राजेश हमालको नाममा चलचित्र बन्ने।

काठमाडौं:= नेपाली दर्शकबाट महानायकको उपाधि पाउनुभएका राजेश हमालको नाममा चलचित्र बन्ने भएको छ ।  अभिनेता हमालले पनि चलचित्रमा केही विशेष भूमिकामा अभिनय गर्ने बताइएको छ । चलचित्रमा मुख्य कलाकार भने अन्य रहने बुझिएको छ ।

निर्माता केदार भुषालले ‘म राजेश हमाल’ नाममा चलचित्र बनाउन लाग्नुभएको हो । चलचित्रमा राजेश हमाललाई अतिथि भूमिकामा देखाउने तयारीमा निर्माण टिम छ । तर, राजेशसँग केही चरण कुराकानी भइसके पनि कागजी सम्झौता भएको छैन । हमालले निर्मातासँग बिहीबारसम्मको समय मागेको बताइएको छ ।

अभिनेता हमालले चलचित्रबारे पूरा निर्णय भने दिइसक्नुभएको छैन । आउँदो बिहीबारसम्मका लागि समय माग्नुभएको राजेशसँग मौखिक सहमतिमात्र भएको हो । विक्रम लामा (जोन योञ्जन) ले निर्देशन गर्ने चलचित्रमा सञ्चिता लुईँटेल, मुकुन भुसाल, महेश त्रिपाठी, एवनराज उप्रेती, सञ्जोग रसाइली, अस्मिता लामिछाने मुख्य भूमिकामा अनुबन्ध भइसक्नुभएको छ ।

निर्माता भुषालले चलचित्र राजेश हमालको जीवनीमा आधारित नहुने बताउनुभएको छ । राजेशको नाम लिएर बनाउने तर जीवनीमा आधारित नभए पनि क्यारेक्टरको मोटिभ भने राजेशसँग नै मिल्ने बताइएको छ ।  आउँदो भदौ २० गते धनगढीबाट छायाँकन सुरु हुन लागेको चलचित्रमा अतिथि भूमिकाका लागि अभिनेता आर्यन सिग्देललाई पनि अफर गरिएको छ । योभन्दा अघि सन् २०११ मा ‘मेरो राजेश दाइ’ नाममा पनि चलचित्र निर्माण भएको थियो । जसमा राजेश स्वयं मुख्य भूमिकामा हुनुहुन्थ्यो ।