काबुल:= अफगानिस्तानको प्रान्तीय राजधानी ‘जाराञ्ज’ विद्रोही समूह तालिवानले आफ्नो नियन्त्रणमा लिएको छ । निमरोज प्रान्तको राजधानी जाराञ्ज तालिवान लडाकुले नियन्त्रणमा लिएका हुन् ।
जाराञ्ज अफगानिस्तानको ठूलो व्यापारिक केन्द्र मानिन्छ । जाराञ्ज कब्जा गरेसँगै तालिवान समूहले ट्वीटरमा आफ्नो जित भएको बताएको छ ।
तालिवान लडाकुले अफगानिस्तानका अन्य सहरी क्षेत्र पनि नियन्त्रणमा लिने प्रयास जारी राखेका छन् । यसक्रममा अफगान सरकारी सुरक्षा फौज र तालिवानबीच एक सातादेखि भिडन्त जारी छ । अहिले पश्चिमतर्फ हेरात र दक्षिणमा लस्करगाहमा भिडन्त भइरहेको जनाइएको छ ।
अफगानिस्तानबाट अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय सेना फर्किएसँगै तालिवानले आक्रमणलाई तीव्रता दिँदै आएको छ । प्रान्तीय राजधानी कब्जामा लिएको यो पहिलो घटना हो । २० वर्षपछि तालिवानले कुनै प्रान्तीय राजधानी कब्जामा लिएको यो पहिलोपटक हो । सामाजिक सञ्जालहरूमा जाराञ्जका सरकारी कार्यालयहरूमा स्थानीयहरूले लुटपाट गरेका भिडियोहरू सार्वजनिक भएका छन् ।
अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघीय विशेष दूत डेबोरा लियोन्सले नयाँ चरणको युद्ध सुरु भएको बताउनुभएको छ । उहाँले विनाशकारी युद्धका कारण गत महिनादेखि सर्वसाधारणको मृत्यु हुनेक्रम बढेको बताउनुभएको छ ।
तालिवानीसँगको द्वन्द्वका कारण पछिल्लो एक महिनायता मात्र अफगानिस्तानमा एक हजार बढीको मृत्यु भइसकेको छ । यसैबीच अफगानिस्तानको अवस्था नाजुक रहेको भन्दै विभिन्न राष्ट्रले आफ्ना कूटनीतिक नियोगका कर्मचारी स्वदेश फिर्ता बोलाउने तयारी गरेका छन् ।
यता रुसले तालिवानको बढ्दो आक्रमणपछि अफगानिस्तानको बिगँ्रदो अवस्थाबारे छलफल गर्न महत्वपूर्ण बैठक बोलाएको छ । बैठकका लागि रुसले अमेरिका, चीन र पाकिस्तानलाई आमन्त्रित गरेको छ । यो बैठकको नाम एक्सटेन्डेड ट्रोइका दिइएको छ । बैठक यही अगष्ट ११ मा कतारमा बस्नेछ ।




















