साउथ अभिनेता कनिज कोइराला नेपालमा।

काठमाडौं:= साउथ सुपरस्टार प्रभासको फिल्म ‘साहो ’मा भिलेनको भूमिका निर्वाह गर्नुभएका अभिनेता कनिज कोइराला नेपाल आउनुभएको छ । छायाँकनरत फिल्म ‘आँधी तुफान–२’ अभिनयका लागि उहाँ केही दिनअगाडि नेपाल आउनुभएको हो । फिल्ममा उहाँ भिलेनका रूपमा देखिन लाग्नुभएको निर्माण युनिटले जनाएको छ ।

चलचित्रका निर्देशक मदन घिमिरेले भन्नुभएको छ, ‘आँधी तुफान-२’ को छायाँकनका लागि कनिज भारतको मद्रासबाट केही दिनअगाडि मात्र नेपाल आउनुभएको हो ।’ कनिजले अहिले फिल्मको धमाधम छायाँकन गरिरहनुभएको छ । छायाँकनपूर्व उहाँको स्वास्थ्य परीक्षणसमेत गरिएको निर्देशक घिमिरेले जानकारी दिनुभयो । फिल्म अहिले उपत्यकाका विभिन्न स्थानमा छायाँकन भइरहेको छ ।

पछिल्लो समय बलिउडमा रहेर अभिनय करियर अगाडि बढाइरहनुभएका कनिज नेपाली मूलका हुनुहुन्छ । उहाँले बलिउड, साउथ र मद्रासलगायतका फिल्ममा अभिनय गरिसक्नुभएको छ । नेपाली मोडलिङ क्षेत्रबाट बलिउड छिर्नुभएका कनिजको ‘आँधी तुफान-२’ पहिलो नेपाली फिल्म हो । फिल्मका लेखकसमेत रहनुभएका मौनता श्रेष्ठको निर्माण तथा लेखन रहने ‘आँधी तुफान-२’ २०६३ सालमा बनेको हिट फिल्म ‘आँधी तुफान’ को सिक्वेलका रूपमा बन्न लागेको हो ।

फिल्ममा कनिजका अलावा आरती आचार्य, याङ्सु श्रेष्ठ, रवि गिरी, ध्रुव कोइराला, सञ्जय खतिवडा, पुष्कर राउत, शिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी, पुनम गौतम, सान अधिकारी, सोनी बीसी, जोया बुढाथोकी, रूपा केसी, सरोज दाहाल, बिन्दिया ठकुरी, रमेश तामाङ र बालकलाकार अरुण कालिराजलगायतको अभिनय रहनेछ ।

चक्रबहादुर मगर निर्माता रहेको थ्रीलर र सस्पेन्स विषयमा बन्न लागेको फिल्ममा रामशरण उप्रेतीको छायाँकन, प्रेम चुल्ठेको एक्सन, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीका गीत, रानी शाक्यको स्वर, कमल राईको नृत्य रहनेछ ।