मोरङबाट विद्युत्तका कंक्रिट पोल उत्पादन।

मोरङ:= नेपाल विद्युत् प्राधिकरणले मोरङको टंकीसिनुबारीबाट विद्युत्को कंक्रिट पोल उत्पादन सुरु गरेको छ । प्राधिकरणको इन्जिनियरिङ सेवा निर्देशनालयअन्तर्गत कंक्रिट पोल प्लान्ट आयोजनाले परीक्षण उत्पादन सुरु गरेको हो । प्लान्टबाट विद्युत् वितरणमा प्रयोग हुने ८, ९ र ११ मिटरका पोल उत्पादन हुने प्राधिकरणले जनाएको छ । १४ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण गरिएको प्लान्टको वार्षिक पोल उत्पादन क्षमता ३३ हजार पाँच सय ८० थान रहेको छ ।

इन्जिनियरिङ सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले परीक्षण उत्पादनको निरीक्षण गरी नियमितरूपमा पूर्ण क्षमतामा पोल उत्पादन सुरु गर्न आयोजना व्यवस्थापनलाई निर्देशन दिनुभयो । उहाँले प्लान्टबाट पोल उत्पादन सुरु भएपछि टाढाबाट पोल ढुवानीमा लाग्ने ढुवानी खर्च र समय बचत हुने बताउनुभएको छ ।

आयोजना प्रमुख परमार धिरसेनका अनुसार कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञा र भारतबाट मालसामान तथा प्राविधिक आउन ढिलाई हुँदा परीक्षण उत्पादन निर्धारित समयभन्दा ढिलो भएको हो । उहाँले परीक्षण उत्पादनमा प्राविधिक समस्या नआएमा प्लान्ट केही दिनपछि पूर्ण क्षमतामा सञ्चालन हुने जानकारी दिनुभयो । प्लान्टबाट उत्पादित पोल प्रदेश १ र २ का जिल्लामा आपूर्ति गरिने बताइएको छ । प्राधिकरणले हाल तनहुँको कोत्रे र पर्साको अमलेखगञ्जबाट कंक्रिट पोल उत्पादन गर्दै आएको छ भने कैलालीको लम्कीमा प्लान्ट निर्माणाधीन रहेको छ ।