अफगानिस्तानबाट मंगलबार आए ११८ नेपाली, अझै धेरै उद्धारको पर्खाइमा।

काठमाडौं := अफगानिस्तानलाई तालिवानीले नियन्त्रणमा लिएपछि त्यहाँ रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याउन नेपाल सरकारले सुरुवात गरेको छ । अफगानिस्तानको राजधानी काबुलबाट चार्टर्ड उडान गरी मंगलबार ११८ नेपालीलाई पहिलो चरणमा स्वदेश ल्याएको परराष्ट्र मन्त्रालयले ट्वीटमार्फत जनाएको छ । उनीहरूलाई अमेरिकी सरकारले उद्धार गरेर नेपाल पठाएको हो । उनीहरू अफगानिस्तानको राजधानी काबुलबाट दोहा, कुबेत हुँदै मंगलबार बिहान काठमाडौं आइपुगेका हुन् ।

अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३८५ नेपालीलाई अमेरिकाले त्यहाँबाट उद्धार गरी कतारको दोहा पु¥याएको थियो । तीमध्ये ११८ जना मंगलबार बिहान नेपाल आइपुगेका हुन् । उनीहरूलाई अल–जजिरा एयरवेजमार्फत नेपाल ल्याइएको हो ।

अफगानिस्तानबाट स्वदेश फर्किएका नागरिकहरूले अमेरिका दूतावासमा रहेका कारण आफूहरूलाई समस्या नभएको प्रतिक्रिया दिएका छन् । धनगढीका कृष्ण तामाङ बाहिर समस्या भए पनि अमेरिकी दूतावासमा कुनै समस्या नभएकाले गाह्रो नभएको बताउनुभयो ।

सरकारले त्यहाँ रहेका नेपाललाई सकुशल उद्धारका लागि समन्वयात्मक ढंगले काम गर्न आफ्ना मातहतका निकायलाई निर्देश गरिसकेको छ । सोमबार भएको मन्त्रिपरिषद् बैठकले त्यहाँ रहेका नेपालीको शीघ्र उद्धार गर्ने निर्णय गरेको थियो ।

अफगानिस्तानको विकसित घटनाका कारण त्यहाँ रहेका नेपालीको वस्तुगत अवस्था पत्ता लगाई उनीहरूको उद्धार गर्न सरकारले शनिबार एक कार्यदल गठन गरेको थियो ।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको घोषणासँगै त्यहाँ द्वन्द्व झन् चर्किएको छ । विद्रोही तालिवान समूहले त्यहाँको सत्ता फेरि कब्जामा लिएको छ । राष्ट्रपति असरफ घानी देश छाडेर हिँडिसक्नु भएको छ । त्यहाँ अझै थुप्रै नेपाली उद्धारको पर्खाइमा रहेको बताइएको छ ।

अफगानिस्तानमा रहेका नेपालीलाई फर्काउन भारतस्थित नेपाली दूतावासलाई परिचालन गर्दै आएको नेपाल सरकारले पाकिस्तानमा रहेको नेपाली दूतावासलाई पनि परिचालन गरेको छ । यूएन एजेन्सीहरूसँग समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आएको सूचनाको आधारमा बढीभन्दा बढी विकल्पमा नेपालीको उद्धार गर्न काम भइरहेको मन्त्रालय प्रवक्ता सेवा लम्सालले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘भारत र पाकिस्तानमा रहेका दूतावासहरूको परिचालनसँगै यूनएन एजेन्सीहरूसँग समन्वय भइरहेको छ । बढीभन्दा बढी विकल्पमा नेपालीको उद्धार गर्ने काममा जुटिरहेका छौं ।’

अफगानिस्तानमा कार्यरत नेपालीहरूमध्ये १६५ जना यसअघि नै स्वदेश फर्किइसकेको अध्यागमन विभागले जनाएको छ । अझै धेरै नेपाली उद्धारको पर्खाइमा छन् ।