मेस्सीबिनाको बार्सिलोनाको सानदार जित।

बार्सिलोना:= लियोनल मेस्सीबिना यो सिजनको ला लिगाको सुरुवात गरेको बार्सिलोनाले आइतबार राति भएको पहिलो खेलमा रियल सोसिडालाई ४–२ ले पराजित गरेको छ । अघिल्लो हप्तामात्रै मेस्सीले बार्सिलोना छाड्नुभएको थियो । १७ वर्ष बार्सिलोनामा बिताउनुभएका मेस्सीले पेरिस सेन्ट जर्मनसँग सम्झौता गरिसक्नुभएको छ ।

बार्सिलोनाको जितमा मार्टिन ब्रेथवेटले २ तथा जेरार्ड पिके र सर्जी रोबर्टाेले गोल गर्नुभएको थियो । सोसिडाका जलेन लोवेटे र मिकेल ओयार्जावालले गोल फर्काउनुभयो ।

बार्सिलोनाले दुवै हाफमा २-२ गोल गरेको थियो । सोसिडा ३ गोलले पछि परेको स्थितिबाट लगातार दुई गोल गरे पनि खेलबाट कुनै अंक जोड्न सकेन । बार्सिलोनाका लागि फरवार्ड मेम्फिस डिपाए र डिफेन्डर एरिक गार्सियाले डेब्यु गर्नुभएको थियो ।

खेलको १९औं मिनेटमा डिपाएकै फ्रिकिकमा जेरार्ड पिकेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाउनुभयो । इन्ज्युरी समयको दोस्रो मिनेटमा ब्रेथवेटले सिजनको पहिलो गोल गर्नेक्रममा बार्सिलोनाको अग्रता दोब्बर पार्नुभएको थियो । खेलको ५९औं मिनेटमा ब्रेथवेटले व्यक्तिगत दोस्रो गोल गर्नुभयो ।

८२औं मिनेटमा लोबेटेले गोल गर्दै सोसिडालाई खेलमा फर्काउन गरेको प्रयासमा त्यसको तीन मिनेटपछि नै मिकेल ओयाराज्बालले गोल गर्दै अग्रता दोब्बर पार्नुभयो । इन्ज्युरी समयको दोस्रो मिनेटमा सर्जी रोबर्टोले गोल गर्दै बार्सिलोनाको जित पक्का गर्नुभयो ।

यस्तै ला लिगाको पहिलो खेलमा करिम बेन्जेमाको दुई गोलको सहयोगमा रियल म्याड्रिडले डिपोर्टिभो एलाभेसमाथि उसकै मैदानमा ४–१ को सानदार जित निकालेको थियो । रियलको जितमा बेन्जेमाले दुई तथा नाचो फर्नान्डेस र भिनि जुनियरले समान एक गोल गर्नुभयो भने एलाभेसका जोसेलुले पेनाल्टीमार्फत् एक गोल फर्काउनुभयो ।

पहिलो हाफको खेल गोलरहित बराबरीमा रोकिए पनि दोस्रो हाफको ४८औं मिनेटमा ग्यारेथ बेलको क्रसमा इडेन हाजार्डले मिलाइदिएको फ्लिक पासमा बेन्जेमाले भलीमार्फत् सुन्दर गोल गर्नुभएको थियो । ५६औं मिनेटमा नाचो फर्नान्डेसले गोल गर्दै रियलको अग्रता दोब्बर पार्नुभयो ।

६२औं मिनेटमा बेन्जेमाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्नुभयो । यस्तै इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सब्सिच्युट ब्राजिली विंगर भिनि जुनियरले गोल गर्दै रियललाई ४–१ को फराकिलो जित दिलाउनुभयो । यो जितपछि रियलले तीन अंक जोडेको छ ।