अफगानिस्तानका थप तीनवटा क्षेत्रीय राजधानी कब्जा गरेको दाबी।

काबुल:= तालिवानले थप तीनवटा क्षेत्रीय राजधानी आफूले कब्जा गरेको बताएको छ । आइतबार देशको उत्तरतर्फको प्रमुख सहर कुन्दुजलाई आफ्नो नियन्त्रणमा लिएको थियो । उसले सार-ए-पोल र तालोकान सहरमा पनि कब्जा गरेको छ । तालिवानले गत शुक्रबारयता पाँचवटा क्षेत्रीय राजधानीहरूमा आफ्नो नियन्त्रण कायम गरिसकेको छ ।

त्यसमध्ये तालिवानका लागि कुन्दुज यो वर्षको सबैभन्दा महत्वपूर्ण उपलब्धि हो । उक्त सहर राजधानी काबुलसहित देशका अन्य भागहरूमा जोडिएको छ । २० वर्ष लामो सैन्य अभियानपश्चात् अन्तर्राष्ट्रिय फौजले अफगानिस्तान छाड्न थालेपछि त्यहाँ हिंसा व्यापकरूपमा बढेको हो । तालिवानले पछिल्ला साताहरूमा त्यहाँ तीव्र गतिमा आफ्नो नियन्त्रण विस्तार गरिरहेको छ ।

अफगानिस्तानको ग्रामीण इलाकामा प्रभाव रहेको तालिवान समूहले अफगानिस्तानबाट अमेरिकासहितका विदेशी सेना फिर्ता हुने निर्णयसँगै आफ्ना गतिविधिलाई बढाउँदै लगेको छ ।

यद्यपि अफगानिस्तानको रक्षा मन्त्रालयका प्रवक्ताले भने सरकारी सुरक्षाकर्मी अहिले पनि सहरमा रहेको र चाँडै नै तालिवान लडाकुलाई हटाउने बताएका छन् । तालिवान समूहले प्रान्तीय सहरलाई आफ्नो नियन्त्रणमा ल्याएको घोषणा सरकारी सुरक्षाबलका लागि ठूलो धक्काका रूपमा लिइएको छ ।

यसैबीच अमेरिका र बेलायतले आफ्ना नागरिकलाई तत्काल अफगानिस्तान छाड्न आग्रह गरेका छन् । अफगानिस्तानबाट विदेशी सैनिक फिर्ता प्रक्रियासँगै तालिवान विद्रोहीको गतिविधि बढेका कारण सुरक्षा अवस्था बिग्रँदै गएकाले आफ्ना नागरिकलाई अफगानिस्तान छाड्न आग्रह गरेका हुन् ।

अफगानिस्तानको सुरक्षा अवस्था कमजोर भएको भन्दै विद्रोहीले अफगानिस्तानमा आफ्ना नागरिकमाथि आक्रमण गर्न सक्ने जनाउँदै बेलायतको विदेश मन्त्रालयले चिन्ता व्यक्त गरेको छ ।

काबुलमा रहेको अमेरिकी राजदूतावासले तत्काल हवाई टिकट खरिद गर्न नसक्ने अवस्थामा रहेका आफ्ना नागरिकलाई ऋण उपलब्ध गराउनेसमेत जानकारी गराएको छ ।

अमेरिकाले आफ्ना नागरिकलाई व्यापारिक उडानमार्फत् फर्कन र दूतावासले गर्ने आपत्कालीन उद्धारमा भर नपर्न आग्रह गरेको छ । तालिवानले २४ घण्टाभित्रै दोस्रो प्रान्तीय राजधानीमाथि नियन्त्रण कायम गरेका थिए ।