कांग्रेस संस्थापन इतर सभापतिहरूको भेला काठमाडौंमा, ४७ जिल्ला सभापतिहरू उपस्थित।

काठमाडौं:= सत्तारुढ दल नेपाली कांग्रेसको संस्थापन इतर जिल्ला सभापतिहरूको भेला काठमाडौंमा सुरु भएको छ । पार्टीको महाधिवेशन र मन्त्रिपरिषद् विस्तारको कामले गति लिन नसकेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न पार्टीका संस्थापन पक्ष इतर जिल्ला सभापतिहरूको भेला सुरु भएको हो ।

सोमबार काठमाडौंको ठमेलस्थित एक होटलमा जारी भेलामा ३५ जना भौतिक रूपमा र ११ जना भच्र्युअल गरी ४७ जना जिल्ला सभापतिहरू सहभागी रहेको नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँले जानकारी दिनुभयो । भेलामा ७७ मध्ये ४७ जिल्लाका सभापति सहभागी भएका हुन् । उहाँले भन्नुभयो, ‘महाधिवेशनको सन्दर्भ पनि आएको छ । सरकार पनि पार्टीले चलाउन पाएको छ । यी दुईटै कुरामा केन्द्रित भएर छलफल गरिनेछ । सरकारलाई गतिशील बनाई जनताले चाहेनुसारको काम गर्न लगाएर सफल बनाउने र पार्टीलाई गतिशील बनाउने गरी समक्ष नेतृत्व चयन हुनेगरी पार्टीको क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान गर्ने बारे बैठकले आवश्यक निर्णय लिनेछ ।’

मंगलबारसम्म चल्ने भेलाले लिएको निष्कर्ष पार्टीका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरूलाई बुझाउने तयारी गरिएको छ । कांग्रेसको आसन्न १४औं महाधिवेशनको मिति सर्ने अवस्था भएपछि समयमै महाधिवेशन सम्पन्न गर्न नसकेको भन्दै सभापति देउवाविरुद्ध वरिष्ठ नेता पौडेल पक्ष आक्रोशित भएको छ ।

त्यसैगरी सरकारलाई पूर्णता दिने विषयमा पनि प्रधानमन्त्री देउवाले आवश्यक छलफल नगरेको पौडेल पक्षको आरोप छ । यसअघि काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरूसँग पौडेल पक्षका नेताहरूले पटक–पटक छलफल गर्दै आएका थिए । ती छलफलहरूमा सहभागीले अब सबैसँग छलफल गर्नुपर्ने राय दिएपछि संयुक्त रूपमा छलफल गर्न विभिन्न जिल्लाका कांग्रेस सभापतिहरू काठमाडौं आएका हुन् ।