प्रचण्डको राजनीतिक प्रस्तावः पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने।

काठमाडौं:= नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक र संगठनात्मक प्रस्ताव पेस गर्नुभएको छ । काठमाडौंमा शनिबार बसेको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले उक्त प्रस्ताव पेस गर्नुभएको हो । बैठकमा राष्ट्रिय सम्मेलन आयोजना गर्ने प्रस्तावदेखि गठबन्धनलाई आगामी निर्वाचनसम्म कायम राख्ने प्रस्ताव गरिएको छ । यस्तै आगामी पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरिएको छ ।

‘केपी ओलीको प्रतिगमनका विरुद्ध संघर्षकै क्रममा वाम लोकतान्त्रिक गठबन्धन निर्माण भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि प्रहार गर्दै प्रतिगमन गर्ने ओली प्रवृत्तिलाई गठबन्धनले पराजित गरेको छ । यसलाई नरुचाउने शक्तिहरू गठबन्धनलाई कमजोर पार्ने र भत्काउन लागिपरेका छन्’, उहाँले पेस गरेको प्रतिवेदनमा भनिएको छ, ‘अहिलेको लोकतान्त्रिक राजनीतिक प्रणाली, संविधान र राष्ट्रियताको रक्षा गर्दै देशमा आर्थिक समृद्धि, स्थायित्व र सुशासन कायम गर्न निर्माण गरिएको गठबन्धनलाई यही रूपमा बुझ्ने र आगामी निर्वाचनसम्म कम्तीमा कायम राख्ने पार्टीको नीति हुनेछ ।’

प्रचण्डको प्रतिवेदनमा अब टोलटोलमा माओवादी केन्द्रका कमिटी बनाएर पार्टीलाई फेरि नागरिककै घरदैलोमा पुर्‍याउने र आउँदो चुनावमा सबैभन्दा बलियो शक्ति बन्ने दाबी छ । यस्तै प्रस्तावमा सत्तारुढ गठबन्धनलाई कम्तीमा आउने तीनवटै तहका चुनावसम्म कायम राख्ने प्रस्ताव पनि गरिएको छ । हालको गठबन्धन लोकतान्त्रिक प्रणाली, संविधान र स्थायित्व तथा सुशासनका लागि भएकाले आउने चुनावसम्म कायम राख्ने नीति रहने प्रस्तावमा उल्लेख छ । एमालेसँगको एकता र गठबन्धन उपयुक्त भए पनि अध्यक्ष केपी ओलीको अहंकार र दम्भका कारण नेकपा विघटन भएको भन्दै अध्यक्ष प्रचण्डले ओलीबाहेकका कम्युनिष्टहरूको एकीकरण गर्नेसमेत उल्लेख गर्नुभएको छ ।

अहिलेको संविधानमा आफ्नो पार्टीले भनेको जस्तै नभए पनि आधारभूत र मूल रूपमा आफ्नो पार्टीको स्वामित्व रहेको भन्दै प्रतिवेदनमा संविधानलाई कार्यान्वयन गर्दै समाजवादतर्फको कदम रहने उल्लेख छ । अहिलेको सरकारका प्राथामिकता कोरोना नियन्त्रण, अर्थतन्त्रको पुनरुत्थान, नागरिकको जीवनस्तर सुधार र सुशासन स्थापना भएकाले गठबन्धन सरकारको लक्ष्य पूरा गर्न पार्टी प्रतिबद्ध भएर लाग्ने भनिएको छ ।

प्रतिवेदनमा एमसीसी र भारतसँगको सीमा विवाद रहेको कालापानी, लिपुलेक, लिम्पियाधुराको समस्या पार्टीको घोषित नीतिअनुसार कूटनीतिक संवादका माध्यमबाट हल गरिने उल्लेख छ । माओवादी केन्द्रीय कमिटी बैठकमा पेस गरिएको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावका साथै विधान मस्यौदामाथि छलफल गर्न केन्द्रीय सदस्यहरूलाई आठ समूहमा बाँडिएको छ । समूहलाई प्रस्तावमाथि छलफल गर्न आइतबार बिहान ११ बजेसम्मको समय दिइएको छ । माओवादीको केन्द्रीय कमिटी बैठकले सांगठनिक एजेण्डा तय गर्ने, नेताहरूको प्रदेश र विभिन्न विभागमा कार्य विभाजनको निर्णय गर्नेछ ।

यस्तो छ प्रस्तावित कार्यतालिका

प्रचण्डको प्रस्तावित योजनाअनुसार आगामी भदौ मसान्तसम्ममा सदस्यता नवीकरण गरिसक्ने योजना बनाएको छ । त्यस्तै आगामी असोज १० गते गाउँ, टोलका भेला, सम्मेलन सक्ने योजना माओवादीले बनाएको छ । यस्तै असोज २० गते देशभरका ६ हजार ७४३ वडाको सम्मेलन एकै साथ गर्ने योजना प्रचण्डले पेश गरेको प्रतिवेदनमा राखिएको छ ।

माओवादीले आगामी कात्तिक ३० गते जिल्ला सम्मेलन गर्ने योजना बनाएको छ । त्यसपछि मंसिर १५ गते प्रदेश सम्मेलन सक्ने कार्ययोजना प्रचण्डले बैठकमा पेश गर्नुभएको छ । मंसिरमा प्रदेश सम्मेलन सकेपछि माओवादीले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने भएको छ । माओवादीले जनवर्गीय संगठनको पनि असोज मसान्तसम्ममा भेला, सम्मेलन सक्ने योजना बनाएको छ । त्यही समयमा जातीय क्षेत्रीय मोर्चाको पनि सम्मेलन हुने भएको छ ।