अफगान सेनाप्रमुख बर्खास्त।

काबुल:= बढ्दो हिंसाका बीच अफगान सरकारले सेनाप्रमुखलाई बर्खास्त गरेको छ । तालिवान विद्रोहीले धमाधम विभिन्न सहर कब्जा गरिरहेका बेला अफगानिस्तानका सैनिक प्रमुख हटाइएको हो ।

तालिवान लडाकुले प्रान्तका राजधानी कब्जा गर्नेक्रम बढाउँदै लगेपछि अफगान सरकारले सैनिक प्रमुख जनरल वली मोहम्मद अहमदजइलाई हटाएको हो । गत जुन महिनामा नियुक्त उहाँलाई सुरक्षा व्यवस्था मजबुद बनाउन नसकेको आरोप लगाउँदै हटाइएको बताइएको छ । सरकारले नयाँ सैनिक प्रमुखमा जनरल हिबातुल्लाह अजिजेइलाई नियुक्त गरेको छ । अजिजेइले देशभरि बढेको हिंसा र तालिवानको शक्तिसँग जुध्नुपर्नेछ ।

अफगानिस्तानमा २० वर्षदेखि रहेका अमेरिकी र अन्य विदेशी फौजले छाडेपछि तालिवानले आफ्नो नियन्त्रण बढाउँदै लगेको छ । संयुक्त राष्ट्रसंघका अनुसार गत महिनामात्र त्यहाँ एक हजार सर्वसाधारण मारिएका छन् ।

राष्ट्रसंघले पछिल्ला केही हप्तायता अफगानिस्तानमा जारी रहेको हिंसाका कारण यहाँबाट दशौं हजार नागरिक भागेको बताएको छ । यो वर्षमात्र हिंसामा परेर करिब चार लाख नागरिक विस्थापित भई उनीहरू देशभित्रै आन्तरिक शरणार्थीका रूपमा बस्न बाध्य भएका छन् । अहिले यहाँका विस्थापित नागरिकहरू आफ्ना बालबालिकासहित राजधानी काबुलमा शरण लिन थालेका छन् ।

यहाँ कतिपय सहायता एजेन्सीले उनीहरूलाई आवश्यक खाने र बस्ने प्रबन्ध मिलाइरहेको समाचार आएसँगै दिनहुँ ठूलो संख्यामा विस्थापित भएर विभिन्न सहरमा पुगेको हुँदा व्यवस्थापन गर्न पनि गाह्रो भइरहेको बताइएको छ ।