युभेन्टस्लाई हराउँदै बार्सिलोनाले जित्यो ग्याम्पर ट्रफी।

बार्सिलोना:= इटालियन क्लब युभेन्टस्लाई पराजित गर्दै बार्सिलोनाले ग्याम्पर ट्रफीको उपाधि जितेको छ । सिजन सुरु हुनुअगाडि पराम्परादेखि बार्सिलोनाले ग्याम्पर ट्रफीको आयोजना गर्दै आएको छ । जसमा आइतबार राति बार्सिलोनाले युभेन्टस्माथि ३-० को सहज जित निकाल्यो ।

खेलमा युभेन्टस्ले क्रिस्टियानो रोनाल्डो, अल्भारो मोराटालगायत अनुभवी खेलाडीलाई मैदान उतारे पनि जित भने निकाल्न सकेन । युभेन्टस्ले पछिल्लोपटक २००५ मा यस ट्रफीमा खेलेको थियो । क्याटलान क्लब बार्सिलोनाले प्रत्येक वर्ष विभिन्न क्लबहरूलाई आमन्त्रण गरेर जोन ग्याम्पर कप आयोजना गर्दै आएको छ ।

हालसम्म ५६ पटक यो कपको आयोजना हुँदा बार्सिलोनाले ४४ पटक यो उपाधि जितेको छ । एफसी कोल्नले दुईपटक तथा अज्पेस्ट, बोरुसिया मोन्चेनग्लाडवाक, इन्टर नासिनोल, पोर्टाे, मेचेलेन, टेरेरिफ, भ्यालेन्सिया, युभेन्टस्, म्यानचेस्टर सिटी र साम्पडोरियाले समान एकपटक उपाधि जितेका छन् ।

बार्सिलोनालाई उपाधि दिलाउन मेम्फिस डिपाए, मार्टिन ब्रेथवेट र रिकी पुजले एक/एक गोल गर्नुभयो । आइतबार नै आफ्ना मुख्य फरवार्ड तथा कप्तान लियोनल मेस्सीलाई बिदाइ गरेको बार्सिलोनाले साँझ ट्रफी जित्दै पीडामा मल्हम लगाएको हो ।

खेलको तेस्रो मिनेटमा नै यसै समरमा फ्रान्सेली क्लब लियोनबाट बार्सिलोना आएका मेम्फिस डिपाएको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । ५७औं मिनेटमा मार्टिन ब्रेथवेटले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पार्नुभयो । ९०औं मिनेटमा रिकी पुचले गोल गर्दै बार्सिलोनालाई ३-० को सहज जित दिलाउनुभएको हो ।

म्याड्रिड र मिलानको बराबरी

प्रि-सिजनको मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब रियल म्याड्रिड र इटालियन क्लब एसी मिलानले गोलरहित बराबरी खेलेका छन् । आइतबार राति भएको खेलमा पटक-पटक पाएका मौका सदुपयोग गर्न नसक्दा दुवै टोलीले गोल गर्न सकेनन् ।

तेस्रो मिनेटमा नै थियो हर्नान्डेजको काउन्टर अट्याक पासमा राफयल लियोको प्रहार पोष्ट नजिकैबाट बाहिरिएको थियो । २८औं मिनेटमा लुका मोड्रिचको प्रहारलाई गोलरक्षक मिक मेइगनाले बचाउनुभयो । ४०औं मिनेटमा रियलले पेनाल्टी पाए पनि ग्यारेथ बेलले गरेको प्रहार मेइगनाले बचाएपछि रियलले सुवर्ण अवसर खेर फाल्यो ।

अब दुवै टोली आ-आफ्नो देशको लिगमा होमिनेछन् । रियलले १५ अगष्टमा डिपोर्टिभो एलाभेससँग खेल्दै नयाँ सिजनको ला लिगाको सुरुवात गर्नेछ । मिलानले एक मैत्रीपूर्ण खेलपछि सिरी ‘ए’ मा होमिनेछ ।