अमेरिकालाई महिला फुटबलको कास्य पदक।

टोकियो:= अष्ट्रेलियालाई हराउँदै अमेरिकाले टोकियो ओलम्पिक २०२० अन्तर्गतको महिला फुटबलमा कास्यपदक हात पारेको छ । अमेरिकाले अष्ट्रेलियालाई ४-३ ले हराउँदै कास्यपदक जितेको हो ।

अमेरिकाको जितमा मेगान रापिनोई र कार्ली लोएडले समान दुई/दुई गोल गर्नुभयो । अष्ट्रेलियाका लागि सामान्थ खेर, काइटलिन फोर्ड र इमिली जिलनिकले समान एक-एक गोल गर्नुभएको थियो ।

खेलको आठौं मिनेटमा मेगान रापिनोइको गोलबाट अमेरिकाले अग्रता लियो । १७औं मिनेटमा सामान्थ खेरले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याउनुभयो । २१औं मिनेटमा मेगानले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै अमेरिकालाई २-१ ले अगाडि बढाउनुभयो । ४५औं मिनेटमा कार्ली लोएडले गोल गरेपछि अमेरिकाले पहिलो हाफमा ३-१ ले अघि रहृयो ।

५१औं मिनेटमा कार्लीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि अमेरिकाले ४-१ को स्थितिमा पुगेको थियो । त्यसपछि ५४औं मिनेटमा काइटलिन फोर्डले तथा ९०औं मिनेटमा इमिलीले गोल गर्दै अष्ट्रेलियाको हार अन्तर हटाउनुभयो ।

फ्रान्स फाइनलमा

यता पुरुष भलिबलमा अर्जेन्टिनालाई ३-० को सोझो सेटमा पराजित गर्दै फ्रान्सले फाइनलमा स्थान बनाएको छ । अब उपाधिका लागि फ्रान्सले रसियन ओलम्पिक कमिटी (आरओसी) को टोलीसँग खेल्नेछ । आरओसीले बिहीबारै साविकको विजेता ब्राजिललाई ३–१को सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

पहिलो सेटमा २५-२२को जित हात पारेको फ्रान्सले दोस्रो सेटमा २५-१९ को सहज जित निकाल्दै जितनजिक पुगेको थियो । तेस्रो सेटमा पनि फ्रान्सले २५–२२ कै जित निकाल्यो ।

फाइनल ७ अगष्टमा हुनेछ । सोही दिन तेस्रो स्थानका लागि खेल हुनेछ । अर्जेन्टिना र ब्राजिलले तेस्रो स्थानका लागि खेल्नेछ । यि दुई टोलीले समूह चरणमा पछि पर्दा ब्राजिलले दुई सेटमा पछि परेको अवस्थामा ३-२ को जित निकालेको थियो ।