ग्रीसमा तीन दशकयताकै भीषण डढेलो।

एथेन्स:= एक हप्तादेखि लागेको डढेलोका कारण ग्रीसको इभिया टापुमा हजारौं मानिस विस्थापित भएका छन् । छैटौं दिन पनि आगो अनियन्त्रित बनेपछि इभिया टापुका विभिन्न गाउँका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । डढेलो नियन्त्रणका लागि सयौं अग्नि नियन्त्रक र दर्जनांै हेलिकप्टरले प्रयास जारी राखेका छन् ।

डढेलोका कारण एक अग्नि नियन्त्रकसहित दुईजनाको मृत्यु भइसकेको छ । डढेलोमा ५० भन्दा बढी घाइते भएका छन् । हाल ग्रीसका तीनवटा जंगलमा डढेलो फैलिएकाले नियन्त्रण गर्न कठिन भएको हो ।

आगलागीले हजारौं हेक्टरको जंगल जलेर नष्ट भएको छ । अत्यधिक गर्मी तथा हावाका कारण आगो निभाउन कठिन भएको त्यहाँका अधिकारीहरूले जनाएका छन् ।

अग्नि नियन्त्रकहरूले ग्रीसका ६ क्षेत्रलाई उच्च सतर्कता क्षेत्रमा राखेका छन् । हाल एथेन्सको उत्तरी क्षेत्रमा धुवाँको मुस्लो फैलिएको छ ।

डढेलोका कारण हजारौंको संख्यामा स्थानीय बासिन्दाहरू घर छोडेर सुरक्षित स्थानमा सरेका छन् । ग्रीसभर अहिले ६४ स्थानमा आगलागी भएको बताइएको छ ।

ग्रीसको इतिहासमा तीन दशकयताकै यो नै भीषण डढेलो हो । हाल त्यहाँको तापमान ४८ डिग्री पुगेको छ ।

ग्रीसको छिमेकी देश टर्कीमा पनि इतिहासकै गम्भीर डढेलो लागेको छ । टर्कीमा डढेलोका कारण आठजनाको ज्यान गएको छ भने प्रभावित भएको दक्षिण क्षेत्रका दशौं हजार मानिस विस्थापित भएका छन् ।

जलवायु परिवर्तनले अत्यधिक गर्मी तथा सुख्खा मौसमको जोखिम बढाएको छ । त्यसले डढेलोलाई बढावा दिएको विज्ञहरूले बताएका छन् ।