१६ वर्षपछि एउटै चलचित्रमा काम गर्दै भुवन र शिव।

काठमाडौं:= नेपाली चलचित्र क्षेत्रका एक समयका चर्चित दुई अभिनेता भुवन केसी र शिव श्रेष्ठले निर्देशक शोभित बस्नेतले निर्देशन गर्ने नयाँ चलचित्रमा सँगै काम गर्ने हुनुभएको छ । शोभितको ३१औं चलचित्र ‘डाँडाको वरपीपल’ को दोस्रो लकडाउनका कारण छायाँकन अगाडि बढ्न सकेको थिएन ।

आगामी भदौ ५ गते बाट छायाँकन सुरु हुने बताइएको छ । ६० दिनको छायाँकन तालिका रहेको यो चलचित्र काठमाडौं र चित्लाङ आसपासमा खिचिनेछ । चलचित्रमा यसअघि नै शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, रुविना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, अस्मी थापा, ज्ञानकुमार कटेल फाइनल भइसक्नुभएको छ ।

करिब १६ वर्षपछि भुवन र शिवले सहकार्य गर्न लाग्नुभएको हो। यी दुई अभिनेताले विसं २०६२ सालको फिल्म ‘राजु राजा राम’ मा सँगै अभिनय गर्नुभएको थियो । बुढासुब्बा ओर्जिनलको प्रस्तुतिमा निर्माण हुने चलचित्रमा नवराज गिरीको लगानी रहनेछ ।

रामकाजी घिमिरेको लेखन रहने चलचित्रमा सुशान्त प्रजापतीको छायाँकन, शिव मुखिया÷एलिश कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी, नवराज गिरीको गीत, रामजी राउतको मुख्य सहायक निर्देशन र आकाश बुढाथोकीको सहायक निर्देशन रहने बताइएको छ ।