काठमाडौं:= यस वर्षको गाईजात्रा पनि भर्चुअलरूपमा हेर्नुपर्ने भएको छ । कोरोना महामारीका कारण गत वर्ष पनि गाईजात्रा भर्चुअलरूपमा सञ्चालन भएको थियो । यस वर्ष पनि कलाकारको टिमले गाईजात्रा सञ्चालन गर्ने तर भर्चुअलरूपमै हेर्न पाइने बताइएको छ ।
गाईजात्राका मुख्य कलाकार मनोज गजुरेलले यसपटक ४ वटा पात्रको भूमिका निभाउने बताउनुभएको छ । गजुरेलले बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, पूर्वशिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र प्रधानमन्त्री शेरबहादुर देउवाको चरित्र चित्रण गर्दै हुनुहुन्छ ।
जोन्सन र देउवाको भिडियो कल तथा दुई मुलुकबीचको राजनीतिलाई तुलना गरेर उहाँले व्यंग्य गर्दै हुनुहुन्छ । अर्कोतर्फ धमलाको हमला व्यंग्यमार्फत् पुटिन र देउवाको खोप संवाद हेर्न पाइनेछ । कार्यकालमा चर्चामा आएका पूर्वशिक्षामन्त्री श्रेष्ठबारे पनि उहाँले व्यंग्य गर्नुहुनेछ ।
हास्यव्यंग्य कलाकारहरू शैलेन्द्र सिंखडा, चट्याङ मास्टर, राजा राजेन्द्र, हिमेश पन्तलगायतले यसपालिको गाईजात्रा प्रहसनमा आफ्नो प्रस्तुति दिनुहुनेछ ।कार्यक्रम भदौ १ गतेदेखि ७ गतेसम्म एपीवान टिभी र गजुरियल युट्युब च्यानलमार्फत् आउनेछ ।




















