कार्यवाहक प्रधानसेनापतिमा प्रभुराम शर्मा, बिदामा बस्नुभयो पूर्णचन्द्र थापा।

काठमाडौं:= प्रधानसेनापति पूर्णचन्द्र थापाले बलाधिकृतरथी प्रभुराम शर्मालाई संगठनको कमाण्ड हस्तान्तरण गर्नुभएको छ । सैनिक मुख्यालय जंगी अड्डामा सोमबार आयोजित कार्यक्रममा प्रधानसेनापति थापाले बलाधिकृतरथी शर्मालाई नेपाली सेनाको कमाण्ड बुझ-बुझारत गर्नुभएको हो ।

सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई मंगलबारदेखि लागू हुनेगरी कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी तोकिसक्नुभएको छ । सेनाको परम्पराअनुरूप प्रधानसेनापति थापा आफ्नो तीन वर्षे कार्यकाल सकिन एक महिनाअघि अर्थात् मंगलबारदेखि घर बिदामा रहने भएकाले सेनाको कमाण्ड शर्मालाई हस्तान्तरण गरिएको हो ।

नेपाली सेनाका पूर्वप्रधानसेनापतिहरू, निमित्त रक्षा सचिवलगायत रथीबृन्द, अधिकृत, पदिक तथा सकलदर्जाहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हुँदै प्रधानसेनापति महारथी थापाले नेपाली सेनाले बलाधिकृत रथी प्रभुराम शर्माको रूपमा एक अनुभवी र क्षमतावान नेतृत्व प्राप्त गर्न लागेकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरूमा नेपाली सेना थप पेशेवार हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी बलाधिकृत रथी शर्माले पनि नेतृत्व हस्तान्तरणको प्रक्रियालाई अत्यन्तै व्यवस्थित र सहजीकरण गरिदिनु भएकोमा प्रधान सेनापतिज्यूमा आभार व्यक्त गर्दै सैनिक संगठनमा सामुहिक भावना नै सर्वोपरि रहेको र यसका लागि तालिमको महत्व रहेको चर्चा गर्दै विगतका उपलब्धिलाई संस्थागत गर्दै सुधारका विषयलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

कायममुकायम जिम्मेवारी पाउनुभएका शर्माले आगामी भदौ २५ गतेदेखि नेपाली सेनाको ४४औं प्रधानसेनापतिका रूपमा सैनिक नेतृत्व सम्हाल्नु हुनेछ ।