मेची नदीले वर्षेनी बगाउँदै नेपाल-भारत सीमास्तम्भ।

झापा:= नेपाल-भारतको सीमाबाट बग्ने मेची नदीले वर्षेनी सीमा पिलर बगाउन थालेको छ । मेची नदीले सोमबार दिउँसो ४ बजे झापामा एउटा मुख्य सीमा पिलर बगाएको छ । समयमा तटबन्ध गरिएको भए सो सीमा पिलर बचाउन सकिने स्थानीयको भनाइ छ ।

नदीले तटीय क्षेत्रको कटान गर्ने क्रममा दक्षिणी झापाको कचनकवल गाउँपालिका–५ स्थित पाठामारीमा ११२ नम्बर सीमा पिलर बगाएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका प्रवक्ता तथा डिएसपी प्रेमबहादुर भण्डारीले जानकारी दिनुभयो । केही दिनको अविरल वर्षापछि मेची नदीमा पानीको बहाव बढेको छ । मेचीमा पानीको बहाव बढेपछि नदी आसपासमा रहेका दुई दर्जन बढी सानो सीमा पिलर पनि डुबानमा परेको डिएसपी भण्डारीले बताउनुभयो ।

नदीले तटीय क्षेत्र कटान गर्ने क्रममा केही दिन अघिमात्र पिलरनजिकै रहेका रूखहरू बगाएर लगेको थियो । ‘त्यसबेला पिलरमात्र बगाउन बाँकी थियो, अन्ततः नदीले पिलर बगाएर लग्यो’, स्थानीय कमल गणेशले भन्नुभयो, पिलर बगाएको दक्षिणतर्फ भारतीय बस्ती छ, पूर्वतर्फ नेपाली बस्ती । समयमा तटबन्ध गरिएको भए सीमा पिलरसँगै तटीय क्षेत्रका जमिन जोगाउन सकिन्थ्यो ।’

मेची नदीले यसरी नै तटीय क्षेत्र कटान गर्दै लैजाने हो भने भारतीय बस्तीसँगै नेपाली बस्ती बगाउने खतरा बढेको भारतीय नागरिक उपेन्द्र साहले बताउनुभयो । नदीको कटान तीव्र छ, कहिले घर बगाउने हो भन्ने चिन्ता बढेको उहाँको भनाइ छ ।

११२ सीमा पिलरनजिकै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पाठामारीले सुरक्षा दिइरहेको छ । सशस्त्र प्रहरीको पोष्ट पनि बगाउने अवस्थामा पुगेको स्थानीयवासीको भनाइ छ । सो सीमा पिलर जोखिममा रहेको भन्ने बारेमा एक वर्षअघि नै सम्बन्धित निकाय जानकार थियो । तर, कोरोना महामारीले त्यसलाई जोगाउन सकिएन ।

सीमा पिलरहरूमा केही समस्या देखापरेमा नेपाल-भारतको संयुक्त सीमा फिल्ड सर्वे टोलीले संयुक्त रूपमा स्थलगत निरीक्षण गरी त्यसलाई मर्मतसम्भार गर्नुपर्ने दुवै देशको सरकारको नीति छ । कोरोनाले गर्दा विगत डेढ वर्षदेखि झापासँग जोडिएको सीमा पिलरको स्थलगत निरीक्षण हुन नसकेको सशस्त्र प्रहरी बल नेपाल-२ नम्बर गण झापाका एसपी रमेशकुमार पाण्डेले बताउनुभयो ।

हालसम्म १८ वटा पिलरमा क्षति

यसवर्ष मेची नदीले ११२ नम्बर पिलर बगाएसँगै १८ वटा पिलरमा क्षति पुगेको सशस्त्र प्रहरीका एसपी रमेशकुमार पाण्डेले जानकारी दिनुभयो । गतवर्ष मझौला र साना गरी १७ वटा र यसवर्ष एउटा मुख्य पिलरमा क्षति पुगेको हो ।

जिल्लाको १४४.२ किलोमिटर खुला सीमा क्षेत्रमा ८२ देखि १५२ नम्बरसम्मको सीमा पिलर छन् । अधिकांश सीमा पिलर मेची नदी आसपासमा छ । गतवर्ष भद्रपुर, कचनकवल, झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिका क्षेत्रका सीमा पिलर क्षति भएको हो । मुख्य ७० सहित मझौला र साना गरी कुल ९८८ वटा पिलर छन् । त्यसमध्ये १५० वटा पिलर मेची नदी र अन्य खोला आसपास छन् । ३५ वटा पिलर उच्च जोखिममा छन् ।

यसवर्ष डुबानमा परेका पिलरहरूको अनुगमन हुन सकेको छैन । बर्खा सकिएपछिमात्र ती पिलरहरूको अवस्था बुझ्न सकिने झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताउनुभयो । सीमाको पिलर हेर्ने जिम्मा सरकारले नापी विभागका उपसचिव शिव लम्साललाई तोकेको छ । ‘अघिल्लो वर्ष क्षति भएका पिलरको विवरण प्रशासन कार्यालयले पठाइसकेको छ,’ प्रजिअ तिमिल्सिनाले भन्नुभयो, ‘यसवर्षको विवरण बर्खा सकिएपछि पठाउने छौं ।’ त्यसपछि दुवै देशका नापीको टोली आएर सीमा पिलरको स्थलगत निरीक्षण गर्छन् ।

‘दुवै देशका सीमा फिल्ड सर्वे टोलीले जिल्लामा कतिवटा पिलर बनाउने हो, कतिवटा मर्मतसम्भार गर्ने हो, त्यसको तथ्यांक संकलन गरिन्छ,’ प्रजिअ तिमिल्सिनाले भन्नुभयो, ‘त्यसपछि दुवै देशको सहकार्यमा पिलरको काम सुरु हुन्छ ।’ कोभिडका कारण पिलरको काममा ढिलाइ भए पनि आगामी कात्तिकदेखि मर्मतसम्भारको काम सुरु हुने उहाँको भनाइ छ ।