काठमाडौं:= काठमाडौंको मैतीदेवीमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर संग्रहालय बनाउने प्रयोजनका लागि भत्काइएको छ । देवकोटाको घर सरकारले किनेर नेपाल प्रज्ञा प्रतिष्ठानले संग्रहालय बनाउन लागेको हो ।
संग्रहालय बनाउनका निम्ति देवकोटाको सो घर भत्काइएको छ । महाकवि देवकोटाकी छोरी अम्बिकादेवी रिमालले प्रज्ञा प्रतिष्ठानले राम्रो काम गर्नकै लागि घर भत्काएको होला भन्ने विश्वास रहेको प्रतिक्रिया दिनुभएको छ । ‘उहाँले भन्नुभएको छ, एकेडेमीमा सबै बुद्धिजीवी व्यक्तिहरू बस्नुहुन्छ । उहाँहरूको तजबिजले राम्रै गर्नुहुन्छ भन्ने आशामा छु । उहाँहरू जे गर्नुहुन्छ राम्रै गर्नुहुन्छ भन्ने मलाई लागेको छ ।’
महाकवि देवकोटाको घर सरकारले २ करोड ५० लाखमा किनेको हो । देवकोटाले सो घर विसं १९९० सालतिर किनेको बताइएको छ । १२ आना क्षेत्रफलमा ११ करोड ३३ लाख रुपैयाँको लागतमा सरकारले चारतले संग्रहालय बनाउने भएको छ । ‘संग्रहालय परिसरको अग्रभागमा देवकोटाको पूर्ण कदको सालिक रहनेछ । कवि गोष्ठी गर्न र नाटक मञ्चन गर्न मिल्ने गरी एउटा डबलीसमेत निर्माण गरिने जनाइएको छ । प्रतीक्षालय र श्रव्यदृश्य कक्षसमेत निर्माण गरिने सो परिसरमा सुन्दर बगैंचासमेत बन्नेछ ।
संग्रहालय भवनको पहिलो तलामा देवकोटाले आफ्नो जीवनकालमा प्रयोग गरेका उपलब्ध सामग्री, दोस्रो तलामा देवकोटाका प्रकाशित, अप्रकाशित र पाण्डुलिपि संग्र्रह गरिने भएको छ । भवनको तेस्रो तलामा परामर्श कक्ष र सभाकक्ष निर्माण गरिनेछ ।




















