कांग्रेस महाधिवेशन तीन महिनापछि सर्‍यो।

[ कृष्ण भुसाल ] 

काठमाडौं := नेपाली कांग्रेस महाधिवेशन पाँचौं पटक महाधिवेशन सारेको छ । भदौ १६–१९ गतेका लागि तोकिएको समयमा महाधिवेशन गर्न नसकिने अन्तिम निष्कर्षमा पुगेको सत्तारुढ दल कांग्रेसले १४औं महाधिवेशनको मिति तीन महिना पर सारेको हो ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसमिति बैठकले १४औं महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म गर्ने निर्णय गरेको हो । भदौमा महाधिवेशन गर्न नसेको कांग्रेसको वैधानिकता नै खतरामा पर्ने चर्चाका बीच महाधिवेशनको मिति सारिएको हो । कांग्रेस नेता रामहरि खतिवडाले संविधान, पार्टीको वैधानिकता र राष्ट्रियतालाई जोगाउँदै महाधिवेशनको नयाँ कार्यतालिका तय भएको हिमालय टाइम्सलाई बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कांग्रेस पार्टीलाई पनि बचाउनुपर्नेछ । संविधानलाई पनि जोगाउनुपर्नेछ । राष्ट्रियतालाई पनि बचाउनुपर्नेछ । त्यसैले यो निर्णय भएको हो । महाधिवेशनको कार्यकतालिका हेरफेर भएको हो ।’

भदौ १६ का लागि तोकिएको मितिमा महाधिवेशन गर्ने सम्भावना नभए पनि महाधिवेशनेको नयाँ मिति तय भएको उहाँले बताउनुभयो । संविधानको रक्षाका लागि आफ्नो पार्टी सधंै एकजुट रहेको सन्देश दिँदै सबै नेताहरूको सहमतिमा महाधिवेशनको नयाँ मिति तय भएको उहाँले जानकारी गराउनुभयो । भदौ १८ मा वडा तहको अधिवेशन सुरु गर्नेगरी नयाँ कार्यतालिका सार्वजनिक भएको उहाँको भनाइ छ ।

नयाँ कार्यतालिका अनुसार अब कांग्रेसले वडा तहको अधिवेशन भदौ १८ मा सुरु गर्नेछ । त्यसअघि क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधानका लागि पनि मिति तय भएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार भदौ २ गते क्रियाशील सदस्यहरूको अन्तिम नामावली बुझाउने समय तोकिएको छ । यस्तै भदौ २ गते नै निर्वाचन निर्देशिका बुझाउने, १८ गते वडा अधिवेशन, २७ गते गाउँ नगरपालिका अधिवेशन र असोज १ गते प्रदेश क्षेत्र ‘क’–‘ख’ को अधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक भएको छ । यसैगरी संघीय निर्वाचन क्षेत्रमा असोज ५ गते, जिल्लामा असोज १० गते महाधिवेशन गर्ने कार्यतालिका तयार भएको छ । यस्तै प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गते र केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म तय भएको उहाँले बताउनुभयो ।

संविधानको धारा २६९ (४) (ख) अनुसार कांग्रेस महाधिवेशन भदौ १९ भित्र गरिसक्नुपर्ने बाध्यता थियो । तर, सो मितिमा पार्टीका तल्लो तहको अधिवेशन सुरु गरेर मंसिरमा महाधिवेशन सम्पन्न गर्ने रणनीति कांग्रेसले लिएको हो । नेता प्रदीप पौडेल यो वैधानिक हुने बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘संविधानले दिएको समयसीमाभित्र हामी महाधिवेशन सुरु गर्छौं । पार्टीको अधिवेशन पनि मंसिरका लागि तोकिएको मिति अन्य अधिवेशन कार्यतालिकाका सन्दर्भमा निर्वाचन आयोगलाई जानकारी गराउँछौं । वैधानिकतामा यसले कुनै समस्या गर्दैन् । संविधानले दिएको समयभित्रै भदौ १८ मै वडा अधिवेशन सुरु गर्नेगरी कार्यतालिका आएको छ ।’ कांग्रेसले म्याद सकिन लागेको अवधिमा अधिवेशन सुरु गरेको व्याख्या गर्दै मंसिरमा महाधिवेशन सकाउने निर्णय लिएको हो ।

संविधानको उक्त धारामा भनिएको छ, ‘राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एक पटक सो दलको संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्छ । तर, विशेष परिस्थिति उत्पन्न भई पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसके ६ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिनेगरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्नेछैन ।’ संविधानको यो व्यवस्थानुसार कांग्रेसको कार्यकाल भदौ १९ बाट सकिँदै छ ।

आन्तरिक विवादबीच कांग्रेसले पटक-पटक महाधिवेशनको कार्यतालिका परिमार्जन गर्दै आएको छ । पछिल्लो पटक गत असार ४ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले कार्यतालिका परिमार्जन गरेको थियो ।

जसअनुसार साउन १२ गते गाउँ-नगर वडा अधिवेशन र साउन १६ गते गाउँ-नगर अधिवेशन गर्ने कार्यतालिका थियो ।

यस्तै प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २०, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन साउन २३ मा आयोजना गरिने तय भएको थियो । एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन साउन २६, प्रदेश अधिवेशन भदौ १-२ र केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ काठमाडौंमा गर्ने कांग्रेसको कार्यतालिका थियो ।

तर, क्रियाशील सदस्यताको टुंगो लाग्न ढिलाइ भएको भन्दै साउन ९ गते बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले साउन १२ मा तय भएको गाउँ-नगर वडा अधिवेशन स्थगित गर्ने निर्णय गरेको थियो ।

२०७२ फागुन २० गतेदेखि २३ गतेसम्म भएको १३औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पदावधि पूरा हुने समय नजिकिँदै गर्दा २०७६ फागुन ११ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले २०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्नेगरी पहिलो पटक कार्यतालिका बनाएको थियो ।

पहिलो कार्यतालिका अनुसार २०७७ मंसिर ९ मा गाउँ-नगर वडा अधिवेशन, मंसिर ११ मा गाउँ-नगरपालिका अधिवेशन, मंसिर १५ मा प्रदेशसभा क्षेत्रीय अधिवेशन र मंसिर १७ मा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन निर्धारण गरेको थियो ।

यस्तै जिल्ला अधिवेशन मंसिर २५, प्रदेश अधिवेशन पुस १५ र महाधिवेशन फागुन ७-१० काठमाडौंमा आयोजना गर्ने कार्यतालिका थियो । तर, उक्त कार्यतालिका अनुसार अधिवेशनको प्रक्रिया सुरु हुन नसकेपछि विभिन्न मितिमा कांग्रेसले पटक-पटक महाधिवेशन पछाडि धकेल्दै आएको छ ।

पौडेल भन्नुहुन्छः अहिलेको चुनौती सामना गर्न सहमति गरेका हौं

क्रियाशील सदस्यता विवादका कारण पटक-पटक महाधिवेशन सार्दै आएको कांग्रेसले यो पटक सहमतिमै महाधिवेशनको नयाँ मिति तय गरिएको बताएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको चुनौती सामना गर्न सहमतिअनुसारै निर्णय गरिएको बताउनुभयो । अहिले पार्टी चुनौतीपूर्ण अवस्थामा रहेकाले एकताबद्ध ढंगले अघि बढ्ने आवश्यकता अनुसार महाधिवेशनको नयाँ मिति सहमतिमै टुंगिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको चुनौती सामना गर्न कांग्रेसभित्र एकताको आवश्यकता अनुसार संवैधानिक दायित्व पूरा गर्दै महाधिवेशनको नयाँ मिति तय भएको हो । यसले पार्टीको वैधानिकता, लोकतान्त्रिक चरित्र र संविधानको रक्षा गर्न सहयोग गर्छ । अहिले एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता थियो । सोहीअनुसार निर्णय भएको छ ।’

क्रियाशील सदस्यका सन्दर्भमा देखिएको विवाद समाधानमा केन्द्रित भएर नयाँ कार्यतालिका अनुसार पार्टी महाधिवेशनमा अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।

सदस्यता विवाद टुंगोमा पुर्‍याउन विशेष कार्यदल

कांग्रेसले महाधिवेशनको नयाँ मिति तय गरेसँगै क्रियाशील सदस्यतासम्बन्धी देखिएको विवादलाई अन्तिम रूप दिन विशेष कार्यदल बनाएको छ । तीन सदस्य रहेको कार्यदललाई सदस्यतासम्बन्धी देखिएको विवाद हल गर्ने जिम्मेवारी दिइएको छ । कार्यदलमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, डा.मिनेन्द्र रिजाल र रमेश लेखक हुनुहुन्छ ।

यसअघि विवाद समाधान कार्यदलले गरेका कामका आधारमा थप छानविन गरी अन्तिम समाधान गर्नेगरी सहमति जुटाउन कार्यदललाई निर्देश गरिएको छ । लेखक यसअघि क्रियाशील सदस्यता छानविन समितिको संयोजक हुनुहुन्थ्यो । यस्तै सिटौला र रिजालले क्रियाशील विवाद समाधानका लागि शीर्ष तहमै काम गर्नुभएको थियो ।

कार्यतालिका संक्षेप

क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने मितिः २०७८/५/२

निर्वाचन निर्देशिका बुझाउनेः मिति २०७८/५/२

वडा अधिवेशन गर्ने मितिः २०७८/५/१८

गाउँ÷नगरपालिका अधिवेशन गर्ने मितिः २०७८/५/२७

प्रदेश क्षेत्र ‘क’-‘ख’ अधिवेशन गर्ने मितिः २०७८/६/१

संघीय निर्वाचन क्षेत्र अधिवेशन गर्ने मितिः २०७८/६/५

जिल्ला अधिवेशन गर्ने मितिः २०७८/६/१०

प्रदेश अधिवेशन गर्ने मितिः २०७८/७/१०-१२

केन्द्रीय महाधिवेशन गर्ने मितिः २०७८/८/९-१३