७ र २० गते खेल्ने तय भएको छ ।

यसै हप्ता फिफा बरियतामा नेपालले तीन स्थान सुधारसमेत गरेको थियो । विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको पुरुष फुटबलको नयाँ बरियतामा नेपालले तीन स्थान सुधार गर्दै १६८औं स्थानमा उक्लिएको हो । यसअघि नेपाल १७१औं स्थानमा रहेको थियो ।

नेपाल दक्षिण एसियाली राष्ट्रको बरियतामा तेस्रो स्थानमा छ । गत मे महिनाको अन्तिममा पछिल्लो पटक फिफाको बरियता सार्वजनिक हुँदा नेपालको अंक ९६८ रहेको थियो । अहिलेको नयाँ बरियतामा नेपालले चार अंक बटुल्दै ९७२ बनाएको छ ।

नेपालले तीन स्थान सुधार गरेपछि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खुसी व्यक्त गर्नुभएको छ । उहाँले एन्फा, खेलाडी समर्थकहरूलाई यस सुधारका लागि बधाई दिँदै आगामी दिनमा अझै राम्रो गर्दै जाने प्रतिबद्धता जनाउनुभएको छ ।

नेपालभन्दा अगाडि भारत र माल्दिभ्स रहेका छन् । भारत १०५औं स्थानमा छ भने माल्दिभ्स १५८औं स्थानमा रहेको छ । नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेका छन् । बंगलादेश १८८औं स्थानमा छ भने भुटान १८७औं स्थानमा छ । त्यस्तै पाकिस्तान १९८औं स्थानमा रहँदा श्रीलंका २०५औं स्थानमा छ ।