हिमालय एयरलाइन्सले दुबई जान ठिक्क परेका यात्रुहरुलाई बिमानस्थलमै रोके।

काठमाडौं:= हिमालय एयरलाइन्सले अन्तिम समयमा दुबई उडान नहुने सूचना टाँसेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका यात्रुहरु अलपत्र परेका छन् ।

दुबई उड्नका लागि यात्रुहरु विमानस्थल पुगिसकेको अवस्थामा एयरलाइन्सले उडान नहुने सूचना टाँसेको थियो । उक्त सूचनामा दुबईले रोकेका कारण उडान नहुने व्यहोरा उल्लेख छ ।

यसअघि कोरोना भाइरस संक्रमणका कारण दुबईले नेपालबाट हुने उडान रोकेको थियो । तर गत हप्ता युएईस्थित नेपाली दूतावासले आइतबारदेखि नेपालका लागि उडान खुल्ला भएको सूचना प्रकाशित गरेको थियो । सोही अनुसार सोमबार राति साढे ११ बजे हुने उडानका लागि एयरलाइन्सले टिकट बिक्री गरेको थियो ।

रातिको उडानका लागि ‘चेक इन’ भइरहेको स्टाटस विमानस्थलमा राखिएको डिस्प्ले बोर्डमा देखिन्थ्यो । तर अन्तिम समयमा युएइले नेपालबाट हुने उडानमा रोक लगाएकाले विमान नउड्ने जानकारीसहितको सूचना एयरलाइन्सले यात्रु प्रवेश गर्ने मुख्य ढोकामा टाँसेको थियो ।दोहोरो टिकट लिएर आएका यात्रुहरु सङ्ग समेत हिमालय एयरलाइन्सले महँगो रकम असुलेको यात्रुको गुनासो छ।