काठमाडौं:= नेपाली राष्ट्रिय फुटबल टोलीले अर्को महिना भारतसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । दशरथ रंगशालामा हुने खेल भदौ १७ र २० गते हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
साफ च्याम्पियनसिपको तयारीमा रहेका दुवै देशले मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् । साफ नेपालमा आयोजना हुने सम्भावना बढेको छ । बंगलादेशले आयोजनाबाट हात झिकेपछि नेपालले आयोजनाको प्रस्ताव गरेको छ ।
नेपाल र भारतले पछिल्लोपटक दशरथ रंगशालमा ६ वर्षअघि खेलेका थिए । विश्वकप छनोटअन्तर्गत उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि सन् २०१५ को साफ च्याम्पियनसिपमा नेपाल ४-१ ले पराजित भएको थियो भने सन् २०१७ को मैत्रीपूर्ण खेलमा २-० को हार व्यहोरेको थियो ।
भारत र नेपाल दुवै एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गरेका छन् । भारत आफ्नो समूहमा तेस्रो तथा नेपाल चौथो हुँदै अर्को चरणमा अघि बढेको थियो । छनोट चरणमा खेल सन् २०२२ फेब्रुवरीमा सुरु हुनेछ ।
भारतबाहेक नेपाल प्यालेस्टाइन र बंगलादेशल पनि नेपाल आएर मैत्रीपूर्ण फुटबल खेल्ने प्रस्ताव गरेका थिए । गत साउन १५ गते बसेको एन्फा कार्यसमिति बैठकले साफ च्याम्पियनसिपको तयारीमा रहेको राष्ट्रिय फुटबल टिमलाई बंगलादेश, भारत, सिंगापुरको राष्ट्रिय पुरुष टोलीसँग मैत्रीपूर्ण खेल खेल्नको लागि पत्राचार गरेको जनाएको थियो ।




















