काठमाडौं:= दक्षिण एसियाली फुटबलको सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनसिप माल्दिभ्समा आयोजना हुने भएको छ । साफको कार्यकारी समितिको बैठकले आगामी असोज १५ देखि २७ गतेसम्म सो प्रतियोगिता गर्ने निर्णय गरेको हो । प्रतियोगिता आयोजना गर्नका लागि नेपाल र माल्दिभ्सले दक्षिण एसियाली फुटबल महासंघसमक्ष प्रस्ताव राखेका थिए ।
प्रस्ताव अध्ययनपछि प्रतियोगिता आयोजना गर्ने जिम्मा माल्दिभ्सले पाएको हो । नेपालमा पछिल्लो समय कोरोना महामारी बढ्दै गएका कारण साफ च्याम्पियनसिप आयोजना गर्न अनुमति नपाएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । यसअघि १३औं संस्करणको साफ च्याम्पियनसिप बंगलादेशमा गर्ने तय भएको थियो । बंगलादेशले कोरोनाका कारण साफ च्याम्पियनसिप आयोजना गर्न नसक्ने जनाएपछि कसले प्रतियोगिता गर्ने भनेर केही समय कुर्नुपरेको थियो ।
नेपालले सन् १९९७ र सन् २०१३ मा साफ च्याम्पियनसिप आयोजना गरेको थियो । माल्दिभ्सले भने सन् २००८ मा उक्त प्रतियोगिता आयोजना गरेको थियो । त्यतिबेला माल्दिभ्सले श्रीलंकासित मिलेर संयुक्तरूपमा उक्त प्रतियोगिता आयोजना गरेको हो ।
साफमा नेपाल, भारत, बंगलादेश, श्रीलंका र माल्दिभ्सले भाग लिने पक्का भएको एन्फाले जनाएको छ । भुटानले भाग लिने वा नलिने विषयमा केही दिनमा निर्णय गर्ने बताइएको छ । विश्व फुटबल महासंघ (फिफा) ले प्रतिबन्ध लगाएका कारण पाकिस्तानले भने साफमा भाग लिन पाउने छैन । नेपालले हालसम्म साफको उपाधि जित्न सकेको छैन । गत संस्करण बंगलादेशमा माल्दिभ्सले उपाधि जितेको थियो । नेपाल सेमिफाइनलमा माल्दिभ्ससँग पराजित भएको थियो ।
साफमा पाँच राष्ट्र सहभागी हुने भनिए पनि भुटानले समेत सहभागी हुने सम्भावना बढेको छ । भुटान सरकारले साफमा सहभागी हुन सकारात्मक छलफल गरेकाले तीन दिनमा भुटानले यकिन निर्णय दिने भएको छ । पाकिस्तान भने सहभागी हुने छैन ।
नेपाली फुटबल टोलीले बुधबारदेखि कास्कीको पोखरामा साफको तयारीस्वरूप अभ्यास सुरु गरिरहेको छ । काठमाडौंमा झण्डै एक महिना प्रशिक्षण गरेपछि टोलीलाई १० दिनको विश्राम दिइएको थियो । त्यसपछि सोमबारदेखि पोखरामा प्रशिक्षण सुरु भएको हो ।
प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दोस्रो चरणमा रहेका ३६ जना र थप तीनजनालाई थप्दै प्रशिक्षण गराइरहनुभएको छ । पोखरामा हुने प्रशिक्षणमा भने पहिलो चरणबाट बाहिरिएका गोलरक्षक विशाल सुनार, मिडफिल्डर सेसेहाङ आङदेम्बे र विंगर शिशिर लेखीलाई पुनः टोलीमा समावेश गरिएको हो ।
एरिक विष्ट र प्रकाश बुढाथोकी भने पोखराको प्रशिक्षण क्याम्पमा सहभागी नहुने एन्फाले जनाएको छ । पोखरामा ३८ सदस्यीय टोलीले दुई साता प्रशिक्षण गर्ने योजना रहेको छ । जसमा कप्तान किरण चेम्जोङ, दीप कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार र अर्पण कार्की रहनुभएको छ । त्यस्तै फरवार्ड आशिष लामा, अभिषेक रिजाल, भरत खवास, मनिष डाँगी, जर्जप्रिन्स कार्की, नवयुग श्रेष्ठ, अञ्जन विष्ट, सन्जोग राई र सुनिल बल पनि टोलीमा रहनुभएको छ ।
त्यसबाहेक डिफेन्डरमा अनन्त तामाङ, दीनेश राजवंशी, गौतम श्रेष्ठ, राजन गुरुङ, रणदिप पौडेल, रञ्जित धिमाल, रोहित चन्द, सुमन अर्याल र मिडफिल्डमा नितिन थापा, पुजन उपरकोटी, सेसेहाङ आङदेम्बे, शिशिर लेखी, आयुष घलान, विशाल राई, विक्रम लामा, कमल थापा, राजीव लोप्चन, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन लामा, सुरजज्यू ठकुरी, तेज तामाङ र त्रिदेव गुरुङ रहनुभएको छ ।
साफअघि नेपाली टोलीले भारतसँग दुई मैत्रीपूर्ण खेलसमेत खेल्नेछ । नेपालले भारतसित त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आगामी भदौ १७ र भदौ २० गते खेल्ने तय भएको छ ।




















