टोकियो:= चीनले टोकियो ओलम्पिक २०२० मा आफ्नो शीर्षतालाई यथावत् राखेको छ । तेस्रो र चौथो दिन शीर्ष स्थान गुमाएको चीनले त्यसपछि शीर्ष स्थानमा बोलवाला कायम गरेको हो । अमेरिकाले उसलाई लगातार पछ्याइरहेको छ ।
शनिबार अपराहृनसम्म चीनले ३८ स्वर्ण, २९ रजत र १७ कास्य गरी ८४ पदक जितेको छ । चीनलाई पछ्याइरहेको अमेरिकाले ३४ स्वर्ण, ३६ रजत र ३२ कास्य गरी कुल १०२ पदक जितेको छ । आयोजक जापान २४ स्वर्ण, १२ रजत र १६ कास्य गरी कुल ५२ पदक जित्दै तेस्रो स्थानमा यथावत् रहेको छ ।
इंग्ल्याण्ड १९ स्वर्ण, २१ रजत र २१ कास्य गरी कुल ६१ पदक जित्दै चौथो स्थानमा उक्लिएको छ । रसियन ओलम्पिक कमिटी टोली (आरओसी) १७ स्वर्ण, २५ रजत र २२ कास्यसहित ६४ पदक जित्दै पाँचौं स्थानमा यथावत् रहँदा १७ स्वर्ण, ६ रजत र २१ कास्य गरी कुल ४४ पदक जितेर अष्ट्रेलिया छैटौं स्थानमा झरेको छ ।
१० स्वर्ण, १० रजत र १८ कास्य गरी ३८ पदक जित्दै इटाली सातौं स्थानमा उक्लँदा जर्मनी ९ स्वर्ण, ११ रजत र १६ कास्य गरी ३६ पदकसहित आठौं स्थानमा झरेको छ । नेदरल्याण्ड्स ९ स्वर्ण, १० रजत र १२ कास्य गरी ३१ पदकसहित नवौं स्थानमा उक्लँदा फ्रान्स ७ स्वर्ण, ११ रजत र ९ कास्य सहित २७ पदक जितेर शीर्ष १० मा अटाएका छन् ।
न्युजिल्याण्ड ७ स्वर्ण, ६ रजत र ६ कास्य गरी १९ पदकसहित ११औं स्थानमा रहँदा दक्षिण कोरिया ६ स्वर्ण, ४ रजत र ९ कास्य गरी कुल १९ पदकसहित १२औं स्थानमा रहेको छ । क्यानडाले ६ स्वर्ण, ६ रजत र १० कास्य गरी २२ पदक जितेको छ ।
क्युवाले ६ स्वर्ण, ३ रजत र ४ कास्य गरी १३ पदक जितेको छ । हंगेरीले ५ स्वर्ण, ७ रजत र ५ कास्य गरी १७ पदक जितेको छ । ब्राजिलले ४ स्वर्ण, ४ रजत र ८ कास्य गरी १६ पदक हात पार्दा पोल्याण्डले ४ स्वर्ण, ४ रजत र ४ कास्य जितेको छ । चेक रिपब्लिकले ४ स्वर्ण, ३ रजत र २ कास्य गरी ९ पदक जितेको छ ।
जमैकाले ४ स्वर्ण, १ रजत र ३ कास्य गरी ८ पदक जितेको छ । स्पेन, स्वीट्जरल्याण्ड, क्रोएसिया, बेल्जियम र स्लोभेनियाले समान ३ स्वर्ण जितेका छन् । स्वीडेन, चाइनिज ताइपेइ, डेनमार्क, इरान, केन्या, नर्वे, सर्विया, युगाण्डा, इक्वेडर, उज्वेकिस्तान, ग्रीस, बहमास, कोसोभो र कतारले समान दुई स्वर्ण जितेका छन् ।
युक्रेन, रोमानिया, भेनेजुएला, हङकङ, दक्षिण अफ्रिका, स्लोभाकिया, टर्की, अष्ट्रिया, इण्डोनेसिया, बुल्गेरिया, पोर्चुगल, इथियोपिया, फिलिपिन्स, ट्युनिसिया, आयरल्याण्ड, इजरायल, इस्टोनिया, फिजी, लात्भिया, थाइल्याण्ड, बर्मुडा, मोरक्को, प्युरेटो रिकोले समान एक स्वर्ण जितेका छन् । टोकियो ओलम्पिकमा २०५ राष्ट्र र शरणार्थी टोलीमध्ये हालसम्म ६३ राष्ट्रले स्वर्ण जित्दा ८९ राष्ट्रले पदक जित्न सफल भएका छन् ।
अर्जेन्टिना तेस्रो
ओलम्पिकको पुरुष भलिबलमा ब्राजिलमाथि ३-२ को सेटमा जित हासिल गर्दै अर्जेन्टिनाले कास्यपदक हात पारेको हो । एरिएक एरिनामा शनिबार भएको प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा अर्जेन्टिनाले पहिलो सेट २५-२३ ले आफ्नो पक्षमा पारेको थियो । त्यसपछिको दुई सेट समान २०-२५ र २०-२५ ले गुमाएको अर्जेन्टिनाले चौथो सेट २५-१७ ले आफ्नो पक्षमा पार्दै खेललाई पाँचांै सेटमा लम्ब्याएको थियो । निर्णायक सेटमा १५-१३ ले जित्दै तेस्रो स्थान हासिल गर्न सफल भयो ।
क्यानडा च्याम्पियन
क्यानडाले महिला फुटबलतर्फको उपाधि जितेको छ । स्वीडेनको चुनौती पेनाल्टी सुटआउटमा ३-२ ले पन्छाउँदै क्यानडाले स्वर्ण हात पारेको हो । निर्धारित समयमा १-१ गोलको बराबरी तथा त्यसपछि अतिरिक्त समयमा थप गोल निस्कन नसक्दा खेल पेनाल्टी सुटआउटमा लम्बिएको थियो ।
त्यसअघि जापान नेशनल स्टेडियममा शुक्रबार भएको खेलको ३४औं मिनेटमा स्टिना ब्ल्याकटेनिएसको गोलबाट स्वीडेनले अग्रता लिएको थियो । ६७औं मिनेटमा जेसी फ्लेमिङले पेनाल्टीमार्फत् गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याउनुभएको थियो ।




















