‘एक्स ९’ मा अनमोलपछि सौगात अनुबन्धित।

काठमाडौं:= नेपाली चलचित्र ‘एक्स ९’ निर्माण हुने भनेपछि यसको चर्चा बढ्न थालेको छ, कारण यस चलचित्रका मुख्य कलाकार । यस चलचित्रमा नायक अनमोल केसी अनुबन्धित भइसक्नुभएको छ भने फेरि निर्माण टिमले अर्का कलाकार सौगात मल्ललाई अनुबन्ध गरेको छ ।

मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको यस चलचित्र गत वर्षको लकडाउनअघि नै निर्माण टिमले सौगातसँग मौखिक सहमति गरेको थियो तर अहिले आएर  आइतबार कागजी सम्झौता गरेको बताइएको छ । सौगातले तेस्रो पटक निर्देशक मुकुन्दसँँग काम गर्न लाग्नुभएको हो । उहाँहरूबीच ‘लप्पन छप्पन’ को दुई सिरिजमा सहकार्य भइसकेको छ । पहिलोपटक अनमोलसँग एकसाथ स्क्रिन सेयर गर्न लाग्नुभएका सौगातले चलचित्रको कथावस्तु र आफ्नो भूमिका मन परेकाले काम गर्न तयार भएको बताउनुभएको छ । चलचित्रमा उहाँको भूमिकाबारे भने निर्माण टिम मौन छ ।

चलचित्रको कथा मुकुन्द भट्ट र किंग योगीले तयार पार्नुभएको हो । दिनेश भट्ट कार्यकारी निर्माता रहेको चलचित्रको निर्मातामा राजिव तामाङ, वीरेन कुँवर, सुबोध भट्ट र सोनु खत्री हुनुहुन्छ । नेपालसँगै युरोप, आबुधाबी र क्यानडामा छायाँकन गरिने निर्देशक भट्टले बताउनुभएको छ । चलचित्र गोल्डेन हिल्स पिक्चरको प्रस्तुतिमा निर्माण हुन लागेको हो ।

चलचित्रमा अनमोल र सौगातसँगै पुष्प खड्का, अनुपविक्रम शाही, राज कटुवाल, प्रियंका थापाको पनि अभिनय रहने बताइएको छ ।