काठमाडौं:= नेपालका कुनै पनि कलाकारले नेपालबाहिरका चलचित्रमा काम गर्ने हल्ला बेला-बेलामा चलिरहन्छ । त्यसो त कतिपय नेपाली कलाकारले पनि बलिउड र हलिउडका चलचित्रमा पनि काम गरिसक्नुभएको छ । तर, नेपालमा काम गर्नुभन्दा पहिले बढी हल्ला चल्ने गरेको छ ।
यसैबीच लोकप्रिय अभिनेत्री स्वस्तिमा खड्काले दक्षिण भारतीय फिल्म ‘थिरिमाली’ मा काम गरेको चर्चा चलिरहेको छ । नेपाली चलचित्र ‘ग्याङस्टार ब्लूज’ का निर्माता सरोज न्यौपानेले दक्षिण भारतीय कम्पनी ‘एन्जल मारिया सिनेमा’ सँग मिलेर निर्माण गरेको भनिएको यो चलचित्रमा स्वस्तिमाका आलवा माओत्से गुरुङ, उमेश तामाङलगायत नेपाली कलाकारको अभिनय देख्न सकिने बताइएको छ ।
राजिव सेट्टीको निर्देशन रहेको उक्त चलचित्रमा भारतीय कलाकार विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्मालगायतको मुख्य भूमिका रहेको बताइएको छ ।
हालै छायाँकन पूरा गरेको चलचित्रको निर्माण युनिटले नेपाली कलाकार माओत्से गुरुङको अभिनय रहेको सुटिङ सेटका केही तस्बिरहरू सार्वजनिक गरेपछि थप चर्चा भएको हो । सार्वजनिक तस्बिरमा नेपालको पहाडी भेगका दृश्य देख्न सकिन्छ । कतिपयले यसअघि हल्लामात्र भन्ने चर्चा गरेपछि तस्बिर सार्वजनिक भइसकेपछि स्वस्तिमालगायतका नेपाली कलाकारको उक्त अभिनय हेर्न आतुर भएको प्रतिक्रिया पनि देखिन्छ । उक्त चलचित्र हिन्दीसहित मलयालम, कन्नड, तमिल र तेलगु भाषामा रिलिज हुनेछ ।




















