ब्रसेल्स:= युरोपेली संघ (ईयू) का ६ मुलुकले तालिवानले अफगानिस्तानमा चलाएको कारबाहीका बाबजुद अफगान आप्रवासीको निर्वासन नरोक्न युरोपेली आयोगलाई आहृवान गरेका छन् । अस्ट्रिया, बेल्जियम, डेनमार्क, जर्मनी, ग्रिस र नेदरल्यान्ड्सका सरकारहरूले युरोपेली संघको कार्यकारी यस निकायसँग शरणसम्बन्धी कानुनअनुसार उनीहरूलाई शरणार्थी स्वीकार गर्न नसक्ने भएमा स्वदेश फिर्ता पठाउन अनुमति दिनुपर्ने बताएका हुन् ।
अफगानिस्तानले जुलाईमा युरोपेली राष्ट्रलाई अगस्ट ३१ मा अफगानिस्तानबाट अमेरिकी सम्पूर्ण सेनालाई फिर्ता लानुअगाडि सुरक्षा बलले तालिवान आक्रमणको प्रतिरोध गरिरहेको सन्दर्भमा तीन महिनासम्मका लागि अफगान प्रवासीहरूलाई जबर्जस्ती निर्वासनमा नपठाउन आग्रह गरेको हो ।
पछिल्लो समय तालिवानले आफ्ना गतिविधिलाई सशक्त पार्दै देशका ६ वटा प्रान्तीय राजधानीलाई नियन्त्रणमा लिएको छ । अमेरिकामा सन् २०११ को सेप्टेम्बर ११ मा भएको आक्रमणपछि तालिवानलाई परास्त गर्न वासिङ्टनले आफ्नो सबैभन्दा लामो युद्धको अन्त्यमा अगस्ट पूरा हुनुभन्दा अगाडि युद्धभूमि छोडेको छ ।
जुलाई ११ मा ईयू देशहरूलाई काबुलले गरेको अपिलपछि स्विडेन र फिनल्यान्डले अफगान शरणार्थीलाई जबर्जस्ती फिर्ता गर्न रोकेका थिए । युरोपेली तथ्यांकअनुसार सन् २०२० मा युरोपेली मुलुकहरूमा शरण खोज्नेहरूमध्ये १०.६ प्रतिशत अफगानीहरूलाई शरण दिइएको थियो अर्थात् लगभग चार लाख १६ हजार अनुरोधमध्ये ४४ हजारभन्दा बढी थिए । यो १५.२ प्रतिशत सिरियालीपछि दोस्रो सबैभन्दा धेरै हो ।




















