काठमाडौं:= नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि आफूहरू अन्तिम पर्खाइमा रहेको बताउनुभएको छ । शनिबार बागमती प्रदेश सम्पर्क कमिटीको समानान्तर नेतृत्व घोषणा गर्न काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले पार्टी एकताका लागि अझै कोसिस गर्ने बताउनुभएको हो ।
वरिष्ठ नेता नेपालले पार्टी एकताका सबै ढोकाहरू बन्द भए पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट पछि हट्न नसकिने अडान पनि राख्नुभयो । निर्णय प्रक्रिया र नेतृत्व प्रणाली सहमतिको आधारमा चल्ने स्थिति हुन्छ भने पार्टी एकताका लागि आफूहरू तयार रहेको उहाँको भनाइ छ । ‘एकता हाम्रो चाहना हो, इच्छा हो । हाम्रो इच्छा र चाहना विभाजन होइन । तर, एकताको सबै ढोका बन्द भयो भने सम्भावना रहेन भने त्यस्तो अवस्थामा पार्टीको पुनर्गठन गर्ने, पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट हामी पछि हटनु हुँदैन’, नेपालले भन्नुभयोे, ‘तर, त्यो अन्तिम उपायमात्रै हुनेछ । अझै पनि कोसिस गरौं । अझै केपी ओलीलाई सुधार्ने कोसिस गरौं । केपीले गरेको गलत निर्णय फिर्ता लिने काम हुन्छ भने, निर्णय, प्रक्रिया र नेतृत्व प्रणाली सहमतिको आधार चल्ने स्थिति हुन्छ भने हामी अन्तिम पर्खाइमा रहेका छौं ।’
नेता नेपालले अवसर र चुनौती सँगसँगै देखापर्ने भएकाले पिठ्युँ फर्काएर हिँड्नु नपर्ने बताउनुभयो । उहाँले वामदेव गौतमजस्तो अपमानित भएर भाग्नुपर्ने, न घरको न घाटको बन्नुपर्ने अवस्था नआओस् भनेर अन्तिम समयसम्म पनि सहज बाटो नै रोज्न खोजेको बताउनुभयो । ‘न रुन सकिने न हास्न सकिने जस्तो हुने अवस्था नआओस् भनेर सहज बाटो नै रोज्न खोजेका छौं,’ उहाँले भन्नुभयो, ‘असहज भनेको बाध्यता हुन्छ ।’
नेपालले गलत प्रवृत्तिसँग कहिल्यै पनि सम्झौता नगरिने बताउनुभयो । उहाँले कम्युनिष्ट आन्दोलनभित्र चुनौती धेरै रहेको भन्दै एमालेले आफ्नो जनविश्वासलाई काबुमा राख्न नसकेको बताउनुभयो । ‘गलत र अहंकारी प्रवृत्तिले हामीले आफ््नो जनविश्वास कायम राख्न सकेनौं, तर जनविश्वास खस्किएको भए पनि मैदान खाली नै छ,’ उहाँले भन्नुभयोे, ‘समयमै हाम्रो आँखा खुल्नुपर्छ, कहाँ कहाँ त्रुटि छन् सच्याउनुपर्छ ।’
वरिष्ठ नेता नेपालले पार्टी एकताका लागि आफूहरूले सरकारमा सहभागी नहुने जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई गराएको पनि स्मरण गर्नुभयोे । ‘केही साथीहरूलाई हामी जान्छौं भनेर झण्डै दाम्लो चुँडालेर तयार हुनुभयो,’ नेता नेपालले भन्नुभयोे, ‘दाम्लो चुँडाल्नेलाई म के गर्न सक्छु । आफ्नैलाई त रोक्न सकिएको छैन् । तैपनि मैले भनेको कुरालाई मान्नु भएको छ । दाम्लो नचुँडाउनुहोला मैले भनिरहेको छु । अहिले अन्तिम कोसिस गर्न दिनुहोस् । मन्त्री ठूलो कुरा होइन । विचार ठूलो कुरा हो । पद ठूलो कुरा होइन, नीति ठूलो कुरा हो ।’ उहाँले संविधानको रक्षाका लागि, प्रतिगमन हुन नदिनका लागि, लोकतन्त्रको रक्षाका लागि आफूहरूले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिनुपरेको दोहोर्याउनुभयो ।




















