काठमाडौं:= नयाँ पारिवारिक टेलिशृंखला ‘बाटुली’ प्रसारणमा आएको छ । आर्टिस्ट खबर मिडियाले निर्माण गरेको यस टेलिशृंखला न्युज नेपाल एचडी टेलिभिजनमा हरेक मंगलबार साँझ ७ः३० मा प्रसारण हुनेछ । पहिलो शृंखला गएको मंगलबार (भदौ १) गते प्रसारण भएको हो ।
सञ्चारकर्मी गोपिकृष्ण चापागाईं र नवराज अधिकारीको निर्देशनमा तयार भएको ‘बाटुली’ टेलिशृंखला झण्डै २५ वर्ष पुरानो कथामा निर्माण गरिएको बताइएको छ । मोबाइल युगभन्दा अघि नेपाली गाउँसमाजमा सासू र बुहारीबीच हुने विभेदलाई टेलिशृंखलामा हेर्न सकिने निर्देशक गोपिकृष्णले जानकारी दिनुभयो । उहाँँले भन्नुभएको छ, ‘पछिल्लो समय नेपालमा धेरै टेलिशृंखला निर्माण भइरहेको समयमा हामीले पुरानो कथालाई उठान गरेका छौं ।’ टेलिशृंखलाको कथा पनि गोपिकृष्णले लेख्नुभएको हो ।
टेलिशृंखलाको निर्माण नेपालको मध्य जिल्ला नवलपरासी पूर्व (नवलपुर) मा गरिएको अर्का निर्देशक तथा व्यवस्थापक नवराज अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार नवलपुरको देवचुली नगरपालिका वडा नं. ४ र ५ को झाँक्रेगाउँमा छायाँकन गरिएको छ । सुरुमा ४ भाग छायाँकन भइसकेको बताइएको छ ।
टेलिशृंखला ‘बाटुली’ मा लोकप्रिय अभिनेत्री मौसमी मल्ल सासूको भूमिकामा हुनुहुन्छ भने सीपी पौडेललाई ससुराको भूमिकामा देख्न सकिनेछ । यस्तै कलाकार संगम भुसालले बुहारीको भूमिका निभाउनुभएको छ । यस्तै खगराज सापकोटा, नारायण प्रभु, नवराज अधिकारी, राशि रिजाल, समीक्षा लामिछाने, बाल कलाकार खुसी अर्याललगायतको अभिनय रहेको छ । अनिल लामिछानेको छायाँकन रहेको टेलिशृंखला ‘बाटुली’ मा शारदा पौडेलको शृंगार रहेको छ भने वीरेन्द्र भाट विपिनको सम्पादन रहेको छ । टेलिशृंखला ‘बाटुली’ मा निरज पन्थीको सहायक निर्देशन रहेको छ । बाटुली आर्टिस्ट खबरको युट्युबमा मंगलबार साँझ ८ बजेबाट हेर्न सकिनेछ ।




















