राजस्व दोब्बर पार्ने योजना बनाउन निर्देशन।

काठमाडौं:= अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक राजस्व दोब्बर बनाउने कार्ययोजना पेश गर्न निर्देशन दिनुभएको छ । बिहीबार आन्तरिक राजस्व विभागको ब्रिफिङ लिनेक्रममा उहाँले हालको राजस्व संकलनले देश विकास सम्भव नरहेको भन्दै राजस्व दोब्बर बनाउने गरी नयाँ कार्ययोजना पेश गर्न  निर्देशन दिनुभएको हो ।

अर्थमन्त्री शर्माले भन्नुभयो, ‘चलिराछ, यस्तै चल्छ भन्ने कुरा मलाई मान्य छैन । एकपटक राम्रोसँग सोच्नुहोस् राजस्व संकलन बढाउन सकिने उपाय तपाईं आफैँ फेला पार्नुहुनेछ, यसका लागि तपाईंलाई के चाहिन्छ, जनशक्ति, प्रविधि, तालिम जे आवश्यक पर्छ, त्यो उपलब्ध गराइन्छ ।’

उहाँले करदातालाई कानुन लगाएर कर तिराउने नभई करदाता आफैंले कर तिरुँ तिरुँ लाग्ने संस्कृति विकास गर्ने खालको योजना बनाउन निर्देशन दिनुभयो । अर्थसचिव मधुकुमार मरासिनीले राजस्व भनेको देशकै प्राणरेखा भएको भन्दै राजस्व संकलनको निर्धारित लक्ष्य हेरफेर हुने सम्भावना रहेको बताउनुभयो । राजस्व समूहका कर्मचारीले १०-५ को ड्युटी गरेर नपुग्ने भएकाले सोहीअनुसार थप जाँगर चलाएर काममा खटिन उहाँले निर्देशन दिनुभयो । आन्तरिक राजस्व विभागअन्तर्गतका ८४ वटा कार्यालयहरू सबैले राजस्व संकलनमा देखिएका समस्याहरूको एमआरआई गर्नुपर्नेमा जोड दिँदै सचिव मरासिनीले समाधानका उपायहरूसमेत निकाल्न भन्नुभयो । साथै उहाँले प्रविधिमार्फत् सबै राजस्व कार्यालयलाई  यथाशक्य कागजरहित, अनुहाररहित र भौतिक सम्पर्करहित बनाउन पनि निर्देशन दिनुभयो ।

विभागका महानिर्देशक झक्कुप्रसाद आचार्यले गत आवको कुल राजस्वमा विभागले ४६ प्रतिशत योगदान गरेको जानकारी गराउनुभयो । आचार्यका अनुसार उक्त आवमा विभागलाई चार सय ५० अर्बको लक्ष्य तोकिएकोमा चार सय २९ अर्ब संकलन भएको छ भने चालु आवका लागि पाँच सय २२ अर्बको लक्ष्य रहेको छ ।