काठमाडौं:= एडभेन्चर रियालिटी शो ‘हिमालय रोडिज’ को चौथो संस्करणको औपचारिक घोषणा गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच आयोजक तथा प्रायोजकसँग सम्झौतापत्रमा हस्ताक्षरसँगै सिजन ४ को प्रोमो पनि सार्वजनिक गरियो । कार्यक्रम गएका सिजनजस्तै हिमालय टेलिभिजनबाटै प्रसारण हुनेछ ।
यसपटक पनि टाइटल स्पोन्सरमा यामाहालाई निरन्तरता दिएको छ । यो सिजनको थिम ‘सिजन अफ सर्भाइभल’ राखिएको छ । कोरोना महामारीको दोस्रो लहरका कारण निर्धारित मितिभन्दा केही ढिला सुरु हुन लागेको यो ‘रियालिटी शो’ को निर्देशकमा यसअघि फिल्ममा एक्सन कट गरिसकेका निर्देशक सिमोश सुनुवार आउनुभएको छ । यसअघिका तीन सिजन अमनप्रताप अधिकारीले निर्देशन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै सुनुवारले आफ्नो निर्देशनमा फ्रेञ्चाइजको फम्र्याटअनुसार सिधा परिवर्तन ल्याउन नमिले पनि दर्शकलाई आफ्नो मिहिनेतमा केही फरक स्वाद दिलाउने बताउनुभयो । नयाँ सिजन युवापुस्ताको संघर्षमा केन्द्रित रहने उहाँको भनाइ छ । आजैबाट डिजिटल अडिसन पनि सुरु भएको छ । कोरोना कहरपछि सुरक्षा मापदण्डका कारण भौतिक उपस्थितिमा अडिसन सञ्चालन गर्ने वातावरण नभएकाले आयोजक हिमालय टेलिभिजनले पहिलोपटक रोडिजमा डिजिटल अडिसनको सुरुवात गरेको हो ।
रोडिज सिजन ४ मा सहभागिता जनाउन चाहनेहरूले एन्ड्रोइड मोबाइलमा रहेको ‘हिमालय रोडिज’ एप्लिकेसन डाउनलोड गरी भिडियो क्लिप पठाउनुपर्नेछ या रोडिजको आधिकारिक फेसबुक पेजबाट पनि सिधै भिडियो पठाएर सहभागिता जनाउन सक्नेछन् ।
रोडिजमा ग्याङ लिडरका रूपमा अभिनेता अनुपविक्रम शाही, दिया मास्के, आशिष राना ‘लाहुरे’, पहिलो संस्करण विजेता समन रहनुभएको छ भने रेमनदास श्रेष्ठले होस्ट गर्नुहुनेछ । चौथो सिजनमा डिजिटल अडिसनको समय २ साता तोकिएको छ । अडिसन सकिएपछि निर्माण टिमले प्रारम्भिक छनोटबाट फिजिकल अडिसनका लागि बोलाउनेछ । कार्यक्रम आगामी असोज पहिलो साताबाट हरेक सोमबार साँझ ८ बजे हिमालय टेलिभिजनबाट प्रसारण हुनेछ ।




















