भुटानी शरणार्थीहरूलाई किरणको सहयोग।

काठमाडौं:= ‘द भ्वाइस अफ नेपाल’ को तेस्रो संस्करणका विजेता किरण गजमेरले आफ्नो जन्मस्थलमा पुगेर सहयोगी काम गर्नुभएको छ । इन्ट्रा नेसनल वेलफेयर फाउन्डेसन अफ अमेरिकाको आयोजनामा आफ्नो जन्मथलोमा रहेका भुटानी शरणार्थीहरूलाई सहयोग तथा बधाई ज्ञापन कार्यक्रममा सहभागी हुनका लागि गजमेर त्यहाँ पुग्नुभएको हो ।

बिहीबार इन्ट्रा नेसनल वेलफेयर फाउन्डेसन अफ अमेरिकाद्वारा तय भएका विभिन्न कार्यक्रमका लागि पूर्व पुग्नुभएका उहाँले भुटानी शिविर पथरीमा रहेका अशक्त र वृद्धवृद्धाहरूलाई जनही पाँच हजारका दरले भत्तासमेत दिनुभएको छ । त्यहीक्रममा उहाँले हरेक महिना आजीवन भत्तासमेत उपलब्ध गराउने इन्ट्रा नेसनल वेलफेयर फाउन्डेसन अफ अमेरिकाका रुद्र बानियाँले जानकारी गराउनुभएको छ ।

त्यस्तै बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा पनि किरणका लागि स्वागत कार्यक्रमको आयोजना गरिएको थियो । त्यहाँ इन्ट्रा नेसनल वेलफेयर फाउन्डेसन अफ अमेरिकाले वृद्धाश्रम निर्माण गरेको छ । किरणले सो ठाउँबाट एउटा एम्बुलेन्स सहयोग गर्ने घोषणा गर्नुभएको छ । उहाँले इन्ट्रा नेसनल वेलफेयर फाउन्डेसन अफ अमेरिकाको सहकार्यमा पश्चिममा एक र पूर्व पथरी र झापामागरी दुई एम्बुलेन्स प्रदान गर्नुहुनेछ ।

पूर्वी नेपाल पुग्दा किरणले प्रदेश १ मा पहिलो स्वागत मुख्यमन्त्री शेरधन राईबाट पाउनुभयो । विराटनगरस्थित मुख्यमन्त्रीको कार्यालयमै एक कार्यक्रम गरी गजमेरलाई मुख्यमन्त्री राईले स्वागत तथा सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा इन्ट्रा नेसनल वेलफेयर फाउन्डेसन नेपाल च्याप्टरका अध्यक्ष अभिनेता दिलिप रायमाझी, अभिनेताहरू  रमित ढुंगाना र सञ्जित भण्डारी, समाजसेवी सुरेन्द्र शेर्मालगायतको पनि उपस्थिति रहेको थियो ।