काठमाडौं:= सरकारले सबै तहका कर्मचारीका लागि नयाँ तलबमान स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ तलबमान स्वीकृत गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को बैठकले निजामती सेवा, सेना प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सबै सामुदायिक विद्यालयका शिक्षक र प्रदेश र स्थानीय तहका कर्मचारीका लागि सो तलबमान लागू हुने मन्त्री तथा सरकारका प्रवक्ता कार्कीले बताउनुभयो ।
यसैगरी मन्त्रिपरिषद् बैठकले केही सचिवहरूको सरुवा गरेको छ । गृह मन्त्रालयको सचिवमा टेकनारायण पाण्डेलाई ल्याइएको छ । पाण्डे यसअघि भूमि व्यवस्था मन्त्रालयमा कार्यरत हुनुहुन्थ्यो । त्यस्तै मन्त्रिपरिषद् बैठकले रक्षा सचिवमा बेगेन्द्र शर्मा पौड्याललाई ल्याएको छ । शर्मा यसअघि वित्त आयोगमा हुनुहुन्थ्यो । यसैगरी प्रधानमन्त्रीको कार्यालयमा कार्यरत वैकुण्ठ अर्याल सञ्चारमन्त्रालयको सचिव बन्नुभएको छ ।
प्रदेश नम्बर-१ का प्रमुखसचिव सुमन अर्याललाई महालेखा परीक्षकको कार्यालयमा सरुवा गरिएको गरिएको छ । त्यस्तै, कर्णाली प्रदेशका प्रमुखसचिव गणेशप्रसाद पाण्डेलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ ।
मन्त्रिपरिषद् बैठकले हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका २०७८, छलफलका लागि मन्त्रिपरिषद्को प्रशासन समितिमा, विशेष आर्थिक क्षेत्र पहिलो संशोधन नियमावली २०७८, छलफलका लागि मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिमा र सैनिक सेवा चौथो संशोधन नियमावली २०७८, छलफलका लागि मन्त्रिपरिषद् विधेयक समितिमा पठाउने निर्णय गरेको छ ।
परराष्ट्र सेवा राजपत्रांकित द्वितीय श्रेणीका उपसचिवहरू घनश्याम लम्साल, सुशील भट्टराई, तेजबहादुर क्षेत्रीलाई नेपाल परराष्ट्र राजपत्रांकित प्रथम श्रेणीको बढुवा नियुक्ति दिई परराष्ट्र सेवाअन्तर्गत पदस्थापन गर्ने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।
नेपाल कृषि तथा वन सेवा राजपत्रांकित विशिष्ट श्रेणीको पदमा बढुवा समितिको सिफारिश अनुसार साउन २४ को सिफारिश अनुसार प्रथम श्रेणीका सहसचिव गोविन्दप्रसाद शर्मालाई कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा पदस्थापना गर्ने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो । सोही अवसरमा मन्त्री कार्कीले सरकारले आगामी दिनमा मन्त्रिपरिषद् बैठकको निर्णयका सूचना हप्ताको एकपटक दिइने जानकारी गराउनुभयो ।




















