राजनीतिक भेटघाटमा व्यस्त पारस।

काठमाडौं:= दुई सातामात्रै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा गर्नुभएका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले राजनीतिक भेटघाट सुरु गर्नुभएको छ । खेलाडी जीवनपछि नेपाल क्रिकेट संघ (क्यान) मा आउने इच्छा व्यक्त गर्नुभएका पारसले राजनीतिक भेटघाट थाल्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

शनिबारमात्रै पारसले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा गरेको दुई सातापछि पारसले प्रधानमन्त्रीसँग भेट गर्नुभएको हो । पारसले प्रधानमन्त्रीसँग क्रिकेट विकासका बारेमा छलफल गरेको जनाउनुभएको छ ।

देउवाले पारसलाई सन्न्यासपछिको दोस्रो इनिङमा पनि सफलता मिलोस् भन्दै शुभकामनासमेत व्यक्त गर्नुभएको थियो । भेटका क्रममा देउवाले नेपाली क्रिकेटलाई सरकारको सदैव साथ रहने बताउनुभएको थियो । प्रधानमन्त्री देउवाले पूर्वकप्तान खड्कासँग भएको भेटको तस्बिर ट्विटरमा सार्वजनिक गर्नुभएको छ ।

‘दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक ती सफलता, नेपालीले कहिल्यै नभुल्ने ती रोमाञ्चक जित र हामीलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा पारसलाई धन्यवाद,’ प्रधानमन्त्री देउवाले लेख्नुभएको छ, ‘नेपाल र नेपालीको शिर उचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस् । सरकारको साथ र सहयोग सधैं रहनेछ ।’

प्रधानमन्त्रीले क्रिकेट विकासमा सहयोग गर्ने आश्वासन दिएको र सधैं दिने गरेको वाचालाई पारसले धन्यवाद दिनुभएको छ । पारसले आगामी दिनमा नेपाली क्रिकेटको विकासमा सहयोग पु¥याउनेबारे प्रधानमन्त्री देउवासँग छलफल भएको उल्लेख गर्नुभएको छ ।

यसअघि गत बिहीबार पारसले सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मासँग समेत भेटभाट गर्नुभएको थियो । पारसले खेलाडीका रूपमा सक्रिय हुँदा पनि भविष्यमा व्यवस्थापनमा आउने इच्छा गरिसक्नुभएको छ । आफ्नो सोही कदम पूरा गर्न पारसले राजनीतिक भेटघाट तीव्र बनाउनुभएको हो ।

‘खेलाडीका रूपमा जति गर्न सकिन्छ गरें, सायद मैले गर्न सक्ने यही थियो’, पारसले सन्न्यास घोषणा गर्दै भन्नुभएको थियो, ‘आगामी दिनमा व्यवस्थापकका रूपमा सबैसँग मिलेर देशको क्रिकेट विकास गर्न लाग्नेछु ।’

२०७६ को असोजमा निर्वाचनमार्फत् क्यानमा चतुरबहादुर चन्दको नेतृत्व आएपछि पारसले कप्तानबाट राजीनामा दिनुभएको थियो । दुई साताअघि उहाँले सक्रिय खेल जीवनबाटै सन्न्यास घोषणा गर्नुभयो । क्यानको विधानअनुसार कुनै पनि खेलाडी निर्वाचित हुँदै नेतृत्वमा पुग्न खेलजीवनबाट कम्तीमा दुई वर्षअघि नै सन्न्यास लिएको हुनुपर्ने व्यवस्था छ । त्यसैको तयारीका लागि पारसले सन्न्यास लिनुभएको हो ।

जिल्लादेखि केन्द्रसम्मको नेतृत्वका लागि दलगत राजनीतिको प्रभाव खेलका संघहरूमा रहने गरेको छ । क्यान पनि त्यसबाट अछुतो छैन । राजनीतिक दलहरूको साथ आवश्यक रहेको बुझ्नुभएका पारसले राजनीतिक व्यक्तिहरूसँगको भेटघाट बाक्लो बनाउनुभएको हो ।

केही वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले क्यानलाई निलम्बनमा राख्दा पारसले केही हदसम्म व्यवस्थापकीय भूमिका पनि निर्वाह गर्नुभएको थियो ।

‘क्रिकेट छोडिसकेपछि मैले धेरैपटक भनिसकेको छु मलाई व्यवस्थापनमा आउन मन छ । कुनै न कुनै भूमिकामा मैले आफूलाई देखेको छु । त्यसका लागि आफूलाई तयार पार्नेछु,’ पारसले सन्न्यास घोषणा गर्दै भन्नुभएको थियो, ‘मान्छेहरू पारस क्यानमा आउनुपर्छ । पारसले सबै गर्छ भन्छन् । तर, पारस खड्कामात्रै क्यानमा आएर केही हुँदैन । पारस खड्काले गर्दा मात्रै नेपाली क्रिकेट यहाँ आएको होइन । मलगायत धेरै खेलाडी छन् । सबैको मिहिनेतले यहाँसम्म आइपुगेको हो । आगामी दिनमा मेरो अनुभव तथा ज्ञानका आधारमा टिमलाई एक ठाउँमा लिएर नेपाललाई अझै बलियो पार्ने प्रयास गर्नेछु ।’

पारसले सकेसम्म क्यानको नेतृत्वमै आउन प्रयास गर्ने बताउनुभएको छ । तर, आफू कुन भूमिकामा आउने त्यो अहिले प्रष्ट नभएको उहाँ बताउनुहुन्छ ।

‘अहिले कुन भूमिका हुन्छ, मैले निर्णय लिइसकेको छैन मेरो भूमिका भनेको क्रिकेट खेलमा जसरी पनि हुन्छ । प्रशासन हुन सक्छ, कोचिङ स्टाफ हुन सक्छ,’ उहाँ भन्नुहुन्छ, ‘काम गर्नुप¥यो, जुनसुकै भूमिकामा भए पनि क्रिकेट राम्रो होस् भन्ने मेरो चाहना हो । कति मान्छेहरूले क्यानमा नभएर पनि राम्रो काम गरिरहेका छन् । मैले सोचमात्रै बनाएको हुँ, अहिले ने कुन पदमा पुग्छु भन्ने निर्णय गरिसकेको छैन । क्रिकेटमा राम्रो गर्छु भन्ने सोच छ । त्यो सोचले नेपाली क्रिकेटलाई फाइदा पुग्छ भन्नेमा म विश्वस्त छु ।’

पारस नेपाली क्रिकेटका सर्वाधिक सफल खेलाडी हुनुहुन्छ । पारस खड्काले सन् २००९ देखि २०१९ सम्म १० वर्ष नेपाली क्रिकेट टोलीको कप्तानी गर्नुभएको थियो । अलराउन्डर भूमिकामा खेल्नुहुने उहाँ दायाँ हाते ब्याट्सम्यान र बायाँ हाते बलर हुनुहुन्थ्यो । मलेसियाविरुद्ध २००४ मा उहाँले नेपाली सिनियर टोलीमा डेब्यु गर्नुभएको हो । नेपालका लागि पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेट खेल्ने ११ मध्ये उहाँ एक खेलाडी हुनुहुन्छ । नेपालले २०१८ को अगस्टमा आफ्नो पहिलो ओडीआई नेदरल्यान्ड्ससँग खेलेको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने पारस खड्का छैटौं नेपाली क्रिकेटर हुनुहुन्छ । २०१२ मा कुवेतविरुद्ध ७७ बलमा १०६ रनको पारी खेल्दै उहाँले पहिलो शतक प्रहार गर्नुभएको थियो । उहाँको कप्तानीमा नेपालले २०१० को डिभिजन ५, २००४ को डिभिजन ४, २०१२ को एसीसी ट्रफी इलिट, २०१३ को डिभिजन थ्री, २०१४ को डिभिजन थ्री जितेको थियो भने २०१४ को टी–२० विश्वकप खेल्दै टी–२० अन्तर्राष्ट्रियको मान्यतासमेत हासिल गरेको थियो ।