प्रतिनिधिसभा पुनःस्थापना भएपछि संसद्मा ओलीको आक्रामक सम्बोधन।

एमसीसी सम्झौतादेखि सरकारका न्यूनतम कार्यक्रमप्रति सरकारलाई प्रश्नै प्रश्न

काठमाडौं:= प्रधानमन्त्रीबाट बाहिरिएको झण्डै एक महिनापछि केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलको हैसियतमा मंगलबार प्रतिनिधिसभामा भाषण गर्नुभयो । एक घण्टाभन्दा बढी समय बोल्नुभएका ओली सरकारप्रति निकै आक्रामक शैलीमा प्रस्तुत हुनुभयो । वर्तमान सरकारको गठन प्रक्रिया र सरकारले हालै सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रमका प्रत्येक बुँदाका केस्राकेस्रा केलाउनुभयो । त्यसमै लक्षित भई सत्ता गठबन्धनमाथि दजनौं प्रश्न र व्यंग्यवाण प्रहार गर्नुभयो ।

ओलीले सरकारको न्यूनतम साझा कार्यक्रमलाई ‘सडकतिर बाँडेको कागज’ भनेर टिप्पणी गर्नुभयो । त्यसक्रममा उहाँले आफ्नो नेतृत्वमा सरकारले गरेका कामको बचाउमात्र गर्नुभएन, वर्तमान सरकार र सत्तारुढ गठबन्धनको आलोचनासमेत गर्नुभयो । सरकारको साझा न्यूनतम कार्यक्रमतर्फ संकेत गर्दै सडकतिर बाँडेको कागजको संज्ञा दिनुभयो र त्यसमा प्रतिपक्षलाई सरापेर राष्ट्रिय सहमतिका लागि पहल गर्ने उल्लेख गरिएको उहाँले बताउनुभयो । एमाले संसदीय दलका नेता ओलीले भन्नुभयो, ‘कस्तो राम्रो तरिका । प्रमुख प्रतिपक्षलाई धम्क्याएर राष्ट्रिय सहमति’ उहाँले अहिले सरकार र प्रतिपक्षी दलबीच सम्वादहीनताको स्थिति रहेको बताउनुभयो । ओलीले सरकारको साझा न्यूनमत कार्यक्रम संसदलाई छलेर ल्याएकोे बताउनुभयो । यसमा कांग्रेसको अनुहारसमेत नदेखेको उहाँको टिप्पणी छ ।

उहाँले केही व्यक्तिकेन्द्रित टिप्पणी गर्नुभयो भने केही मुद्दाकेन्द्रित । विषयका हिसाबले उहाँले मुख्य टिप्पणी अमेरिकासँगको एमसीसी सम्झौता, लिम्पियाधुरा, कालापानी र लिपुलेक, छिमेकी मुलुकहरुसँगको सम्बन्ध, सन्धि सम्झौता, लडाकु शिविरदेखि स्वास्थ्य सामग्री खरिदको छानबिनसम्म थियो । व्यक्तिको हिसाबले उहाँको मुख्य तारोमा हुनुहुन्थ्यो–प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेकै विरोधी कित्तामा रहेका नेताहरू । ओलीको प्रस्तुतिले प्रतिपक्षी सदनमा प्रतिपक्षी दलको सशक्त उपस्थितिको महसुस गराएको थियो ।

एमसीसी र लिम्पियाधुरामा किन खुट्टा कमाएको ?

प्रमुख प्रतिपक्षी दलका नेता ओलीले निकै पेचिलो बनेको एमसीसी सम्झौताबारे प्रधानमन्त्री देउवाप्रति सम्बोधनमा पटकपटक प्रश्न गर्नुभयोे । एमसीसी सम्झौताबारे सरकार किन मौन बसेको भन्दै प्रधानमन्त्री देउवासँग जवाफ माग्नुभयो । ‘प्रधानमन्त्रीज्यू एमसीसी के गर्नुहुन्छ ? नेपाली जनताले जान्न चाहेको छ’, ओलीले भन्नुभयो, ‘कुन छिमेकीसँग कुन-कुन सीमा समस्या भएको हो, असमान सन्धि सम्झौता कहाँ कोसँग भएको हो त्यो पनि स्पष्ट भन्नुहोस् ।’ पटक-पटक एमसीसीको प्रसंग निकाल्नुभएका ओलीले देउवालाई १६५ जनाको समर्थन पाएको ‘मजबुत प्रधानमन्त्री’ भन्दै व्यंग्यसमेत कस्नुभयो । ‘मजबुत प्रधानमन्त्री हुनुहुन्छ । कसैको समर्थन चाहिँदैन । कसैको मद्धत चाहिँदैन । जनताले सुन्न चाहेको छ, एमसीसी पास गर्ने कि फेल गर्ने ?’

उहाँले जस्केलाबाट छिरेर प्रधानमन्त्री भनेको भन्दै देउवाप्रति आक्रोश व्यक्त गर्नुभयो । आफ्नो पालामा लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा जारी गरेका ओलीले अहिले त्यो भूमि फिर्ता ल्याउनेबारे देउवाको धारणा मागे । साझा कार्यक्रममा त्यो विषयमा स्पष्ट बोल्न किन नसकेको भन्दै देउवाप्रति प्रश्न गर्नुभयो । ‘लिम्पियाधुरा, कालापानी फिर्ता ल्याउँछु भनेर किन भन्न सक्नुभएन ? लिम्पियाधुरा, कालापानी, लिपुलेक समस्या हो कि हाम्रो पवित्र अभिन्न भू-भाग हो । यो समस्या हो ? यो समस्या हो भने छोडिदियो भने त समस्या समाधान होला नि ? हाम्रो भूमि हामी फिर्ता लिन्छौं भन्नुपर्छ कि ? यस्तो खुट्टा कमाउनुपर्ने कसले बनायो ?’ उहाँले भारतसँगको इपिजी प्रतिवेदनबारे स्पष्ट धारणा ल्याउन माग गर्नुभयो ।

धम्कीको राजनीति नगर्न प्रचण्डलाई सुझाब

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब धम्कीको राजनीति नगर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सुझाउनुभएको छ । ओलीले प्रचण्डले देशमा लगाएको डढेलो (सशस्त्र युद्ध) पनि दुई बाल्टी पानी हालेर निभाइएको स्मरण गराउनुभयो । शेरबहादुर देउवा नेतृत्वको सरकारले विश्वासको मत पाएका दिन प्रचण्डले आफूलाई आगोको संज्ञा दिँदै जथाभावी नखेल्न भन्दै ओलीमाथि कटाक्ष गर्नुभएको थियो । ‘सत्ता परिवर्तन हुनेबित्तिकै सत्ता पक्षका नेताहरूले भन्नुभयो, होसियार म आगो हुँ मसँग नखेल नत्र भन्नुभयो’, उहाँले भन्नुभयो, ‘मलाई थाहा छ उहाँले विगतमा देशमा लगाएको डढेलो सम्झिरहेको छु । उहाँ आगो हो थाहा छ तर एक दुई बाल्टीले आगो निभाएको हामीलाई थाहा छ ।’ उहाँले यस्ता आगो निभाउन आफूलाई आउने बताउनुभयो । ‘यस्ता आगो निभाउन पानी खन्याउनुपर्छ पानी । सरकार बन्दैछ तर धम्की दिने ? म आगो हुँ भनेर, म सँग नखेल भनेर धम्की दिने’, ओलीले भन्नुभयो, ‘सडकमा एउटा कागज वितरण गरेको छ । प्रतिपक्षलाई गाली गरेर, सरापेर कस्तो राष्ट्रिय सहमति बन्छ ? प्रतिपक्षलाई धम्की दिएर राष्ट्रिय सहमति नत्र भन्छन् नत्र के गर्छन् ? हामी पनि हेरौंला ।’

लडाकु शिविरको छानबिन हुन्छ ?

ओलीले तत्कालीन माओवादी लडाकुको क्यान्टोनमेन्टमा भएको भनिएको भ्रष्टाचार मुद्दा संसदमा उठाउनुभयो । ओलीले माओवादी अध्यक्ष प्रचण्डसहित जोडिएको भनिएको क्यान्टोनमेन्ट भ्रष्टाचार मुद्दा उठाउनुभएको हो । ‘संयुक्त सरकारको नीति तथा कार्यक्रममा भ्रष्टाचारविरुद्ध कारबाही हुन्छ भनेको देखेँ, खुशी लाग्यो’, उहाँले भन्नुभयो, ‘भ्रष्टाचारको कुरा उठेको बेला क्यान्टोनमेन्टको भ्रष्टाचारको कुरा उठेको छ यसबारे छानबिन गरेर सरकारले देखाओस् ।’ ओलीले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना पनि छानबिन गरेर देखाउन सरकारलाई चुनौती दिनुभयो । उनले सरकारले जनयुद्धका घाइतेहरुको उपचार गर्न पनि सरकारलाई आग्रह गर्नुभयो । ओलीले मधेस आन्दोलन अगाडि रौतहटको गौरमा २२ जनाको ज्यान जानेगरी भएको हिंसात्मक घटनाको पनि छानबिन गर्न चुनौती दिनुभयो ।

परमादेशबाट होइन जनादेशबाट फेरि आउँछु

नेकपा एमालेका अध्यक्ष ओलीले आफू प्रधानमन्त्री बन्न नजन्मिएको बताउनुभयो । प्रतिनिधिसभा बैठकलाई सम्बोधनकै क्रममा ओलीले आफू देशको सेवाका निम्ति जन्मिए पनि काम गर्दै जाँदा संयोगले प्रधानमन्त्री भएको जिकिर गर्नुभयो । उहाँले विगतमा आफूले जस्केलाबाट नभई मूलढोकाबाट सरकारमा आउने स्मरण गरेको भन्दै असाधारण जनमतका साथ फेरि पनि सत्तामा आउने जिकिर गर्नुभयो । उहाँले यसअघि आफू विभिन्न राजनीतिक दलका कुण्ठा, जलन र इष्र्याबाट प्रधानमन्त्री बनेको नभई जनमतबाट प्रधानमन्त्रीमा निर्वाचित भएको पनि बताउनुभयो । यद्यपि ओलीले आफू पुनः असाधारण जनमतबाट प्रधानमन्त्री बन्ने दाबी गर्नुभएको छ । ओलीले आफू पुनः म मूल ढोकाबाट र असाधारण जनमतबाटै आउने प्रधानमन्त्री हुने बताउनुभएको हो । ‘हेरिराखे हुन्छ म मूलबाटो, मूल ढोकाबाटै फेरि पनि आउँछु’, ओलीको भनाइ छ । ‘विभिन्न पार्टीको नेताहरुको महत्वाकांक्षा, अहंकार आदिको समिश्रणबाट पनि प्रधानमन्त्री भएको होइन । स्वार्थको गठजोडबाट पनि भएको होइन । त्यस्ता विभिन्न असफलताको फिक्सनबाट उछिट्टिएर मेरो भागमा प्रधानमन्त्री भएको होइन,’ उहाँले भन्नुभयो, ‘सभामुख महोदय कुनै जाली मुद्दा जितेर प्रधानमनत्री भएको थिइनँ । म परमादेशबाट होइन जनादेशबाट भएको हो । प्रधानमन्त्री पद दाइजो, जजमानीबाट प्राप्त हुने पद होइन ।’

सुकुम्बासीको घाँटी सेर्ने ?

रोष्टममा पुग्नेबित्तिकै ओलीले सरकारप्रति आक्रोशको वर्षा सुरु गर्नुभयो, भूमि समस्या समाधान आयोग खारेज गर्ने देउवा सरकारको निर्णयको विरोधबाट । ‘सरकारले सुकुम्बासी आयोग खारेज गरेर सुकुम्बासीको घाँटी सेर्ने काम गरे छ’, ओलीले भन्नुभयो । सरकार बनेको झण्डै एक महिना हुनलाग्दासमेत बधाई र धन्यवादमै सीमित रहेको भन्दै व्यंग्य गर्नुभएका ओलीले सुकुम्बासी, भूमिहीनहरूको पक्षमा आफूमात्र रहेको देखाउने कोसिस गर्नुभयो ।

मन्त्री बनाइदिन बिन्ती !

सम्बोधनकै क्रममा ओलीले माधव नपालको नाम नलिइकन उहाँको समूहका नेताहरू मन्त्री खान दौडधुप गरेको भन्दै व्यंग्य गर्नुभयो । ‘मेरै पार्टीका केही मान्छेहरू पाउँला र खाउँला भनेर यहाँका पछाडि कुदेका छन् प्रधानमन्त्रीज्यू । तिनीहरूलाई मन्त्री दिनुस् न । किन विलम्ब गर्नुभएको ?’ उहाँले भन्नुभयो ।

दुवै हात जोड्दै ओलीले आग्रहको शैलीमा भन्नुभयो, ‘मन्त्री बन्न नपाएर हिरिक-हिरिक गर्न थालिसके । पछाडि त लगाइसक्नुभयो । कुदेका छन् । मन्त्री खान पाउँ पाउँ भनेका छन् । चाकडी गरेका छन् । मन्त्री दिनुहोस् प्लिज । मेरो दलमा घाटा भएको म सहुँला बुझौंला ।’